मन्त्रिपरिषदका सबैलाई प्रदेश नौलो अवसर

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भइसकेका मुख्यमन्त्री पाण्डेलाई मात्रै नभई सबै ७ जनालाई सरकार सञ्चालनको पहिलो अवसर हो

सञ्जय रानाभाट २०८० जेठ १ गते ११:४१

सञ्जय रानाभाट, पोखरा ।
मंसिरको निर्वाचनबाट गण्डकी प्रदेश सभामा निर्वाचित सदस्यमध्ये ४ जनामात्रै पुराना थिए । बाँकी ५६ जनालाई भने प्रदेश सभा र प्रादेशिक संरचना नौलो हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको मन्त्रिपरिषदमा पनि प्रादेशिक संरचनाको अनुभव नलिएकाहरु मात्रै छन् । त्यसो त प्रदेश संरचना नै मुलुकका लागि आफैंमा नयाँ अभ्यास हो । झन् यसमा पनि गण्डकी मन्त्रिपरिषद यसअघि कुनै पनि कार्यकारी जिम्मेवारीको अनुभव नलिएकाबाट बनेको छ ।

अरु त अरु स्वयं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे यसअघि कहिल्यै कुनै कार्यकारी जिम्मेवारीमा थिएनन् । यसअघि राष्ट्रिय सभामा नेपाली कांग्रेसको संसदीय दलको नेता भएको भए पनि मन्त्री बन्ने अवसर पाण्डेलाई मिलेको थिएन । पाण्डे मन्त्रिपरिषदमा दोस्रो वरीयता पाउँदै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेकी माओवादीकी सुशीला सिम्खडाका लागि कार्यकारी जिम्मेवारी पहिलो अनुभव हो । उनकै पार्टीका रेशम जुग्जालीले प्रभावशाली भौतिक पूर्वाधार मन्त्रालय पाएका छन्, जससँग यसअघिको एमाले नेतृत्व सरकारमा ६० दिन मन्त्री भएको अनुभवचाहिँ छ ।

राजनीति गर्ने मान्छे सधैं जनताको घरदैलो र सरकारी काममा अभ्यस्त हुन्छ । मेरा लागि मन्त्री हुनु नयाँ भए पनि काम गर्ने अनुभव नयाँ होइन: मन्त्री सुशीला सिम्खडा

Advertisement

मुख्यमन्त्री पाण्डेले वैशाख १५ गते सपथ लिँदाकै दिन माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारीलाई बिना विभागीय मन्त्री बनाएका थिए । अर्याल पहिलोचोटि सांसद भइन् र मन्त्रीको अवसर पनि पाइहालिन् । अरु बाँकी सबै पनि प्रदेश सभामा पहिलोचोटि प्रवेश पाउनसाथ मन्त्री बन्न मौका पाएकाहरु नै हुन् ।

तनहुँका जीतप्रकाश आले र दीपेन्द्रबहादुर थापाले प्रदेश सभा निर्वाचनमा पहिलोचोटि विजयी हुने मौकामात्रै पाएनन्, प्रदेश सभामा पहिलोचोटि प्रवेशसँगै मन्त्रीको जिम्मेवारी पनि पाएका छन् । आलेले अर्थ र थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् । नवलपुर १ (१) बाट निर्वाचित महेन्द्रध्वज जिसी यसअघि नै २ पटक प्रतिनिधि सभा सदस्य भइसकेका अनुभवी सांसद भने हुन् । कृषि मन्त्रालय पाएका उनका लागि पनि प्रदेश सभा भने नौलो नै हो ।

Advertisement

मुख्यमन्त्री पाण्डे क्याबिनेटमा सिम्खडा सामाजिक विकास, अर्याल ऊर्जा जलस्रोत तथा खानेपानी, जिसी कृषि तथा भूमि व्यवस्था, जुग्जाली भौतिक पूर्वाधार विकास, आले आर्थिक मामिला र थापा उद्योग पर्यटन वन मन्त्रालयको जिम्मेवारीमा छन् ।

कृषि मन्त्री महेन्द्रध्वज जिसी यसअघि केन्द्रमा सांसद रहे पनि कहिल्यै कार्यकारी भूमिकामा थिएनन् । पाण्डे क्याबिनेटका ५ जना मन्त्री त झन् पहिलोपटक सांसद र पहिलोपटक नै मन्त्री भएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँग राजनीतिको लामो इतिहास भने छ । उनको राजनीति कांग्रेसको भ्रातृसंस्था नेविसंघमा सुरु भएको हो ।

२०३६ सालमा नेविसंघको सदस्यता लिएपछि २०४९ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५९ मा नेपाल तरुण दलको महासचिव हुँदै उनी तेस्रो पटक केन्द्रीय सदस्य छन् । २०७४ सालमा राष्ट्रिय सभामा सांसद भई प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेका पाण्डे गत मंसिरमा भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

कृषि मन्त्री महेन्द्रध्वज जिसी २०३८ सालबाट कांग्रेसको राजनीतिमा लागेका हुन् । जिसी तत्कालीन रजहर गाउँपञ्चायतको प्रधानपञ्च भएका थिए । तर, गाउँपञ्चायत अहिलेको स्थानीय सरकार जस्तो अधिकार सम्पन्न हुँदैनथ्यो ।

समाजिक विकास तथा स्वास्थ्य मन्त्री सिम्खडा माओवादीबाट सामानुपातिक सांसद हुन् । गोरखा घर भएकी सिम्खडा प्रदेश सभामा माओवादीकी प्रमुख सचेतक हुन् । उनी पनि पहिलोपटक कार्यकारी भूमिकामा छिन् । उनले आफू मन्त्रीको भूमिकामा नयाँ भएपनि काम गर्ने ठाउँबाट नभएको बताइन् । ‘राजनीति गर्ने मान्छे सधैं जनताको घरदैलो र सरकारी काममा अभ्यस्त हुन्छ । मेरा लागि मन्त्री हुनु नयाँ भए पनि काम गर्ने अनुभव नयाँ होइन,’ उनले भनिन्, ‘कार्यकारी पदमा बस्दा जिम्मेवारी हुनुपर्छ भन्ने कुरामा सचेत छु ।’

ऊर्जा जलस्रोत मन्त्री सरस्वती अर्याल तिवारी स्याङ्जाकी हो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अर्याल १४ औँ महाधिवेशनमा पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी पनि यसअघि कार्यकारी पदमा थिइन् । उनले पनि आफू पदका लागि नयाँ भएपनि काम गर्ने ठाउँमा नयाँ नभएको बताइन् । उनले भनिन्, ‘राजनीति सुरु गरेको ३०÷३१ वर्ष भयो । सधैं राज्यको संरचना, जनताकै घरदैलोमा बसेर काम गर्यौं । फरक यत्ति हो अहिले मन्त्रालयको जिम्मेवारीमा छौं ।’ कार्यकारी पदमा बस्दा आफूले प्रत्यक निर्णय विज्ञसँगको छलफलमा लिने उनले बताइन् । ‘मन्त्रालय सञ्चालमा विज्ञसँगको छलफल हुन्छ नै । विगतमा अनुभव प्राप्त गर्नुभएको आदरणीय नेताहरुसँगको सोध्ने सिक्ने कुरा छँदैछन्,’ उनले भनिन् ।

राजनीति सुरु गरेको ३०/३१ वर्ष भयो । सधैं राज्यको संरचना, जनताकै घरदैलोमा बसेर काम गर्यौं । फरक यत्ति हो अहिले मन्त्रालयको जिम्मेवारीमा छौंः मन्त्री सरस्वती अर्याल

भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली म्याग्दी २ बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । २०५६ मा अनेरास्वियु क्रान्तिकारीबाट राजनीति सुरु गरेका उनी जनयुद्धकालमा भूमिगत पनि भएका थिए । वाइसिएलको जिल्ला सचिव भइसकेका उनी २०६६ मा माओवादीको तत्कालीन मगराँत राज्य कमिटी सदस्य थिए । यसअघि मोहन वैद्य समूहमा आवद्ध उनी २०७० देखि २०७३ स्वतन्त्र थिए । ०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र उठेर म्याग्दीको मंगला गाउँपालिका ७ को वडाध्यक्ष विजयी भएका थिए । वडास्तरकै भए पनि कार्यकारी जिम्मेवारीको अनुभव उनले त्यसक्रममा हाँसिल गर्न पाएका थिए ।

अर्थमन्त्री जीतप्रकाश आले तनहुँ २ (२) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा आले यसअघि कार्यकारी भूमिकामा थिएनन् । उद्योग, पर्यटन र वन मन्त्री दीपेन्द्रबहादुर थापा बागलुङ १ (१) प्रदेश सभामा निर्वाचित भएका हुन् । प्रदेश उनका लागि नयाँ अनुभव हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया