मुटुको भल्ब फेर्न मणिपालमा नयाँ प्रविधि

समाधान संवाददाता २०८० जेठ १ गते १२:१२

पोखरा ।
मोफसलमा पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्ब इम्प्लान्टेसन’ (टिएभिआई) सफल भएको छ । शनिबार पोखराको पोखरा मणिपाल शिक्षण अस्पतालमा टिएभिआई गरिएको हो ।

वरिष्ठ कार्डियोलोजिस्ट डा अमितकुमार चौरासिया, डा नवराज पौडेल लगायतको टोलीले सफल प्रत्यारोपण गरेको हो । ८६ वर्षीय कालिदास तिमिल्सिनाको मुटुमा झण्डै १ घन्टा ३० मिनेटमा टिएभिआई गरेका हुन् ।

‘यो ‘ट्रान्सक्याथेटर एओर्टिक भल्व इम्प्लान्टेसन÷रिप्लेसमेन्ट’ हो । मुटुको सबैभन्दा मुख्य पाइपमा भल्भ हुन्छ, बुवाको त्यो भल्ब सुक्यो अथवा साँघुरो भयो भनौँ । जसले गर्दा थाक्ने, मुटु दुख्ने, सास फुल्ने, चक्कर लाउने लगायत समस्या देखियो,’ डा चौरासियाले भने ।

Advertisement

काठमाडौंका केही अस्पतालमा पनि यससम्बन्धी उपचार हुने बताउँदै उनले काठमाडौँबाहिर पहिलोपटक भएको उनले सुनाए । उनले भने, ‘काठमाडौँमा पनि हामीले सुरु गरेको एक डेढ वर्षअघि हो ।’

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा नवराज पौडेलले यो प्रक्रियामा खुट्टाको नलीबाट तार हालेर भित्र भल्ब खुलाएर अर्को भल्भ राखिने जनाए । उनी भन्छन्, ‘सिनियर कार्डियोलोजिस्ट डा. अमित चौरासीयाको सहयोगमा काठमाडौँबाहिर पहिलोपटक यो कार्य गर्न सफल भएका छौँ ।’

Advertisement

अस्पालका निर्देशक डा. अभिषेक मास्केले मोफसलमा पहिलोपटक यस प्रकृतिको सफल उपचार हुनु पोखरामात्रै नभई प्रदेशवासीका लागि नै सुखद् खबर भएको बताए । जटिल प्रकारका रोगको सहज उपचारका लागि पोखरा लगायत प्रदेशवासी बाहिर जानुपर्ने अवस्था अन्त्य गर्न मणिपालले आगामी दिनमा थप काम गर्ने उनले बताए ।

८६ वर्षीय तिमिल्सिनाका छोरा डा विश्वदीप मणिपालमै कार्यरत छन् । मणिपालको क्याथ ल्याबलाई विश्वास गरेर बुबाको उपचारका गरेको उनले सुनाए ।

तपाईको प्रतिक्रिया