आर्मीलाई बिच भलिबल उपाधि

समाधान संवाददाता २०८० जेठ १ गते १२:१५

पोखरा ।
राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो ।

पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद महत्तोको जोडीले पुलिसका इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएर जित हासिल गरे ।

उपाधिसहित आर्मीले १ लाख ५० हजार र उपविजेता बनेको पुलिस १ लाख पाएका छन् । अर्को विभागीय टोली सशस्त्र प्रहरी बलले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । पिएफले रु ५० हजार र कर्णालीले २५ हजार जितेका छन् । आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले १० हजार इनाम पाए ।

Advertisement

यही वैशाख २८ गतेबाट रानीमहल प्रांगणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश गरी ५ प्रदेश, ३विभागीय क्लब तथा आयोजक गरी ९ टोली सहभागी थिए ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई ‘बिच’ भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुवात गरिएको हो । खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया