
दमौली ।
व्यावसायिक रूपमा खेती गरिरहेका कृषकलाई प्राविधिक ज्ञान दिन कृषि ज्ञान केन्द्र तनहुँका कर्मचारी बारीमै पुगेका छन् ।
सुन्तला र कागती खेती गरिरहेका कृषकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी लगायत प्राविधिक कृषकको बारीमै पुगेका हुन् ।
ऋषिङ गाउँपालिका ३ दुवुङमा सुन्तला खेती गरिरहेका कृषक तिलबहादुर थापा र देवघाट गाउँपालिका २ खाल्टेमा कागती खेती गरिरहेका कृषक मनिष मल्ललाई भेटेर उक्त खेतीका सम्बन्धमा गर्नुपर्ने प्राविधिक ज्ञानका बारेमा जानकारी गराइएको तिवारीले जानकारी दिए ।
तिवारीले भने, ‘कृषक कार्यालयसम्म आउनुपर्ने बाध्यता र ज्ञानको अभावमा खेती राम्रो नहुने भएकाले सम्बन्धित ठाउँमै पुगेर प्राविधिक ज्ञान दिइएको हो, यसले गर्दा कृषकलाई पनि सहज हुन्छ ।’
ऋषिङ–३ का थापाले ६ रोपनीमा २ सय ५० बोट सुन्तला खेती गरेका छन् । सुन्तला खेतीका लागि उनले मल्चिङ प्रविधि रोजेका छन् । मल्चिङ गर्दा सुन्तलाका बोट राम्रो हुने भएकाले प्राविधिकको सल्लाह बमोजिम नै मल्चिङ गरिएको थापाले सुनाए । ‘कृषि ज्ञान केन्द्रले गत वर्ष तालिमका क्रममा सुन्तला खेतीमा मल्चिङ गर्दा हुने फाइदाका बारेमा सिकाएको थियो, सोही प्रविधि अपनाएर यो वर्ष खेती गरिएको छ’, थापाले भने ।
ज्ञान केन्द्रका प्रमुख तिवारीले मल्चिङ गरेको प्रविधि एकदम राम्रो रहेको बताए । उनले भने, ‘तालिममा पनि यसबारेमा भनेका थियौँ, तालिम अनुसार मल्चिङ भएको रहेछ, यो क्षेत्र दक्षिण भाग रहेकाले सुख्खा याममा पानीको अभाव हुन्छ, यसलाई अभियानकैरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’
देवघाट २ का मल्लले २० रोपनीमा ६ सय बोट कागती लगाएका छन् । मल्लले कागती खेती गरे पनि काँटछाँटको समस्या हुँदा झाडी भएकाले त्यसलाई व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
‘कागतीका बोटका हाँगालाई व्यवस्थित नगरेको पाइयो, बाक्लो हाँगा राख्न हुँदैन, चोर हाँगा समय समयमा कटान गर्नुपर्छ’, तिवारीले भने, ‘कृषकलाई यसबारेमा जानकारी नहुन सक्ने भएकाले फिल्डमै पुगेर जानकारी गराएका हाैं ।’
कृषि कार्यालयका प्रमुखसहितको टोलीले फिल्डमै आएर प्राविधिक ज्ञान दिँदा सहज भएको कृषक मल्लले जनाए । उनी भन्छन्, ‘हामीलाई सबै कुराको थाहा हुँदैन, सदरमुकामसम्म पुग्न टाढा छ, बारीमै आएर यसरी अनुगमन गर्दा सजिलो भयो ।’

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया