ताजा दूध बजारीकरण सम्बन्धी प्रशिक्षण

समाधान संवाददाता २०८० जेठ १ गते १४:१५

पोखरा ।
कास्की दुध व्यवसायी संघ पोखरा २६ कास्कीले दूध तथा दुग्धजन्य पदार्थको पसल सञ्चालन तथा बजारीकरणको सम्बन्धमा दूध व्यवसायीलाई प्रशिक्षण दिएको छ ।

Advertisement

मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको ताजा दूधको पसललाई मापदण्ड पुरा गरी व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रशिक्षण दिइएको संस्थाका अध्यक्ष बीरेन्द्र भण्डारीले जानकारी दिए । कार्यक्रममा खाद्य गुणस्तर तथा प्रविधि कार्यालय कास्कीका प्रमुख शिवजी बराल, खाद्य निरीक्षक अशोक गौतम र पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले प्रशिक्षण दिएका थिए ।

खाद्य गुणस्तर तथा प्रविधि कार्यालय कास्कीका प्रमुख बरालले सबै व्यवसायीले मापदण्ड पूरा गरेर स्वच्छ र गुणस्तरीय दुग्धजन्य पदार्थको बिक्री गर्नुपर्ने सुझाव दिए । पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख अधिकारीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दुग्ध पदार्थ स्वच्छता तथा गुणस्तर निर्देशिकाको अनुसूची १५ अनुसार ताजा दूध दुई घण्टाभित्र सफा भाँडोमा राखेर बेच्नुपर्ने व्यवस्था गरेको जानकारी दिए ।

‘ताजा तथा अप्रशोधित दूध दुई घण्टाभित्र राम्रो भाँडोमा राखेर बेच्नु पर्छ,’ उनले भने, ‘दूध तथा दुग्धजन्य पदार्थका पसल पनि मापदण्ड पूरा गरेर सञ्चालन गर्नु पर्छ ।’ उनले महानगरले मापदण्डका आधारमा सबै दुध पसललाई विधिवत रुपमा दर्ता गराउने जानकारी दिए ।

उनले सबै पसलको नियमित अनुगमन गर्ने र मनोमानी ढंगले चल्न नदिने उल्लेख गरे समितिका अध्यक्ष वीरेन्द्र भण्डारीले दूध तथा दुग्धजन्य पदार्थ संवेदनशील भएकाले मानव स्वास्थ्यलाई ख्याल गरी बिक्री गर्नुपर्ने बताए । ‘एउटै सटरमा मापदण्ड विपरीत दूध, मासु, फलफूल लगायत सबै व्यवसाय सम्भव छैन,’ अध्यक्ष भण्डारीले भने, ‘कफी ब्रेड, बेकरी लगायतका मिल्दोजुल्दो प्रकृतिको र मर्यादामा रहेर व्यवसाय गरौं ।’

Advertisement

उनले संस्थागत निर्णयको पालना गर्दै पारस्परिक सहयोग आदानप्रदान गर्न सुझाव दिए । अध्यक्ष भण्डारीले संगठन विस्तार, सम्पर्क कार्यालय व्यवस्थितदेखि दूध तथा दुग्धजन्य पदार्थका लागि आवश्यक प्लाष्टिक व्यवसाय गरेको जानकारी दिए ।

कास्की दूध व्यवसायी संघ पोखराका सहसचिव तथा अनुगमन समितिका संयोजक अदीप बरालले संघले आन्तरिक रुपमा अनुगमन गर्दा २० प्रतिशत दूधको पसलबाट अखाद्य वस्तु विक्री गरेको पाइएको जानकारी दिए । व्यवसायीले आफै) उत्पादन नगरेर आयातमुखी भएको उल्लेख गर्दै उनले यस्तो हिसाबले अगाडि बढे परनिर्भरता बढ्ने दाबी गरे ।

कार्यक्रममा संघका उपाध्यक्ष युवराज पौडेल र सचिव जमुना ढकालले दूध व्यवसायी बीच व्यावसायीक एकता र बजारलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया