पोखरामा नेपालका ओलम्पियनहरुको पुनर्मिलन हुने

समाधान संवाददाता २०८० जेठ १ गते १८:००

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा यही जेठको तेस्रो साता नेपालका ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन हुने भएको छ । नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा उक्त कार्यक्रम जेठ १९ देखि २१ गतेसम्म गर्ने तयारी गरिएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताए ।

सन् १९६४ देखि पछिल्लो २०२० जापानमा आयोजना भएको ओलिम्पिक खेलमा सहभागी नेपाली ओलम्पियन खेलाडीहरुको एकै स्थानमा पहिलो पटक भेटघाट तथा पुनर्मिलन हुने व्यवस्था मिलाएको अध्यक्ष विष्टले बताए । जापानमा सन् १९६४ मा भएको ओलिम्पकदेखि नेपालले सहभागिता हुन सुरु भएको हो ।

६ दशकको अन्तरालमा करिब ८५ जना नेपालबाट सहभागी भएका ओलम्पियनमध्ये १० जनाको निधन भइसकेको छ । करिब २० जना जसो विदेशमा छन् । बाँकी नेपालमै भएकाले उनीहरुको सहभागिता हुने विष्टले जनाए । विदेशमा रहेकामध्ये केही उक्त कार्यक्रममा आउने भएकाले करिब पोखरामा ५० देखि ५५ जनासम्म नेपालका ओलम्पियनहरु एकै थलोमा जम्मा हुने अध्यक्ष विष्टले बताए । पोखरा क्षेत्रका नारायण गुरुङ, विधान लामा साथै विश्व ओलम्पिक कमिटीको समेत प्रतिनिधिहरुको सहभागिता हुने भएको उनले बताए ।

Advertisement

पर्यटन र खेलकुदको राजधानीको रुपमा परिचित पोखराको खेल पर्यटनको प्रबद्र्धन गर्न र आलम्पियनहरुको घुमघाममा बढी रुचाएको स्थल भएको हुनाले पनि पोखरामा उनीहरुलाई भेटघाट गराउने व्यवस्था गरेको अध्यक्ष विष्टले बताए । ‘धेरै ओलम्पियनहरु पोखरामा सायद नआएको र नेपालमा थोरै ओलम्पियनहरु भएकाले गर्दा पनि यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘ओलम्पियनहरुलाई सबै प्रदेशका नागरिकहरुले चिन्नुपर्छ, हरेक विद्यालयले समेत चिन्नुपर्छ भन्ने मेरोे मान्यता हो ।’

अध्यक्ष विष्टले यस कार्यक्रम सफल पार्न सरकारी तथा गैरसरकारी एवं विभिन्न व्यक्ति तथा संघ संस्थाहरुका साथै स्थानीय स्तरबाट समेत भरपूर्ण सहयोग हुने अपेक्षा गरिएको सुनाए ।

Advertisement

नेपालका ओलम्पियनहरु जेठ १९ गते पोखरामा आउने र उनीहरुलाई पोखरामा स्वागत सत्कार गर्ने, भोलिपल्ट जेठ २० गते शनिबार पोखरामा प्रभातफेरी तथा विशेष सम्मान समारोह र जेठ २१ मा खेलाडी एवं खेलकुदकर्मीसँग अन्तक्रिया तथा पोखरा भ्रमण हुँदै धान्द्रुकसम्मको घुमघाम हुने प्रारम्भिक चरणमा छलफल भएको छ ।

आन्तरिक रुपमा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा टोलीले आन्तरिक रुपमा व्यवस्थापनदेखि आगन्तुक ओलम्पियनहरुको भव्य स्वागत तथा सत्कार र घुमघामको व्यवस्था मिलाउने भएको छ ।

यसैबिच सोमबार संघका अध्यक्ष दीपक विष्टको अध्यक्षतामा पोखरामा बिहान बसेको छलफलबाट उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न पोखरेलीहरुले सहयोग गर्ने वचन दिएका छन् ।

कार्यक्रममा अध्यक्ष विष्टले पोखरामा आफुहरु आउन उत्साहित भएकोले आन्तरिक रुपमा उक्त कार्यक्रमलाई सफल पार्न सहयोग आह्वान गरे । पूर्व बक्सिङका पदकधारी खेलाडी एवं पर्यटन व्यवसायी गणेश भट्टराईले खेलाडी भनेको सबैभन्दा ठूलो कुरा भएकाले नेपालका लागि खेलेका ओलम्पियनहरु पोखरामा आउनु आफैमा ठूलाे कुरा भएको बताए ।

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उक्त कार्यक्रम पोखरामा पहिलो पटक गराउने तयारी गरेमा संघलाई धन्यवाद दिँदै आवश्यक सहयोग गर्ने वचन दिए । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले उक्त कार्यक्रमलाई ऐतिहासिक बनाउनुपर्नेमा जोड दिए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले खेल पर्यटनको सहर पोखरामा उक्त कार्यक्रम हुँदा यस क्षेत्रको पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

पोखरा १३ का वडा अध्यक्ष किरण बरालले पोखरा क्षेत्रमा हुने उक्त कार्यक्रम सफल पार्न आवश्यक समन्वय गर्न तयार रहेको बताए । नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले ओलिम्पियनको आरामदायी बसाई हुने गरी कार्यक्रमः बनाउन सुझाए ।

पोखरा महानगपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले सबैसँगको सहकार्यमा उक्त कार्यक्रमः उत्कृष्ट बनाउने योजनामा आफूहरु रहेको बताए ।

तपाईको प्रतिक्रिया