प्रदेश खेलकुद परिषदका सदस्य सचिव शर्माको पद बहाली

पोखरा ।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पद बहाली गरेका छन् । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको गत वैशाख २८ गतेको बैठकबाट नियुक्त भएका शर्माले सोमबार पद बहाली गरेका हुन् ।
सदस्य सचिव शर्मालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले पद बहाली गराएका हुन् । पद बहाली गर्दै नवनियुक्त सदस्य सचिव शर्माले आफूले सधैं अनुशासनमा रही खेलकुद विकासलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
‘प्रदेश सरकारले मलाई जुन जिम्मेवारी दिएको छ, त्यसका लागि म आभार व्यक्त गर्न चाहन्छु । आफूबाट नै खेलकुदले दिएको अनुशासनलाई मार्गदर्शनको रुपमा अघि बढाउने छु,’ शर्माले भने । आफ्नो कार्यकालमा कुनै गल्ती नगर्ने प्रतिबद्धता जनाउँदै सदस्य सचिव शर्माले खेलकुद र परिषद्को गरिमालाई बचाउन सके परिषदले ठूलो फड्को मार्ने दाबी गरे ।
प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङले सबै मिलेर नै खेलकुदको विकासलाई अघि बढाउन सकिने बताए । लामो समयपछि परिषदले सदस्य सचिव पाउनु सुखद रहेको बताउँदै उपाध्यक्ष गुरुङले खेलकुदमा रहेका चुनौतीहरुलाई समाप्त गर्न सबैको एकता आवश्यक रहेको बताए ।
मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तथा यसअघि सदस्य सचिवको रुपमा कार्यरत पौडेलले नवनियुक्त सदस्य सचिवलाई पद बहाली गराउँदै खेलकुदमा संघीयताको मर्म अझै प्राप्त नरहेको बताउँदै प्रदेश खेलकुदमा रहेका चुनौतीहरु चिर्न सबैको सहयोग र सहकार्य रहेको बताए ।
सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख टोपलाल भुसालले समेत आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ, तारामाया थापामगर लगायत परिषदका सदस्यहरुले नवनियुक्त सदस्य सचिव शर्मालाई स्वागत गरेका थिए ।
यसअघि परिषदको सदस्य सचिव तेजबहादुर गुरुङ थिए । उमेर हदका कारण गत २०७९ असोज २५ गते गुरुङले अवकाश पाएका थिए । सदस्य सचिवको पद चार वर्षको रहने प्रदेश खेलकुद विकास ऐनले तोकेको छ ।
तपाईको प्रतिक्रिया