भलाममा व्यक्तिको आँगन बनाउन वडाको बजेट !

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २० को नागेश्वरी टोल छेउसम्मै बाटो ढलान भएको छ । टोल सुरु भएपछि भने बाटो कच्ची छ ।
सडक कालोपत्र गर्न वडा, महानगर र प्रदेश धाउँदा धाउँदै टोलका अध्यक्ष कृष्णबहादुर कार्की थाकिसके । तर, अझै प्रगति भएको छैन ।
अर्कातिर उनकै टोलमा वडा कार्यालयले व्यक्तिको आँगन उकास्न बजेट दिएको छ । ५ भाइ बस्ती संरक्षण पोखरा २० भलामको नाममा पोखरा महानगरबाट ८ लाख र स्थानीयको ८८ हजार ८ सय ८९ रुपैयाँमा हालै योजना सकिएको हो ।
टोलका अध्यक्ष भए पनि कृष्णले न त्यहाँ उपभोक्ता भेला भएको थाहा पाएँ, न योजनाको काम भएको जानकारी । कृष्ण भन्छन्, ‘मलाई र टोलका सदस्यलाई केही थाहा भएन, कुनै काम भएको जानकारी, समन्वय नै भएन ।’
महानगरले अतिक्रमण हटाउँछ भन्ने सुनेको हो । यहाँ त महानगरकै पैसाले मेरो जग्गा अतिक्रमण भयो । न्याय खोज्न कता जाऊँ ?
दिनेश बस्नेत, पोखरा २०
पोखरा २० को उपल्चौर (पुलको मुख) र तल्लाचौरबीचका ३ वटा घरको आँगन उकास्न वडाले बजेट दिएको हो । त्यतिमात्र होइन, अरुको जग्गा अतिक्रमण गरी पर्खाल लगाइएको छ । पाँच भाइ बस्ती संरक्षण उपभोक्ता समिति अध्यक्ष खिमबहादुर कार्कीले अरुको जग्गा मिचेर किन बाल लगाइयो भन्ने प्रश्नको उत्तर दिनै चाहेनन् ।
उनले भने, ‘फिल्डमै आउनुस् । बस्ती जोगाएका हौं । उसको जग्गा रहनेछ भने हामी भेटौला नि त कहिलेकाँही ।’ खिमले वडाको योजनामा काम गरेको तर कसैको जग्गा नमिचेको दाबी गरे ।
यता, पीडित दिनेश बस्नेत भने वडा कार्यालयका अमिनले नापेर छुट्याएको साँध मिचेर आफ्नो जग्गाबाट पर्खाल उठाएको दाबी गर्छन् । उनले भने, ‘पहिला अमिनले नापेको जग्गाभन्दा तल झरेर मेरो जग्गा मिचिएको छ । समितिले रातरात काम गरेछ म नभएको बेलामा । समन्वय गर्न खोज्दा जनप्रतिनिधिले पनि दम्भ देखाए । महानगरले अतिक्रमण हटाउँछ भन्ने सुनेको हो, यहाँ त महानगरकै पैसाले मेरो जग्गा अतिक्रमण भयो । न्याय खोज्न कता जाऊँ ?’
नागेश्वरी टोलका अध्यक्ष कृष्ण घरबाट १० मिटरभन्दा पर रहेको डिलमा बाल लगाउनु सरकारी सम्पत्तिको दोहन भएको बताउँछन् । ‘म ६० पुग्न लागें, अहिलेसम्म त्यो डिल कतै भत्केको थाहा पाएको छैन । तल पहरो छ, घरबाट १० मिटर परको पहरोमा पर्खाल लगाउनु त्यो पनि साँधमा अरुको जग्गा मिलेर अचम्म भएको छ ।’
यता, वडाध्यक्ष गंगाबहादुर केसी भने निर्माण समितिका अध्यक्षले मनोमानी तवरले अरुको जग्गामा पर्खाल लगाउँदा विवाद भएको बताउँछन् । उनले त्यहाँ जोखिमै भएकाले बजेट दिइएको जिकिर गरे । वडाध्यक्ष केसी भन्छन्, ‘अमिनले हेरेको भन्दा फरक पारेर पर्खाल लगाइएछ । उपभोक्ता समितिका अध्यक्षको काम हो त्यो । नगर्नू भन्दाभन्दै गरेको कामको वडाले भुक्तानी दिदैन ।’
पोखरा २० का इन्जिनियर दीपक पोखरेल काम सुरु गर्दा विवाद नरहेको र अहिले विवाद देखिएको बताउँछन् । अहिलेको निर्वाचनपछि आएका जनप्रतिनिधिले योजना छानोट, कार्यान्वयन र वडाका अन्य गतिविधिमा स्थानीय, टोल विकास संस्था र रजनीतिक दलहरुलाई उपेक्षा गर्ने गरेको सरोकारवालाको गुनासो छ ।
माओवादी केन्द्र पोखरा २० अध्यक्ष लक्ष्मण खत्रीले सरकारी पैसा व्यक्तिको काममा प्रयोग गरिनु राष्ट्रिय ढिकुटीको दुरुपयोग भएको बताए । उनले अहिलेका वडाध्यक्ष अरु राजनीतिक दलप्रति पूर्वाग्रही भएको र साझा जनप्रतिनिधि बन्न नसकेको टिप्पणीसमेत गरे ।
राप्रपा पोखरा २० इकाइ अध्यक्ष कृष्ण केसी अहिलेका वडाध्यक्ष सबैको जनप्रतिनिधि बन्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘उहाँको समन्वकारी भूमिका हुनुपर्नेमा त्यसो भएन । जनप्रतिनिधि पार्टीको हुँदैन । उहाँ विकटता होइन कि निकटता हेर्नुहुन्छ ।’
तपाईको प्रतिक्रिया