एउटा अन्तिम अध्याय

संगीता सुवेदी २०८० जेठ २ गते १२:१२

हर समय नीलो मनमोहक देखिइरहेको आकाश बादलले ढपक्कै छोपेर कालो भएको थियो । हेरिरहूँ र पछ्याइरँहू लाग्ने क्षितीज आज हेर्दाहेर्दै विद्युतीय तरंगसँगै गड्गडाउदो चट्याङको डरले घरिघरि आखा बन्द गर्नुपर्ने भएको थियो । बाटोमा नतमस्तक भएर निदाउने कुकुरहरु केहि समय पछिको बिपत्ति छेक्न ओत खोज्दै थिए । आहार खोज्न गएका चराहरु आफ्ना बचेराहरु सम्हाल्न बेजोडसँग बतासको वेग छिचोल्दै दौडिरहेका छन् ।

Advertisement

सबैलाई थाहा थियो, केही समयमा बिपत्ति आउँदै छ, हामी सुरक्षित हुनुपर्छ । भगवान्, तिमीसँग मेरो केही दुष्मनी थियो र ? मैले त्यस्तो के भुल गरेकी थिएँ र मेरो जीवनको सबैभन्दा अमूल्य मान्छे मेरी आमा, मलाई सुइको पनि नदिई खोसेर लग्यौ ?
सबैलाई जस्तै मलाई पनि थोरै समयअगाडि भनेको भए पनि त हुन्थ्यो, म मेरो ज्यानको बाजी लगाएर बचाउँथे । तर कति सजिलै खोसेर लग्यौ है ! निर्दयी रहेछौ भगवान तिमी पनि । तिमीलाई लाग्यो होला एउटी महिलाको धर्तिसँगको साथ छुटाएँ । तर मेरो, मेरो त घरको अविभावक छुट्यो, बाबाको आमासँग वर्षौदेखिको साथ छुट्यो, एउटी छोरीलाई आमाको न्यानो काख छुट्यो । आमाको यादमा बाबाको छटपटी र भित्रभित्रै रोएको उहाँको मन, आमा बिना एक्लिएको यो घर र एक्लिएकी छु म ।
खोइ किन, तिमी नहँुदा म टुटिरहेकी छु, सपनासँग आफैंलाई जोड्नै सकिरहेको छैन । आमा तिमीलाई बिर्सनका लागि एउटा पनि आधार छैन मसँग । तर सम्झनका लागि…। होइन, सम्झनका लागी त बिर्सनु पर्छ नि । म तिमीलाई कहिल्यै बिर्सन सकूँला र ?

आजभोलि रातमा तिमीलाई सम्झिएर झरेका आँसु र खाटबाट ओरालो लागेको सिरकमाथि कहिल्यै उक्लिदैनन्


तर तिमीलाई न बिर्सनका लागि मैले व्यतीत गर्ने हरेक प्रहरमा अनेक आधार जन्मिन्छन् । खाना पकाउँदै गर्दा तातो तेलको छिटाले पोल्दा होस् या पकाउँदै गरेको तरकारी डढ्दा, या त दूध उम्लिएर पोखिँदा । हरेक चित्कारपछिको पहिलो शब्द आमा ।

हरेक खुसिपछि सम्झिने पहिलो मान्छे तिमी हौ आमा ।

Advertisement

बिहानीको उदाउदो सूर्यसँगै सुरु भएको तिम्रो माया र साथ, अस्ताउदो सूर्य हुँदै राति खाटबाट खस्ने मैले आढेको सिरक, आफ्नो निद्रा बिर्सिएर आएर ओढाउथ्यौ नि । आजभोलि रातमा तिमीलाई सम्झिएर झरेका आँसु र खाटबाट ओरालो लागेको सिरकमाथि कहिल्यै उक्लिदैनन् । हरेक बिहान एक्लै उठ्छु, उठ्दा आँखा ओभाना र गला अवरुद्ध हुन्छ । त्यस्तो बेला खै कसरी बिर्सुं

तिमीले तातो पानीमा अदुवा र वेसार राखेर आँखा बन्द गरेर सर्लक्क खाऊ त भन्दै खुवाएको ?

खै कहाँ गयौ तिमी ? तिमीसँगै हुँदा, छौ जस्तो कहिल्यै लागेन । अहिले तिमी नहुँदा तिमी थिइनौ जस्तो कहिल्यै लाग्दैन । बस सँगै हँुदाको तिम्रो महत्व टाढा भएपछि थाहा भयो । पस्केको खाना धेरै हुन्छ, म खान्न भन्दा मायाले खुवाउथ्यौ । तैपनि मैले खान कहिले मानिनँ तर तिमीले खुवाउन कहिल्यै छाडिनौ । यति त खाइन्छ छोरी खाऊ भनेर मायाले खुवाउनका लागि तिमी फेरि आऊ न आमा ।

अब तिमीले दिएको पूरै खान्छु, तिमीले भनेको सबै मान्छु । तिमी नहुँदा बाबालाई पनि धेरै गाह्रो भएको छ । एक्लोपनले बाबाको आँखाबाट झर्न खोज्दाखोज्दै रोकिएको आँसु म महसुस गर्न सक्छु । भन्छन्ः छोरा मान्छे रुनुहुन्न रे, तर म चाहन्छु मेरो बाबा मलाई साथी सम्झेर मेरो अंगालोमा धित मरुन्जेल रोऊन । तर मलाई थाहा छ त्यो बेलामा म पनि रुन्छु भन्ने मेरो बाबालाई थाहा छ । बाबालाई पनि रुनका लागि तिम्रो काख चाहिएको छ र मलाई पनि ।

बेलुका कामबाट थाकेर घरभित्र पस्नेबित्तिकै चाहिनेभन्दा ठूलो स्वरमा आमा पानी, भोक लाग्यो भनेर चिच्याउने म अहिले मेरी आमाले किनेर छोडेको तालालाई गह्रौ मनले आफैंले खोलेर भित्र पस्ने गर्छु । जब घरको भित्तामा माकुराले जालो लगाएको देखेर बाबाले भन्नुहुन्छ मेरो बूढी भएको भए यो सब सफा हुन्थ्यो, तब महसुस हुन्छ, कि तिम्रो महत्व कति छ ? मलाई, बाब लाई र यो घरलाई तिम्रो महत्व ।

साच्चिकै तिमी भएको भए यो घर अर्कै हुन्थ्यो, यो सहर अर्कै हुन्थ्यो अनि मेरा रहरहरु अर्कै हुन्थे । किनकी हरेक सम्बन्ध तिमीसँग जोडिएका छन् । खै, आज तिमी नहँुदा रहर र आशाका पहाडहरु समथर भएका छन् । सपनाको मलिलो बारी आज बाढी पसेर बगर बनेको छ । तिमी नभएपछिका दिनहरु उराठलाग्दा छन् मेरा । अधुरा, अपूरा साच्चिकै कटाउनै गाह्रो । अनि हरेक रात निद्रा बिनाका कहालीलाग्दा । यसरी नै दिन र रात गर्दै समय बितिरहेको छ । तर म त्यही ठाँउमा छु आमा, जुन ठाँउमा तिमीले छोडेर गएकी थियौं ।

जहाँ आमा र छोरीको भौतिक सम्बन्ध यो जूनीका लागि समाप्त भएको थियो । हुरी, बताससहित पानी पर्दा फोन गरेर बरु घर ढिला आउनू तर आफ्नो ख्याल राख्नू भन्ने मेरी आमा, म घर आउन ढिला हुँदा फोनमा आत्तिएर कहिले आँउछौ नभनी कहाँ पुग्यौ भन्ने मेरी आमा । आमाको यसरी फोन नआएको १ वर्ष भएछ । मन फुलेर, आँखा भरिएर आउछन्, जब सम्झिन्छु अब मेरो जीवनमा आमा नामबाट कहिल्यै घन्टी बज्ने छैन ।

आँखाभरी भएर खस्न नसकेको आँसु, मनभारी भएर निस्कन न सकेका शब्द र क्षितिज पारी भएर पनि बिर्सन नसकेकी मेरी आमा र उनले गर्ने माया । मुटुभरी छ, आँखावरिपरी छ, घरीघरी आउँछ, नआइज भन्न मन डराउँछ, आइरहदा आँखा रसाउँछन् । आमा, जुन दिन तिमी गयौ, त्यो दिन मैले मेरो सिंगो संसार गुमाए । तिमी शब्द होइन, अर्थ रहिछौं, मेरो जिन्दगीको अर्थ । गहिरो सम्झना मेरी आमा तिमीलाई !
संगीता सुवेदी

तपाईको प्रतिक्रिया