समृद्धि अभियान थाल्न युवालाई सुझाव

समाधान संवाददाता २०८० जेठ २ गते १२:३३

पोखरा ।
राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा जिल्ला कमिटी कास्कीले शुभकामना आदानप्रदान तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।

Advertisement

कार्यक्रममा संघ कास्कीका पूर्व अध्यक्षहरु विद्याविमल बराल, बैनबहादुर गुरुङ, जीवनप्रसाद आचार्य, नवराज ओझा, हरि लम्साल, दर्शन लामा, विष्णु पुन र डिल्लीराम सुवेदीलाई दोशल्ला र सम्मानपत्र प्रदान गरियो ।

समारोहमा कास्कीका ५ पालिकामध्ये उत्कृष्ट अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष शिवप्रसाद सुवेदी र कास्कीका ७२ वडामध्ये उत्कृष्ट पोखरा महानगगर वडा नम्बर ८ कमिटीलाई सम्मान गरिएको जिल्ला कमिटी कास्की अध्यक्ष पानबहादुर जिसीले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सचिव गोकर्ण विष्टले संघ कास्कीका संस्थापक अध्यक्ष विद्याबिमल बराललाई केक खुवाएर कार्यक्रम उद्घाटन गरे । सचिव विष्टले राज्यका निकायले युवालाई निराश र दिशाबिहीन बनाउने काम गरेको आरोप लगाए ।

एमालेको सरकारको पालामा युवाका सबै सवाल प्राथमिकतामा परेको दाबी गर्दै उनले अहिले युवाका सबै एजेन्डा कमजोर भएको उल्लेख गरे । उनले यस्तो अवस्थामा पार्टीले युवालाई सचेतना तथा जागरण गरी देश परिवर्तन गर्ने अभियानमा लगाउने घोषणा गरे ।

Advertisement

बाध्यताले पछिल्लो ९ महिनाको अवधिमा ६ लाख युवा विदेशिएको जानकारी दिँदै उनले ती सबै युवाको सवालमा पार्टी गम्भीर भएको बताए । उनले पार्टीले युवाको शिक्षा, रोजगार र प्रतिभा विकासको साथै सामाजिक न्याय सहितको समृद्धि चाहेको उल्लेख गरे ।

प्रतिनिधिका सदस्यसमेत रहेका विष्टले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषयको निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी रुपमा कारवाही गर्न माग गरे । ‘युवाको भावना अनुसार काम गर्ने संस्था युवा संघ हो,’ उनले भने, ‘युवा संघले भ्रष्टाचार विरोधी अभियान थालोस् । सामाजिक न्याय, समृद्धि र बेरोजगारी अन्त्यका लागि आन्दोलन गरोस् ।’ उनले युवा संघलाई सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियान थाल्न सुझाव दिए ।

नेपाली समाजमा उल्टा पाल्टा कुरा सिकाउनेको बाढी आएको उल्लेख गर्दै उनले युवा संघले सबै कुप्रचार र भ्रमबाट युवालाई जोगाउँदै सबै उल्टा गतिविधिलाई सुल्टो बनाउनको लागि लाग्न आग्रह गरे । उनले तमाम अन्तरविरोध र नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन पार्टीले भूमिका खेल्ने बताए ।

कार्यक्रममा युवा संघ नेपाल जिल्ला कमिटी कास्की अध्यक्ष जिसी, उपाध्यक्ष शंकर पौडेल, सचिव नमराज केसीले युवा संघको स्थापना दिवसका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया