निजामतिको प्रदेश स्तरीय प्रशिक्षण

पोखरा ।
नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेश कार्य समितिले तनहुँको बन्दिपुरमा गण्डकी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।
नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति तनहुँ र राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड तनहुँको व्यवस्थापनमा २ दिने प्रशिक्षण भएको गण्डकी प्रदेश कार्यसमितिका महासचिव रामचन्द्र पहारीले जानकारी दिए ।
कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य ढकालले ट्रेड युनियन, मानवअधिकार र सामूहिक सौदाबाजी, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जनताको बहुदलीय जनवाद, संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले निजामति कर्मचारी संगठनको वर्तमान समसामयिक गतिविधि र आगामी कार्यदिशा र संगठनका महासचिव जीवन काफ्लेले राष्ट्रसेवक सहकारीको विकासक्रम र संगठनसँगको अन्तरसम्बन्ध विषयमा सहजीकरण गरेका थिए ।
संगठनका गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष तथा कानुन, नीति तथा प्रशिक्षण विभागका प्रमुख डोलराज पराजुलीले संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्ध, डा विनोद पौडेलले सकारात्मक सोच र तनाव व्यवस्थापन, संगठनका पूर्व सचिव विनोदबहादुर कुँवरले राजनीति र प्रशासनः सम्बन्ध र सीमा र संगठनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज घनश्याम कोइरालाले बैठक व्यवस्थापन तथा माइन्युट लेखन विषयमा सहजीकरण गरेको महासचिव पहारीले बताए ।
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले रिमोट थिचेर उद्घाटन गरेको कार्यक्रममा संगठनका केन्द्रीय सचिव विष्णु अधिकारी, नेकपा (एमाले) तनहुँ उपसचिव प्रदीपराज अधिकारी, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण विभागका सचिव कविसिंह कठायत, संगठनका केन्द्रीय सदस्य राममणि ढुंगाना, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज विजयकुमार श्रेष्ठ, संगठन गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष अशोक खनालले निजामति कर्मचारीको सवालमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया