अनसन चौतारीमा एक्ला प्रवीण

रिखिराम जिसी २०८० जेठ ३ गते १०:३३

पोखरा ।

तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने
तिमी एक्लै हिँड है !
एक्लै हिँड ! एक्लै हिँड ! एक्लै हिँड है !
हो, तिमी एक्लै हिँड ! एक्लै हिँड ! एक्लै हिँड है !

तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने
तिमी एक्लै हिँड ! एक्लै हिँड ! एक्लै हिँड है !

Advertisement

दमौलीका प्रवीण पौडेलले यो गीत नसुनेका पनि हुन सक्छन् । भारतीय राष्ट्रिय गानका रचयिता रवीन्द्रनाथ टेगोरले ऊ जमानामै लेखेको गीत थियो यो । त्यही गीत सुने पनि नसुने पनि प्रवीणले अपनाएको बाटो भने टेगोरले नै भनेजस्तो हो ।

दमौली बजारमा एउटा चौतारी छ—अनसन चौतारी । आन्दोलन र अनसनकै कारण चौतारीको नामकरण अनसन रह्यो । प्रवीण केही दिनदेखि त्यही चौतारीमा पलेंटी कसेर बसिरहेका भेटिन्छन् । उनी दिनभरि एक्लै त्यही चौतारीमा हुन्छन् । हुन त उनी एक्लै बस्न चाहेका होइनन् । अरुको पनि साथ मागेका थिए । गुहारेका पनि हुन् । तर गुहार कसैले सुनेनन् । र, टेगोरले भने झै एक्लैएक्लै आफूले चाहेको बाटोमा हिँडिरहेका छन् । उनको बाटो भ्रष्टाचार विरुद्धको बाटो हो ।

Advertisement

देशैभर भ्रष्टाचारको विरुद्धमा प्रदर्शन भइरहेको बेला आफूले पनि पनि तनहुँमा साथ पाउने अपेक्षा प्रवीणले पनि गरेका थिए ।

तर, सोही उनलाई कसैले साथ दिन आएनन् । उनी आइतबार अनसन चौतारीमा भ्रष्टाचारविरुद्ध एक्लै भए पनि अडिग छन् ।

‘भ्रष्टाचार देख्दादेख्दै पनि हामी नागरिक चुपचाप बस्नु, दबाब नदिनु भनेको अझै भ्रष्टाचार गर्नु भन्ने म्यासेज नजाओस् भनेर मैले सबैलाई आउनका लागि आह्वान गरेँ । तर, राजनीतिक कारण हो या के कारण उहाँहरु आउनु भएन,’ पौडेलले भने, ‘म एक्लै भएपनि भ्रष्टाचारको विरोध गर्नुपर्छ भनेर उभिएँ ।’

२०४६ पछि सार्वजनिक पदमा बस्ने सबैको सम्पत्ति छानबिन हुनुपर्ने, भ्रष्टाचारीलाई कडा कारबाही हुनुपर्ने मागसहित प्रवीण पौडेल दमौलीको अनसन चौतारीमा बसिरहेका छन्

उनी आइतबा, सोमबार र मंगलबार भ्रष्टाचार विरुद्ध खडा भए । आइतबार एक्लै परेका उनलाई सोमबार भने केही साथ मिलेकोे थियो । फाट्टफुट्ट मानिसहरु आउँदै उनका अभियानमा ऐक्यवद्धता जनाए । त्यसपछि उनले राम्रो साथ पाउन थाले । उनी दिउँसो २ बजेदेखि ३ बजेसम्म अनसन चौतारीमा ब्यानर टाँसेर बस्थे ।

अहिले भने अभियानमा सबैको सकारात्मक रुपमा साथ पाएको पौडेल बताउँछन् । ‘पार्टीमा हुन्छ, ठिक छ तर, भ्रष्टाचार भनेको सबैको साझा विषय हो, यो हामीले सधै संरक्षण गरेर राख्ने कुरा होइन नि त । लड्नै पर्छ भन्ने हिसाबले कतिपयलाई सुरुमा आउन अप्ठेरो लागेप नि म एक्लै पनि उभिएँ,’ उनले भने, ‘विस्तारैविस्तारै थपिँदै जानुभयो ।’

भ्रष्टाचारीलाई कडा कारबाही हुनुपर्ने उनले माग राखेका छन् । २०४६ पछि सार्वजनिक पदमा बस्ने सबैको सम्पत्ति छानबिन हुनुपर्ने उनको माग छ । भ्रष्टाचारका विषयमा सबै नागरिकलाई सचेत बनाउन अभियान सञ्चालन गरेको पौडेल सुनाउँछन् । ‘भ्रष्टाचारविरुद्ध सबै नागरिकलाई सचेत हुन्, भ्रष्टाचार भन्ने कुरा हामीबाट फाल्ने हो भन्ने सन्देश दिन मैले यो अभियान चलाएको हुँ,’ उनी भन्छन् ।

आफू आन्दोलनमा एक्लै भएपनि आफ्नो मागमा सबै नागरिकको ऐक्यबद्धता रहेको पौडेल दाबी गर्छन् । सबैको साथ पाएकाले निरन्तर अभियान चलाउने उनको भनाइ छ । ‘मैले चाहिँ दुई दिन बिराएर अथवा हप्ताको एक दिन गर्छु भन्ने सोचेको थिए । बरु नियमित तर समय मिलाएर गर्न सके प्रभावकारी हुँदोरहेछ बुझ्दै आए दिनको १ घन्टा बस्दै आएको छु,’ उनी भन्छन्, ‘अहिले त केही आएर साथ दिनुहुन्छ केहीले मेसेजबाट साथ छ भन्नुहुन्छ ।’

‘कहिले खुल्छ भ्रष्टाचारका फाइल ?’, ‘कहिलेसम्म भ्रष्टाचार र भ्रष्टाचारीलाई छुट ?’, ‘भ्रष्टाचार संरक्षकलाई कहिलेसम्म पाल्ने ?’ जस्ता प्ले कार्डसहित उनी विरोध अभियानमा छन् । पौडेल मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका पौडेलले २ सय ८४ मत पाएका थिए । तर राजनीति सफाइको उनको अभियान ओइलाएन । त्यसैले त एक्लै भए पनि प्रवीण अनसन चौतारीमा बसेर सत्याग्रह गरिरहेका छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया