आधुनिक पोखराका एक संवाहक

समाधान संवाददाता २०८० जेठ ३ गते १२:२१

पोखराले सधैं सम्झनुपर्ने श्रद्धावान् व्यक्तित्व हुन्ः प्रेमराज मुल्मी । पोखरा भैरवटोलका मुल्मी समग्रमा आधुनिक पोखराका परिकल्पनाकार, उच्च कोटीका साधक, शिक्षासेवी, स्वतन्त्रता सेनानी तथा बहुआयामिक व्यक्तित्व थिए ।

Advertisement

वि.सं. १९७७ आषाढ शुक्ल पूर्णिमाका दिन जन्मिएका समाजसेवी मुल्मीले पिता हर्षकुमारको देहान्तपछि बाबुले सम्हालिआएको व्यापार, व्यवसायलाई सम्हालेका थिए । प्रेमराजको सामान्य पढाई पोखराकै संस्कृत भाषा पाठशालामा भएको थियो भने उच्च शिक्षा काठमाडौंको जुद्धोदय हाइ स्कुलमा भयो । मामाघर काठमाडौंको ठमेलमा भएकाले त्यहाँको चहलपहल, व्यापार, व्यवसाय देख्ने अवसर उनले पाए ।

२००६ सालमा राणा विरोधी आन्दोलन सुरु भएकाले नेपाली कांग्रेसका नेताहरु श्रीभद्र शर्मा, श्रीकान्त अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठ पोखरा आउँदा मुल्मीकहाँ बस्ने गर्दथे । मुल्मी पनि नेपाली कांग्रेसको संगठन विस्तारमा लागे । २००६ साल चैत ३० गते पोखरामा भएको भीषण अग्निकाण्डमा पीडित व्यक्तिलाई राहत र क्षतिपूर्ति वितरण समितिका सदस्य थिए मुल्मी ।

Advertisement

२०१५ को पहिलो आमनिर्वाचनपछि पोखरालाई नगरपालिका बनाउने तयारी भयो । मुल्मीले पोखरालाई १३ वडामा विभाजन गरे

मुल्मीले पहिलोपटक पोखरामा रेडियो भित्रयाए । उनी कहाँ रेडियो सुन्न मान्छेको भीड लाग्थ्यो । प्रेमराज काठमाडौंका साथै भारतबाट प्रकाशित हुने पत्रपत्रिका हुलाकमार्फत पोखरा ल्याउँथे । मुल्मीको घर राजनीतिक नेताहरुका साथै सर्वसाधारणका लागि समेत आकर्षणको केन्द्र थियो ।

Advertisement

प्रेमराजले पोखराका व्यापारीसँग मिलेर ००८ सालमा पोखरा व्यापार संघको जग हालेका थिए । त्यसको अध्यक्षमा टेकबहादुर ढेवाजू थिए भने उनीसचिव बने ।

पछि यो समितिले २०११ सालमा मात्र कानुनी मान्यता पायो । मुल्मीले २००८ सालमा पोखरामा हवाई ग्राउन्ड बनाउन अग्रणी भूमिका खेले । उनी स्वयं ठूला व्यापारी भएकाले पोखरा–भैरहवा हवाई सेवा आवश्यक भएको महसुस गरी भैरहवा पोखरा विमानसेवा सञ्चालनको व्यवस्था गरे ।

मुल्मी आदर्श पुस्तकालयका संस्थापक थिए । उनी पुस्तकालयलाई आवश्यक पर्ने पुस्तक काठमाडौंबाट मगाउँथे । अत्यन्त मिलनसार र नम्र स्वभावका मुल्मीले त्यसताका चलनमा रहेको भारतीय रूपैयाँलाई नेपाली नगद सटही गर्ने कामको सुरुवात पटक गरेका थिए । यो नगद एक्स्चेन्ज गर्ने सेवा कार्य २०१३ सालमा पोखरामा नेपाल बैंक स्थापना नभइञ्जेल गरे । नेपाल बैंकलाई पोखरामा स्थापना गर्न निकै मेहनत गरेका थिए ।

१९७७ सालमा स्थापित बालधाराले मात्र पोखरेलीलाई पानी खुवाउन नपुग भएपछि मुल्मीले भोटीखोला खानेपानी आयोजनाको सचिव भएर पोखरेलीलाई तिर्खा मेटाउने पुण्यकार्य गरे । मुल्मी पृथ्वीनारायण कलेजका संस्थापक सहसचिव पनि थिए । २०१५ सालको पहिलो आमनिर्वाचनपछि पोखरालाई नगरपालिका बनाउने प्रसंग चल्यो । मुल्मीलाई वडा विभाजन गर्ने दायित्व सुम्पिइयो । मुल्मीले पोखरालाई १३ वडामा विभाजन गरे ।

मुल्मीले पोखराको टुडिँखेलमा रहेका नेसनल हाइ स्कुल भवन निर्माणको सदस्य भएर पनि सेवा पुर्याए । मुल्मीले २०१८ सालमा ट्रक (ढुवानी) सेवा सञ्चालन गरेका थिए पछि सःमिल, राइस मिल आदि उद्योग खोलेर पोखरालाई क्रमश आधुनिक सहर बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

२०२० मा भैरहवाबाट पहिलो पटक ट्रकमा नून लगायत सामान पोखरा ल्याएर सिद्धार्थ राजमार्गको व्यवसायिक सुरुवातमात्र उनले गरेनन्, सर्वसाधरणलाई सस्तो मूल्यमा सामान उपलब्धसमेत गराए । मुल्मीले नेबिको बिस्कुटको डिलरसिप लिएका थिए भने उनी पोखरामा कर कार्यालय खुल्नासाथ पहिलो करदाता बन्न पुगे ।

प्रेमराज मुल्मीले पोखरा उद्योग वाणिज्य संघको कार्य समितिमा विभिन्न पदमा बसेर पनि सेवा गरे । उनले नेपाल भाषा साहित्य सम्मेलनमा पोखराको तर्फबाट धेरै पटक भाग लिएका थिए । काठमाडौंमा हरेक वर्ष आयोजना हुने यो कार्यक्रम नेवार भाषा उत्थानका लागि महत्वपूर्ण थियो ।

यसरी पे्रमराज मुल्मीले पोखराको शैक्षिक, राजनैतिक, सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । उनी भित्रीरूपमा सबै सेवा कार्य गर्दथे तर नेतृत्व लिने कुरामा अगाडि आउन चाहँदैनथे । हाल छोरा र २ छोरी छन् । निस्वार्थ भावले पोखरेलीको सेवा गर्दागर्दै वि.सं. २०३३ मार्ग २३ गते उनी यस धरातलबाट सदाका लागि बिदा भए ।

तपाईको प्रतिक्रिया