यातायात कार्यालय पुगे मन्त्री

समाधान संवाददाता २०८० जेठ ३ गते २०:५८

पोखरा ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमन गरेका छन् ।

Advertisement


यातायात कार्यालयबाट प्रवाह हुने सेवाको अवस्था र सेवाग्राहीको समस्या पहिचान गर्न मन्त्री जुग्जाली आकस्मिक रुपमा त्यहाँ पुगेका हुन् । उनले यातायात व्यवस्थापन कार्यालयको सवारी चालक अनुमतिपत्र अनुगमनका क्रममा सेवाग्राहीले उठाएका समस्यालाई प्राथमिकतामा राखेर यातायात क्षेत्रको सुधारको काम सुरुवात गरिने प्रतिवद्धता गरे ।


सेवाग्राहीले मन्त्रीसँग कार्यालयमा खाने र शौचालयमा प्रयोग गर्ने समस्या भएको, सेवा प्रवाह अव्यवस्थित, आफ्नै साधनले पनि ट्रायल दिनका लागि समस्या, ट्रायल सेन्टरमा निजी कम्पनीको हालीमुहाली, पुराना मोटरसाइकल तथा स्कुटरबाट ट्रायल दिनुपर्ने बाध्यता रहेको जस्ता गुनासा गरेका थिए ।


‘जनताले कस्तो सेवा पाइरहेका छन् भनेर अनुगमनमा आएको हुँ,’ मन्त्री जुग्जाली भन्छन्, ‘अनुगमन गर्दा सेवाग्राहीका धेरै समस्या आएका छन् । समाधानका लागि मन्त्रालयबाट सहजीकरण प्रक्रिया थाल्छौं ।’


मन्त्रालयका उपसचिव तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टकिाराम पौडेल पनि अनुगमनमा सामेल थिए । गत शुक्रबार मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री जुग्जालीले भौतिक पूर्वाधारका साथै मन्त्रालय मातहतका यातायात कार्यालयबाट प्रवाह हुने सेवा सुधारमा चासो दिएका छन् ।

Advertisement


मन्त्री जुग्जालीले पोखरामा सञ्चालन हुने सवारी साधनको प्रदूषण परीक्षण र मापदण्ड कार्यान्वयनका विषयमा मंगलबार मन्त्रालयमा सचिव र सम्बन्धित महाशाखाका प्रमुखहरुसँग छलफल गरेका थिए । २०७६ भदौदेखि कास्कीमा सुरु भएको गाडीको प्रदूषण परीक्षणसम्बन्धी मापदण्ड कार्यान्वयन नभएको पाइएको छ ।


यातायात व्यवस्था कार्यालयसँग मेसिन भए पनि हालसम्म अनिवार्य परीक्षण नभएको र अन्य यान्त्रिक परीक्षण गरिए पनि प्रदूषण जाँच भने नगरेको मन्त्रीसँगको छलफलमा कर्मचारीहरुले बताएका थिए । उनीहरुले कार्यालयमा ठाउँ अभाव भएका कारण पनि सबै गाडीको परीक्षण गर्न समस्या रहेको बिफ्रिङ गरेका छन् ।

तपाईको प्रतिक्रिया