सापु आउनुअघि नै सतर्कता

समाधान संवाददाता २०८० जेठ ७ गते १०:३२

पोखरा ।
यो अंग्रेजी संवत २०२३ हो । २२ सकिएपछि २३ आउनु स्वाभाविक हो । यो संवतका यसरी नै २ हजार २२ वटै वर्ष गुज्रिइसकेका छन् । समयको गति नै हिँडिरहने हो । कुनै त्यस्तो शक्ति छैन, जसले समय रोकोस् । तर जसै बिजोर वर्षहरु आउँछन् ।

पोखराका केही चिकित्सकलाई चिन्ता र धपेडी बढ्छ । २३ अर्थात बिजोर अंकले त्यसैगरी चिन्ता थपेको छ । चिकित्सकलाई चिन्तित बनाउने बिजोर वर्ष एउटा रोगसँग सम्बन्धित छ । हुन् पनि गण्डकी प्रदेश र खास गरी पोखरामा अंग्रेजी संवतको बिजोर वर्ष एउटा रोग देखा पर्दै आएको छ । त्यो हो—सापु । यो आँखामा लाग्ने रोग हो । बिजोर वर्षमा मात्रै देखा पर्ने सापुको अर्काे अचम्म के भने यो एउटा आँखामा लाग्छ, तर अर्काेमा सर्दैन ।

चिकित्सा विज्ञानले पत्ता नलगाएका रोग हजारौं छन् । पत्ता लागेका रोगको उपचार पत्ता लाग्न पनि हजारौंकै बाँकी छ । सापु पनि त्यस्तैमध्येमा पर्छ । यो रोग लाग्ने कारण सेतो पुतली (मोथ) भन्ने पत्ता लागिसकेको छ । तर त्यो पुतलीको पनि झुसका कारणले हो कि, पुतलीले आँखामा विष छाड्दिनाले हो कि वा पुच्छरले हो वा अरु केले भन्नेचाहिँ पत्ता नलागेको त्रिवि शिक्षण अस्पतालको आँखा विभाग, नेत्र अध्ययन केन्द्रकी डा रञ्जु खरेल बताउँछिन् । भन्छिन्, ‘ढुसीले हो कि, ब्याक्टेरिया वा भाइरसले भन्ने पनि पत्ता लागेको छैन, त्यसैले उपचार पनि कठिन छ ।’

Advertisement

बिजोर वर्षमा मात्रै देखा पर्ने सापुको अर्काे अचम्म के भने यो एउटा आँखामा लाग्छ, तर अर्काेमा सर्दैन

सापु नेपालमा अन्धोपन निवारणका लागि एउटा चुनौती बनेको छ । सापु भइहाल्यो र छिटै अस्पताल नपुगे दृष्टि गुम्छ । डा रञ्जुकै भनाइमा सापु बच्चाबच्चीमा हुन्छ । ‘यसले किन बच्चाबच्ची मन पराउँछ ? किन गण्डकी प्रदेश र पोखरामै देखिन्छ ? यहाँ सेतो पुतलीलाई मन पर्ने वा अनुकूल बासस्थान छ कि,’ उनी भन्छिन्, ‘कारण पत्ता लागेको छैन ।’ अंग्रेजी बिजोर वर्षमा मात्रै यो रोग देखा पर्नुको कारण पनि पत्ता लागेको छैन ।

Advertisement

सापु गर्मी मौसममा देखिन्छ । अब यस्तो मौसम सुरु हुँदै छ, जहिले सापु लाग्न सक्छ । डा खरेलका अनुसार भदौदेखि मंसिर सापुको समय हो । तर अहिल्यैदेखि सचेतना फैलाउनुपर्ने खाँचो उनी देख्छिन् । त्यही खाँचो देखेर गण्डकी प्रदेशका सरोकारवालालाई घच्घच्याउन उनी पोखरा आएकी थिइन् । शुक्रबार उनले प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा खिमबहादुर खड्कालाई मात्रै नभई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटालाई भेटेर ध्यानाकर्षण गराइन् ।

सापु लागेकाको उपचार गराई दृष्टि दिने काम हिमालय आँखा अस्पताल पोखराले गर्दै आएको छ । तर अस्पताल प्रमुख डा इलिया श्रेष्ठकै भनाइमा छिटो अस्पताल नपुगे दृष्टि नबँच्न पनि सक्छ । परार त्यही सापु लागेर २ जनाले दृष्टि गुमाएको जानकारी उनले दिइन् ।

सामान्य आँखा पाकेको भन्ठानेर घरमै बस्दा सापुले आँखाको दृष्टि गुमाइदिने उनी बताउँछिन् । सेतो पुतली र खास गरी धर्का र पहेंलो पुच्छर भएको सेतो पुतलीबाट लाग्ने यो रोगबाट बच्न त्यस्तो पुतली देखा पर्न सुरु गर्नुअघि नै सचेतना फैलाउनुपर्ने आवश्यकता डा रञ्जुले औंल्याइन् ।

सापु रोग हो कि सामान्य आँखा पाकेको भनेर छुट्याउने सबैभन्दा सजिलो तरिकाबारे डा खरेल भन्छिन्, ‘सापु लाग्यो भने आँखा रातो रातो हुन्छ, तर चिप्रा लाग्दैन ।’ अहिलेसम्म अपवादबाहेक गण्डकी प्रदेशमा मात्रै भेटिएको यो रोग नियन्त्रण र रोकथाममा प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने सरोकारवालाले बताए । डेंगु महामारी वा अरु रोग नियन्त्रण तथा रोकथामका कार्यक्रम सरकारले ल्याएजस्तै सापुका लागि कार्यक्रम चाहिने उनीहरुको भनाइ छ ।

विसं २०३२ मा पोखरामा यो रोग पहिलोपटक देखा परेको थियो । लामाचौरमा देखा परेको यो रोगबारे आँखारोग विशेषज्ञ डा मदन उपाध्यायको टोलीले अध्ययन थालेको थियो । सुरूमा ‘ट्युमर’ भनिएको समस्यालाई पछि डा. उपाध्याय नेतृत्व टोलीको अध्ययनले सिजनल हाइपरएक्युट पानुभिआइटिस (सापु) नाम दिएको हो ।

संक्रमण र लक्षण
सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौं आँखासम्म पुगेमा सापु संक्रमण हुन्छ । संक्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्न सक्छ । प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले तीव्र रूपमा असर गर्छ । यो सरुवा रोग भने होइन । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।

रोकथाम र उपचार
रोगको लक्षण देखिएको २ देखि ४ घण्टाभित्र अस्पताल पुगेमा शल्यक्रिया विना औषधोपचार गरेर रोग निको पार्न सकिन्छ ।

त्यसैले लक्षण देखिएलगत्तै आँखा अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्छ । सन् २०१७ मा गरिएको अनुसन्धानले सेतो पुतलीको सम्पर्कमा पुगेका ७० देखि ८० प्रतिशतलाई सापु रोग लागेको देखाएको थियो । त्यसैले सेतो पुतली भएको ठाउँमा जान नहुने र आफू बसेको ठाउँमा त्यस्तो पुतली आए सजग हुनुपर्ने विज्ञको सुझाव छ । हात वा शरीरका अन्य भागमा पुतली बसेमा वा छोइएमा सफा पानीले पखालिहाल्नु पर्छ ।

तपाईको प्रतिक्रिया