समाजको प्रगति र उन्नतिको बाधक आत्महत्या

केदार खनाल २०८० जेठ ७ गते १२:१४

समकालीन समाजमा आत्महत्या एउटा विकराल समस्याको रुपमा देखिएको छ । आत्महत्यामा व्यक्ति स्वयं संलग्न हुने हुँदा अधिकांश घटनाको दोषभागी पनि सोही व्यक्ति नै हुन्छ । व्यक्तिमा आन्तरिक रुपमा उत्पन्न हुने मनोआवेग, द्वन्द्व र मनोभावनाका विचमा यस्ता घटनाहरु घट्ने गरेको पाइन्छ । व्यक्तिलाई दैनिक जीवनमा आइपर्ने दुख, पीडा, महत्वाकांक्षा, सामाजिक परिवन्ध, संस्कार, परम्परा, वियोग आदि कुराहरुले आत्महत्या गर्न प्रेरित गरिरहेको हुन्छ ।

Advertisement

यसका अलावा व्यावसायिक तनाव, दीर्घरोग, गरिबी र वैदेशिक रोजगारले भिœयाएका समस्यादेखि अव्यवस्थित परिवार, खानपान, व्यवहार आदिले आत्महत्या गर्न मद्दत गरिरहेको पाइन्छ । आत्महत्यामा व्यक्ति स्वंय प्रयोग हुने र आफैलाई तड्पाएर मृत्युवरण गर्ने यो विधा आफैमा सहज भने छैन । एउटा सवल र सक्षम परिवारभित्र कुनै अभिभावक (बाबु वा आमा) कसैले आत्महत्या गर्दा आउने परिणाम भनेको त्यो परिवारको भविष्य अनिश्चित तथा अन्धकारमय हुनु हो ।

परिवारका सदस्यहरुले त्यस्तो घटनालाई जिन्दगीभर कालो दिनका रुपमा सम्झँदै गुजार्नुपर्ने हुन आउँछ भने कल्पना गरिएको उज्वल भविष्यमा एकाएक तुषारापात हुन पुग्छ । परिवार समाजसँग जोडिएको हुन्छ र परिवारको भविष्यमा अवरोध आउनेबित्तिक्कै कुनै न कुनै रुपमा समाजमा त्यसको नकरात्मक असर पर्छ नै ! तसर्थ आत्महत्या समाजको प्रगति र उन्नतिको बाधक बनेको स्पष्ट हुन्छ । यहाँनेर आत्महत्या किन भयो ? भन्ने कुराको उत्तर खोज्दा पनि भेटाउन नसकेको र गहन अध्ययन अनुसन्धान पनि गर्न नसकेको विषयमा आत्महत्या परेको छ ।

Advertisement

गण्डकी प्रदेशमा दैनिक औसत दुईजनाको दरमा आत्महत्या हुनु ठूलो महामारीबाट भएको अस्वाभाविक मृत्युभन्दा कम होइन

आत्महत्याले सामाजिक रुपमा गरेको क्षति त परिपूर्ण हुन सक्दैन । सँगसँगै सामाजिक रुपमा यसले दिने सन्देश तथा समाजको इज्जत प्रतिष्ठामा समेत प्रश्न चिन्ह उठिरहेको हुन्छ । चेतना र अवचेतना बिचको द्वन्द्व त होला तर चेतना नै परास्त भएको अवस्थामामात्र यस्ता घटनाहरु घट्ने हुँदा समाज विकासका पाटोहरुलाई पनि केन्द्रमा राखेर यसबाट उत्पन्न हुने कारण, प्रभाव तथा परिणतिहरुलाई विश्लेषण गर्नुपर्ने हुन्छ । आत्महत्या समाजको चेतना, भूगोल रीतिरिवाजसँग प्रत्यक्ष सम्बन्धित हुने हुँदा यसलाई सामाजिक अपराधको रुपमा लिइएको हुनुपर्दछ ।

हुन पनि आजका दिनसम्म हेर्ने हो भने आत्महत्या गर्नेहरुको संख्यामा गुणात्मक रुपमा वृद्धि हुनाले समकालीन समाज र राज्य व्यवस्थालाई थप चुनौती दिइरहेको पाइन्छ । यसको सहज अवतरण त छैन नै, तैपनि आत्महत्या हुनु पछाडिका विषय र कारणलाई गहन रुपमा अनुसन्धान गरी त्यसको सही र तथ्यगत निष्कर्ष निकाल्न सकियो भने समाज र राज्यले निर्वाह गर्ने भूमिकाले पनि सकारात्मक परिवर्तन आउन सक्थ्यो होला । कुनै व्यक्तिले आत्महत्या गर्ने प्रयास गर्छ तर असफल हुन्छ, यो अवस्थामा राज्य र समाजले उसलाई अपराधीको रुपमा नलिई नकारात्मक भावना र सोचबाट मुक्त गर्दै जीवनको मूल्य पद्धति सिकाउने तर्फ उन्मुख भएका उदाहरणहरु पनि छन् ।

यहाँनेर व्यक्ति स्वंय आत्महत्यामा संलग्न हुँदा पनि उसलाई कानुनी कारबाहीको दायरामा ल्याउँदा उल्टै नकारात्मक सन्देश जान सक्नेतर्फ राज्य व्यवस्था सचेत भएको कुरा तथ्यहरुले पुष्टि गर्दछन । कहिले काहिँ व्यक्ति स्वयंमा पलाएको क्षणिक आवेग र बहुलठ्ठीपनले म आत्महत्या गर्छु भन्दै कहिले डोरी, नाम्लो त कहिले विषादी जस्ता पदार्थहरु लिई आवेगमा ‘पर्ख म मरे पछि तलाई देखाइदिन्छु’ भन्ने इगो पनि राखेको पाइन्छ । त्यस्ता व्यक्तिहरुलाई सम्झाउनुका अलावा समाजले हाँसो र ठट्टाको पात्रको रुपमा चित्रित गरिदिँदा धैर्य, सहास र उत्प्रेरणाका पहलहरु निरीह बन्दा व्यक्ति मानसिक रुपमा झन कमजोर बन्छ ।

हुन त आत्महत्या गरे पछि न उसले ती रुपहरु देख्ने हो, जुन आत्महत्या अगाडि व्यक्त र दृश्यमा थिए । तसर्थ पनि यस्तो आवेग पूर्ण अवस्थामा सामाजिक सद्भाव, माया, प्रेमले उनीहरुको मन परिवर्तन गर्न सक्नु श्रेयस्कर हुन्छ । त्यसैले पनि होला व्यक्ति स्वंयमले गर्ने निरास प्रतिक्रियाको कारक र उत्पन्न परिस्थितिको जिम्मेवार निज व्यक्ति नै हुने हुँदा मनोचिकित्सकहरु यस्तो क्रियाकलापलाई कायरताको संज्ञा दिन्छन् ।

केही वर्षअघिका आँकडाहरुलाई हेर्दा आत्महत्या गर्ने समुह/बर्गमा महिलाको संख्या बढी पाइन्थ्यो । चुलोचौको, गरिब, अशिक्षा, सामाजिक विभेद आदिका कारणबाट महिलाहरु बढिनै पीडित थिए । तर आजका दिनसम्म आइपुग्दा आत्महत्या गर्ने पुरुषहरुको संख्यामा बढोत्तरी भएको छ । अनावश्यक महत्वकांक्षा, अव्यवस्थित खानपान, वैदेशिक रोजगार, आर्थिक क्षेत्रमा आएको उतार चढावको कारण पुरुष व्यक्तिहरुले आत्महत्या गरेको पाइन्छ । अझ यसमा पनि ज्येष्ठ नागरिक ८० वर्ष काटिसकेका पनि परेका छन् ।

परिवारबाट हेलाँ, विविध प्रकारका रोगहरु, एक्लो बसाई आदि कारणहरुले उनीहरुलाई यस किसिमको अपराध गर्न बाध्य बनाएको छ । गण्डकी प्रदेशभित्रको गत दुई आवको आँकडालाई हेर्ने हो भने आत्महत्याको दर घट्ने भन्दा बढ्नेतर्फ नै उन्मुख देखिन्छ । गण्डकी प्रदेशमा दैनिक औसत दुईजनाको दरमा आत्महत्या हुनु ठूलो महामारीबाट भएको अस्वाभाविक मृत्युभन्दा कम होइन ।

मानिसले जन्मेदेखि मृत्यु पर्यन्त शारीरिक विकास सगँसँगै उसले आफूलाई समाजसँग समाहित गर्दै सहज रुपमा जीवनयापन गर्ने प्रयत्न गरिरहेको हुन्छ । त्यस अवस्थामा उसले भोगेको समाज, सामाजिक व्यवहार र परिवेशले गर्दा नै आत्महत्या गर्ने प्रेरित गरिरहेको हुन्छ । त्यसले गर्दा पनि व्यक्तिका दैनिकीहरुलाई परिवार, समाजले सदैव ख्याल राख्न जरुरी छ । अझ अहिलेको पिढि अधिकांश समय विद्युतीय माध्यममा रमाउने हुँदा उसले बाहिरी संसारसँग सरोकार राख्दैन ।

समय सँगसँगै उसमा एकांकीपन बढ्दै जान्छ । यसका आलावा भावनामा बगि जुनसुकै बेला जे पनि गर्न सक्छ । यस्तो परिवेशमा परिवारले आफ्ना बालबच्चाहरुको मनोविज्ञानलाई ख्याल नराखिदिदा पनि ७ वर्षदेखि १५ वर्षभित्रका नाबालिकाहरु समेत आत्महत्या गर्नेको सूचीमा परेका छन् । बाल मष्तिष्कमा पर्ने सुक्ष्म भन्दा सूक्ष्म आरोप तथा नकारात्मक प्रभावहरुले पनि उनीहरुमा वितृष्णा पैदा गर्न सक्छन् । यी र यस्ता कुराहरुमा अभिभावकहरु सदैव सचेत हुन जरूरी छ ।

अन्त्यमा, परिवारभित्र घटेको त्यो कहालीलाग्दो घटना परिवारका सदस्यहरुका लागि जीन्दगीभर पीडादायी बनिरहन्छ । घटना घटेको बर्ष, महिना, दिन, वार, समय र मौषम समेतले सदैव त्यही घटनालाई पुनर्जागृत गरिदिँदा उनीहरुको मनोभावनामा गहिरो चोट थुपारेको हुन्छ । एउटा अस्वाभाविक मृत्युले जीवनभर त्यही दृश्य आँखामा झलझली देखिनुले परिवारको प्रगतिलाई समेत मनोवैज्ञानिक असर गरिरहेको हुन्छ । तसर्थ अनाहक र अकालमा मृत्युलाई नरोजौं, बाचे संसार देख्न पाइन्छ भन्ने चेतनालाई बढीभन्दा बढी जनस्तरमा लगि सचेतना जगाउने कार्यमा समाज र राज्य व्यवस्था जागरुक हुन जरुरी छ ।

(प्रहरी उपरीक्षक खनाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत छन्)

तपाईको प्रतिक्रिया