सम्पादकीय: बिजुली चुलो र अघोषित लोडसेडिङ

समाधान संवाददाता २०८० जेठ ७ गते १२:१६

अचेल निकै चर्चा र बहसमा छ बिजुली चुलो । बिजुलीबाट खाना पकाउन इन्फ्रारेड र इन्डक्सन गरी २ थरी चुलो बजारमा उपलब्ध पनि छन् । तर अझै पनि नेपालीका भान्छामा भने यस्ता चुलोको प्रयोग खासै छैन वा नगन्य नै छ । एक त बजारमा बिजुली चुलो सर्वसुलभ छैन । अर्काे यसबारे नेपालीहरु अभ्यस्त वा विश्वस्त बन्न सकेका छैनन् । खास रुपमा जुन प्रचारात्मक अभियान जरुरी छ, त्यो भएको छैन । बिजुली चुलो मर्मत वा यसका अरु सेवाहरु सहज छैनन् । सरकारले बिजुली चुलो अनुदानमा बाँड्ने भने पनि प्रभावकारी वितरण छैन ।

बिजुली चुलो प्रयोगमा सबैभन्दा ठूलो बाधा त बिजुलीले नै उत्पन्न गरिरहेको छ । नेपालमा २०७३ सालदेखि नै विद्युत भार (लोडसेडिङ) कटौती हटेको भनिएको हो । तर घोषित रुपमा तालिका निकालेर लोडसेडिङ गरिन्थ्यो । त्यस्तो परम्परा अन्त्य भए पनि लोडसेडिङ हटेको छैन, हटेको त केवल तालिकामात्रै हो । झिन्झिन्मा झ्याप्पझ्याप्प बिजुली गइरहन्छ । त्यसो हुँदा पकाउँदा पकाउँदैको खाना बिग्रन्छ । विद्युत उत्पादन नेपालमा निकै धेरै बढिसकेको अवस्थामा बिजुली खपत बढाउनुपर्ने पनि छ ।

विद्युत प्राधिकरण आफै पनि विद्युत खपत बढाउन चाहिरहेको छ ।

Advertisement

उद्योग धन्दाहरु धेरै भए भने विद्युत खपत बढाउन कुनै आइतबार पर्खनु पर्दैन । धरायसी प्रयोगमा पनि विद्युत खपत बढाउनु भनेको देशको उत्पादन खेर जान नदिनुमात्रै होइन, एलपी ग्यासजस्तो आयातित वस्तुमाथिको निर्भरता घटाउनु हो । देशको पैसा विदेश पठाउन रोकिनु पनि हो । प्रत्येक घरमा बिजुली चुलोमा खाना पकाउने हो भने एलपी ग्यासको जस्तो विस्फोट र आगलागीको डर पनि कम हुन्छ ।

बिजुली चुलो ग्यासभन्दा सुरक्षित हुन्छ । पैसाकै कुरा गर्दा एकातिर स्वदेशी पैसा विदेशिन रोकिन्छ भने उपभोक्तालाई पनि सस्तो पर्छ । अहिले एलपी ग्यासको एउटा सिलिन्डको मूल्य १८ सय रुपैयाँ पर्छ । १० रुपैयाँ युनिट छ बिजुलीको महसुल । त्यस हिसाबमा उपभोक्तालाई ग्यासभन्दा बिजुली चुलो नै उपयुक्त हो । घरघरमा बिजुली पुर्याउन वा प्रयोगको वातावरण बनाउन सबैभन्दा पहिला बिजुलीको निरन्तरताको सुनिश्चिता गरिनुपर्छ ।

Advertisement

अर्थात अघोषित लोडसेडिङ अन्त्य गरिनुपर्छ । लोडसेडिङ भइरहेको बिजुली नभएर होइन । बिजुली पर्याप्त हुँदा हुँदै पनि अपर्झट र एक्कासि बिजुली लाइन गइरहन्छ । त्यसरी अपर्झट बिजुली जाने आउने गर्दा काम अधुरो हुने मात्रै नभई विद्युतीय उपकरणहरु बिग्रने पनि हुन्छ । त्यो क्षति उपभोक्ता व्यहोर्न चाहँदैनन् । बिजुलीको प्रसारण लाइनमा गुणस्तर बनाउन जरुरी छ । ट्रान्सफर्मर लगायत उपकरण कम क्षमताका हुनु, पुराना हुनु र कतै बिग्रिहाले तुरुन्तै मर्मत हुने खालका नहुने लगायत समस्या समाधान गरिनुपर्छ ।

तपाईको प्रतिक्रिया