सम्पादकीयः सापुको सतर्कता

समाधान संवाददाता २०८० जेठ ८ गते ११:५९

आँखामा लाग्ने एउटा अनौठो प्रकारको रोगको सकर्तताका बारेमा धेरै कमलाई थाहा छ । हो, सापु भनिने रोग नेपालका मात्रै होइन, विश्वका अरु ठाउँमा पनि देखिएको छैन, मात्रै देखिएको छ त केवल पोखरा र आसपास । पोखरा केन्द्रित यो रोग २०३२ सालमा पत्ता लागेको हो । अनौठो के छ भने यो अंग्रेजी संवतको हरेक बिजोर वर्षमा मात्रै देखिन्छ । जसको आँखामा यो रोग लाग्छ, एउटा आँखामा मात्रै लाग्छ । सामान्य आँखा पाक्ने रोग लागेको होला भनेर उपचार गर्न अस्पताल नपुग्ने हो भने सापुले आँखाको दृष्टि गुमाइदिन्छ । दृष्टिसँगसँगै सापुले आँखा सुकाउँछ र कुरुप पनि पारिदिन्छ ।

भदौदेखि मंसिरभित्र देखा पर्ने यो रोग सेता पुतली (मोथ)का कारण लाग्ने भन्नेचाहिँ पत्ता लागेको छ । तर चिकित्सा विज्ञानले के पत्ता लगाएको छैन भने पुतलीको झुसले लाग्छ कि पुच्छरमा कुनै विष भएर त्यसले लाग्छ । अझ ब्याक्टेरिया वा भाइरस या ढुसी के कारण रोग लाग्छ भन्ने पनि थाहा छैन । जब कारण थाहा हुँदैन, तब उपचार असम्भव हुन्छ । सेतो पुतलीको सम्पर्कका कारण आँखा रातोरातो भयो भने अस्पताल पुगिहाल्नुपर्छ उपचारका लागि । यो रोगको पहिलो विशेषता भनेकै आँखा रातोरातो हुन थाल्नु र चिप्रा नलाग्नु हो । तर सामान्य ठानेर उपचारमा नजानुको परिणामचाहिँ अन्धोपन हो, दृष्टि गुमाउनु हो ।

पोखरा र आसपासका ठाउँमा मात्रै यस्तो रोग देखापर्नुको कारण पनि थाहा छैन चिकित्सा विज्ञानलाई । अनि संघीय सरकारका अधिकारीहरुको पनि खास ध्यान आकृष्ट हुन सकेको छैन । जसरी डेंगु वा अरु कुनै रोगका बारेमा सरकारीस्तरबाट प्रचार प्रसार हुन्छ र सचेतना फैलाइएको हुन्छ, सापुका बारेमा त्यस्तो भएको छैन । सोही कारण उपचारका लागि अस्पताल नपुग्ने गर्दा बिरामीले दृष्टि गुमाउँछन् । परार सालमात्रै पोखरामा २ जनाले एकएक वटा आँखाको दृष्टि गुमाएका थिए ।

Advertisement

धन्न यहाँ हिमालय आँखा अस्पताल छ र यसले नै यो रोग लागेका बिरामीको उपचार गर्छ । तर अस्पतालका चिकित्सकहरु पनि रोग लाग्ने बित्तिकै आएका बिरामीको उपचार सम्भव हुने तर ढिला भए दृष्टि गुम्ने बताउँछन् । उनीहरु पनि यो रोगबारे सर्वसाधारणमा सचेतना पुर्याउनुपर्ने खाँचो औंल्याउँछन् । हो, सेतो पुतली देखिने मौसम सुरु हुँदैछ, त्यसैले अहिल्यैदेखि यो रोगबारे सचेतना फैलाउन जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया