मुस्ताङमा तारा, म्याग्दीमा ठेलो स्पर्धा हुने

समाधान संवाददाता २०८० जेठ ८ गते १३:२६

पोखरा ।
परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा छुट्टा छुट्टै प्रतियोगिता आयोजना हुने भएका हुन् ।

प्रदेश खेलकुद परिषदले स्थानीय परम्परागत खेलहरुको संरक्षण गर्ने वार्षिक कार्यक्रमअन्तर्गत ती प्रतियोगिताका लागि बजेट विनियोजन गरेको हो । यही जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा तारा खेल हुनेछ भने ठेलो जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् ।

परिषदका सदस्यसमेत रहेका शेरचनले तारा र ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्रचार गरिएको बताए । तारा खेलमा ६ जिल्लाको सहभागिता हुने शेरचनले जानकारी दिए । अन्य जिल्लामा खेलाडीलाई समेत सहभागिताका लागि अनुरोध गरिएको उल्लेख गर्दै उनले प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाबाट सहभागिता हुने जनाए ।

Advertisement

प्रत्येक जिल्लाबाट १ टिममा ६ जना सहभागी हुन पाउने छन् । तारा खेलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश नगद ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वश्रेष्ठ धनुर्धरले नगद ५ हजार र विशिष्ट धनुर्धरले नगद ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने ठेलो खेलमा प्रथम, द्वितीय र तृतिय हुने खेलाडीले क्रमश नगद २५ हजार, १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । खेलमा सहभागिताका लागि ३ जनाको नाम परिषदमा पठाउन पत्रचार गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया