परिश्रमीलाई गण्डकी वाङ्मय पुरस्कार

समाधान संवाददाता २०८० जेठ ९ गते १३:०२

पोखरा ।
साहित्यकार नारायण परिश्रमीलाई यस वर्षको गण्डकी वाङ्मय पुरस्कारबाट सम्मान गरिएको छ । गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट लगायतले परिश्रमीलाई नगद २० हजार नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

३ दशकभन्दा बढी समयदेखि साहित्य साधना गर्दै आएका उनको जन्म लमजुङमा २०१० कात्तिकमा भएको हो ।

परिश्रमीका प्रकाशित कृतिमा तीजको कोसेली (तीजका गीत संकलन, २०५०), परिश्रमीका केही गीतहरु (२०५१), खोरिया (कविता संग्रह, २०६०), हुस्सू दलवीरे (गीतिकाव्य, २०६४), जीवनयात्रा (कविता संग्रह, २०६३), अधुरो गाथा (कविता संग्रह, २०६३), रुञ्चे हाँसो (निबन्ध संग्रह, २०६५), परिश्रमीका बाह्र रचना (निबन्ध संग्रह, २०६९), पाखण्डको पर्दाफास (२०७०), आफ्नो सेरोफेरोः आफ्नै परिवेश (समीक्षा संग्रह, २०७३), शृंखला (मुक्तक संग्रह, २०७५), मान्छे (कविता संग्रह, २०७६), व्यक्ति, कृति र संस्कृति (लेख संग्रह, २०७९) आदि छन् ।

Advertisement

प्रगतिशील लेखक संघ नेपाल, जनसाहित्यिक मञ्च नेपाल, साहित्य शृंखला पोखरा, जनचेतना पुस्तकालय रम्घा, लमजुङ आदि संघ, संस्थामा आबद्ध परिश्रमी पोखरेली साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन् ।

९४ औं गोकुल जयन्तीको सन्दर्भमा सोमबार भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । साहित्यकार नुमराज बरालले गोकुल जोशीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । उनले जोशीले जनताका वास्तविक समस्यालाई सिर्जनाको माध्यमबाट अभिव्यक्त गरेको जनाए ।

Advertisement

पुरस्कृत व्यक्तित्व परिश्रमीले जनस्तरबाट दिइने यस खालको पुरस्कारले सर्जकलाई नयाँ ऊर्जा र चुनौती दुवै थप्ने उल्लेख गरे । उनले भने, ‘नाम लेखाउने, किताब बुझाउनुपर्ने जस्ता पुरस्कार मैले दिन चाहिनँ । प्रतिभालाई खोजेर दिइने यस खालका पुरस्कारले सर्जकमा ऊर्जा भर्छन् भने सँगसँगै नयाँ सिर्जना गर्न चुनौती पनि थप्छन् ।’

वाम बुद्धिजीवी रामराज रेग्मी सर्जकले अरुलाई दोष लगाउनुभन्दा आफै‌बाट परिवर्तनको सुरुआत गर्नुपर्ने बताए ।

उनले गोकुल जस्ता प्रतिभाको अनुशरण गर्ने सर्जकको जीवनशैली र लेखनले त्यसको आभास सर्वसाधारणलाई दिनुपर्ने विचार राखे ।

संगमका अध्यक्ष भीम रानाभाटले संस्थाले १२ लाखको अक्षयकोषबाट २ पुरस्कार र अन्य गतिविधि सञ्चालन गरिरहेको जनाए । उनले भने, ‘अब जनस्तरबाटै अक्षयकोष २० लाख बनाउने योजना छ । सबै प्रगतिशील सर्जक र साहित्यप्रेमीको सहयोगको अपेक्षा गरेका छौं ।’

समारोहमा वाम बुद्धिजीवी झलकपाणि तिवारीले संस्थाको अक्षयकोषमा १ लाख प्रदान गर्ने घोषणा गरे । उनले तत्काललाई ५० हजार रुपैयाँ अध्यक्ष रानाभाटलाई हस्तान्तरण गरे ।

कार्यक्रममा संस्थाले प्रकाशन गरेको साहित्यिक पत्रिका गण्डकी संगमको १९ औं अंकको चर्चासमेत गरिएको छ ।

समीक्षक यादवराज उपाध्यायले साहित्यकार कुलप्रसाद खनाल केन्द्रीत नयाँ अंक प्रगतिशील रचनाको एउटा राम्रो संग्रह भएको टिप्पणी गरे ।

कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक विजया सुवेदी, संस्थाका सल्लाहकार रघुनाथ अधिकारी, प्राडा भवानीप्रसाद पाण्डे भास्कर, साहित्यकार कुलप्रसाद खनालकी छोरी सुमन, सचिव नारायण मरासिनी, उपाध्यक्ष पद्यराज ढकाल, संस्थाका अक्षयकोषदाता पीताम्बर नेपाली, वाम बुद्धिजीवी शेषमणि आचार्य लगायतले बोलेका थिए ।

समारोहमा संगम सांस्कृतिक मञ्चको टिमले सांस्कृतिक प्रस्तुति राखेको थियो ।

संगमले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टालाई २०५२ देखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार र क्षेत्रीय तहमा गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ । गोकुल वाङ्मय पुरस्कारको राशि नगद ४० हजार र गण्डकी वाङ्मय पुरस्कारको राशि नगद २० हजार छ ।

गण्डकी वाङ्मय पुरस्कार यसपूर्व भेषजराज शर्मा २०५३, भवानीप्रसाद पाण्डे (भास्कर)– २०५५, दिल साहनी २०५७, कुलबहादुर केसी २०५९, नुमराज बराल २०६१, केदार शर्मा ढकाल २०६३, कुलप्रसाद खनाल २०६५, देवेन्द्र लम्साल २०६७, रविलाल अधिकारी २०६९, पोषराज पौडेल २०७१, गोपीरमण उपाध्याय—२०७३, रविकिरण निर्जीव २०७५ र चिन्तु गिरी–२०७७ पुरस्कृत भइसकेका छन् ।

यस्तै, गोकुल वाङ्मय पुरस्कारद्वारा देवीप्रसाद किसान (केवलपुरे) २०५२, खगेन्द्र संग्रौला २०५४, गोविन्द भट्ट २०५६, श्यामप्रसाद शर्मा २०५८, रमेश विकल २०६०, निनु चापागाईँ २०६२, मोहन वैद्य (चैतन्य) २०६४, आनन्ददेव भट्ट २०६६, घनश्याम ढकाल २०६८, मोदनाथ प्रश्रित २०७०, हरिहर खनाल २०७२, जीवन शर्मा २०७४ र ऋषिराज बराल २०७८ सम्मानित भइसकेको संगमका सचिव नारायण मरासिनीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया