स्वास्थ्य क्षेत्रमा पदपूर्ति पहिलो प्राथमिकता: मुख्यमन्त्री

समाधान संवाददाता २०८० जेठ १० गते १७:२३

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले स्वास्थ्य क्षेत्रमा कर्मचारी पदपूर्ति प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘प्रदेश लोक सेवा आयोग मार्फत कर्मचारी पदपूर्ति गर्दा हामीले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रका कर्मचारीलाई राखेका छौँ,’ उनले भने ‘अन्य क्षेत्रभन्दा यो संवेदनशील हो, यसबारे मैले लोक सेवा र स्वास्थ्य सचिवज्यूलाई भनिसकेको छु ।’

Advertisement

प्रदेश सरकार मातहतका अन्य कार्यालयमापनि कर्मचारी अभाव रहेको बताउँदै उनले क्रमश जनशक्ति व्यवस्थापन गर्दै जाने बताए । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा मंगलबार पोरखामा गण्डकी प्रदेशका स्थानीय तहहरुबीच नवप्रवर्तनात्मक स्वास्थ्य कार्यक्रम सम्बन्धी अन्तत्र्रिmया भएको थियो ।

डायलायसिस सेवाका लागि कोहीपनि बिरामीले पालो पर्खनुनपर्ने गरी प्रदेश सरकारले आगामी वर्षको बजेटबाट व्यवस्थापन गर्न लागेको मुख्यमन्त्री पाण्डेले बताए । आगामी वर्षको बजेटमा ५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका नागरिकहरुको उपचार सेवा निशुल्क गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

अस्पतालहरु, उपचार सेवा, आधुनिक यन्त्र उपकरणको व्यवस्थापन जस्ता विषयमा प्रदेश सरकारले विषेश ध्यान दिने उनले बताए । १५ वेडका अस्पताललाई ५० बेड बनाउने र बिरामीको चाप अनुसार थप सेवा विस्तार गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको उनले बताए ।

‘स्वास्थ्य क्षेत्रमा प्रदेशबाट के कस्ता काम गर्न सकिन्छ हामी स्थानीय तहसँग सहकार्य गरेर र संघीय सरकारसँग समन्वय गरेर अघि बढ्छौँ,’ मुख्यमन्त्री पाण्डेले भने । औषधीहरु स्टोरमा थन्किएर बस्ने, यन्त्र उपकरणहरुक थन्किने तर अस्पतालहरुले नपाउने अवस्थाको तत्काल अन्त्य गर्न उनले स्वास्थ्य मन्त्रालयका सचिव लगायत कर्मचारीलाई निर्देशन दिए ।

Advertisement

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सबैजसो पालिकाका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा भएका नवीनतम् कार्यको विभिन्न स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखहरुले अभ्यास प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया