जब उनी ५ लाखमा ‘बेचिइन्’

समाधान संवाददाता २०८० जेठ ११ गते ११:१०

रिखिराम जिसी/सञ्जय रानाभाट, पोखरा ।
मादी गाउँपालिका तारकाङका सुवास विक कसै गरी वैदेशिक रोजगारीमा जाने सुरसार गर्दै थिए ।

साथीभाइहरुकै सम्पर्कले उनको भेट नारायणगढका राजु श्रेष्ठसँग भयो । राजु दुबई लगिदिन सक्ने थाहा पाएपछि सुवास एक्लै होइन दिदी मीरालाई पनि लैजान इच्छुक बने । राजुले दिदीभाइ दुवैलाई भिजिट भिसामा दुबई उडाए । तर मीरालाई भने दुबईबाट एजेन्टहरुले ओमन पुर्‍याएर घरायसी काममा लगाइदिए ।

मीराले घरायसी काममा निकै दुखहन्डर खेपिन् । पहिलो घरबाट भागिन् । अर्काे घर पनि त्यस्तै पर्‍यो, जहाँ दुख सिवाय केही भएन । दिनरात नभनी काम गरेको गर्‍यै गर्नुपर्ने तर खान भने दिँदै नदिने गरेपछि मीरालाई खपिसक्नु भएको थिएन । भागीभागी हिँड्न थालेपछि घरमालिकले उनलाई उल्टै चोरीको आरोप पो लगाएर जेल हालिदियो । मीरा त्यति बेला छाँगाबाट खसेजस्तो भइन्, जब घरधनीले भन्यो, ‘तँलाई ५ लाख रुपैयाँमा किनेर ल्याएको हुँ ।’

Advertisement

उता भाइ सुवास पनि भनेजस्तो काम नपाएर फर्किएका थिए । दिदी भने सम्पर्कविहीन भइन् । छोरी बेखबर भएपछि घरमा आमा सीताका ओठतालु सुके । नौनारी गले । तै उनी छोरी खोज्न हिँडिन् । ५६ वर्षीया सीता भन्छिन्, ‘काठमाडौंका कुनै ठाउँ खाली भएन, सबै ठाउँ गएँ, दरबारमा पनि उजुरी हालेँ, हनुमान ढोकामा पनि उजुरी हालेँ ।’ उता छोरी मीराले नेपाली दुतावासमा उजुरी गरेको थाहा पाएर रोजगारदाता भन्नेले बेस्मारी कुटपिट गरेछ । मीराको हात त्यही कुटाइले कमजोर भएको आमा सीता सुनाउँछिन् ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का लागि मादी गाउँपालिकामा कार्यरत मनोसामाजिक परामर्शकर्ता सिर्जना गुरुङले मीरा वैदेशिक रोजगारीमा हराएको खबर पाइन् । अनि सामीले दुतावासमार्फत मीरालाई नेपाल झिकायो । ३ वर्षअघि त्यसरी वैदेशिक रोजगारीबाट उद्धार भएकी मीरा अचेल पोखराको जिरो किलोमिटरमा बस्छिन् ।

Advertisement

आमा सीताका अनुसार ३ सन्तानकी आमा मीराका दुख भने उस्तै छन् । श्रीमान्को अत्तोपत्तो छैन, कोठाभाडा तिर्न नसकेर घरभेटीले ताला लगाइदिएका छन् । बुधबार सीता छोरीको त्यो खबर अरुबाटै सुनेर छोरीको कोठा खोल्ने उपाय खोज्दै पोखरा आएकी थिइन् । ‘मलाई प्रेसर छ, सुगर छ, त्यही भएर त्यस्तो खबर छोरीले सुनाइनन्,’ उनले भनिन् ।

सामीले बुधबार पत्रकारहरुसँग गरेको अन्तक्र्रियाका क्रममा सीताले आफ्ना बह कहेकी थिइन् । सामीका कार्यक्रम अधिकृत शिव रेग्मीले गएको साउनदेखि वैशाखसम्म ३ महिला र १५ पुरुष गरी १८ जनाको वैदेशिक रोजगारीबाट उद्धार गरिएको जानकारी दिए । उनीहरुले दुख पाए पनि धन्न स्वदेश फर्किन पाए ।

तर कतिपयले भने उतै प्राण त्याग गरेका पनि छन् । १० जनाको त शव नै ल्याउनुपरेको रेग्मी सुनाउँछन् । ती १० जना गण्डकी प्रदेशको ६ जिल्लाका हुन्, जहाँ सामीको परियोजना चालु छ । ‘दैनिक १५ सय जना नेपाली वैदेशिक रोजगारीमा जान्छन् भनिन्छ,’ रेग्मीले भने, ‘दैनिक ३ देखि ५ वटा त शव नै आउँछ ।’

सामीले वैदेशिक रोजगारीमा जानेहरुको उद्धार, मृत्यु भएकाहरुको शव ल्याउन सहजीकरण र ठगी भए न्यायको पहल र सरकारबाट उपलब्ध हुने राहतका लागि सहजीकरण गर्दै आएको छ । १२३ वटा ठगीका मुद्दामा सहजीकरण ६६ लाख १५ हजार सहजीकरणबाट फिर्ता गरिएको जानकारी रेग्मीले दिए । ‘कतिपयसँग प्रमाण नै हुँदैन र ठगिएको पैसा फिर्ता ल्याउन मुस्किल हुन्छ,’ उनले भने, ‘त्यसैले वैदेशिक रोजगारीमा जाँदा सुरक्षित र वैधानिक बाटो समात्नुपर्छ, पैसा दिँदा प्रमाण राख्नुपर्छ ।’

रेग्मीले मृत्यु १० जनाको शव ल्याउन सहजीकरण तथा तिनका परिवारलाई आर्थिक सहायता बापत २ करोड २९ लाख ८० हजार र उपचार खर्च बापत २८ लाख ५० हजार गरी २ करोड ४१ लाख ४८ हजार प्राप्त गर्न सहजीकरण गरिएको पनि सुनाए । मीरा जसरी ठगिइन्, त्यस्ता ठगीका मुद्दा दिनहुँजस्तो सामीसँग ठोक्किन्छन् ।

गण्डकीका ६ जिल्लाको तथ्यांक अनुसार सबैभन्दा बढी ठगीका मामला कास्कीका देखिएको कार्यक्रम संयोजक कुम गुरुङले सुनाए । सामीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने र त्यसको आम्दानी उद्यमशीलतामा लगाउने परियोजना पनि चलाइरहेको छ । पोखरा ३३ की कमला थापामगर र राधा लामिछाने क्षेत्रीले वित्तीय साक्षरता कार्यक्रमहरु आफूहरुको आँखा खुलेको पनि उक्त अन्तक्र्रियामा सुनाएका थिए ।

तपाईको प्रतिक्रिया