अन्नपूर्ण पदमागमा सिडिओको यात्रा

सुन्दरकुमार थकाली २०८० जेठ १२ गते १२:१५

जोमसोम ।
हिमाली जिल्ला मनाङमा कार्यरत महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) सुप्रभा खनाल ढुंगेल राउन्ड अन्नपूर्ण चक्रिय पदमार्ग अवलोकन गरेकी छन् । सिडियो ढुंगेल अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठकमा सहभागी हुन मुस्ताङ आउने क्रममा नेपालको बहुचर्चित अन्नपूर्ण पदमार्गमा पर्ने थोरङ्ला पासको सेताम्मे हिउँ छिचोल्दै तीन दिन पैदलै बुधबार दिउँसो जोमसोम आइपुगेकी हुन् ।

मनाङ र मुस्ताङको सीमावर्ती क्षेत्र थोरङला पास समुन्द्री सतहदेखि ५ हजार ४ सय १६ मिटर उचाइमा पर्छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बिहीबार भएको अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठकमा सहभागी मनाङका सिडियो ढुंगेलसहितको ९ सदस्यीय टोली मुस्ताङ आइपुगेको हो ।

टोलीमा सिडियो ढुंगेलसहित अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख लेखनाथ गौतम, नेपाल सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरु छन् । ‘सडक मार्ग हुँदै पनि बैठकमा सहभागी हुन मुस्ताङ जाने सकिन्थ्यो,’ सिडियो ढुंगेलले भनिन्, ‘तर अन्नपूर्ण पर्यटकीय पदमार्गको विद्यमान अवस्था र यसको सुधार गर्नुपर्ने आवश्यकता पहिचान गर्न आफुहरुले पैदल यात्रा गरेका हौं ।’

Advertisement

उनले सेताम्मे हिउँ माथिको अन्नपूर्ण पदमार्गमा कठिनपूर्ण पदयात्रा गरेको सुनाइन् । हिमाली जिल्लाको कष्ठकर यात्रालाई आफूले नजिकबाट अनुभूति गर्ने अवसर प्राप्त भएको र यो सधै यादगार रहिरहने उनले उल्लेख गरिन् ।

मुस्ताङ र मनाङ दुबै पर्यटकीय जिल्ला भएको र अन्नपूर्ण पदमार्ग हुँदै सयौं विदेशी पर्यटकले यात्रा गर्ने पदमार्ग सुधार तथा पहिचानका लागि सम्बन्धित निकाय एक्यापको प्रतिनिधि टोलीलाई पनि सँगै लिएर आएको बताइन् । मनाङको जिल्ला सुरक्षा समितिको टोली फर्किदा भने म्याग्दी, पोखरा र लमजुङको बेसीसहर हुँदै जाने छ ।

Advertisement

मनाङ र मुस्ताङबीचको अन्तर जिल्ला सुरक्षा समितिको समन्वय समितिको बैठक पहिलो पटक जोमसोममा बसेको छ ।

बैठकमासुरक्षा अवस्था, अन्तर जिल्ला सुरक्षा चुनौती, सुरक्षाका विषयमा आपसी सूचना आदानप्रदान तथा अन्तरक्रिया, सीमा क्षेत्रमा हुन सक्ने अवैध उत्खनन्, ओसारपसार नियन्त्रण, सीमा क्षेत्रको अवस्था लगायतका बिषयमा छलफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडियो) अनुप केसीले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया