घरभाडा घटाउन अपिल

समाधान संवाददाता २०८० जेठ १२ गते १२:२०

पोखरा ।
पोखराको महानगर क्षेत्रभित्र रहेका रेस्टुरेन्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ ।

सिटी रेवान पोखरा अध्यक्ष दीपक तिमिल्सनाले बिहीबार पत्रकारसँग कुरा गर्दै घरभाडा आधा बनाइदिन घरधनीहरुलाई अपिल गरेका हुन् । आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने तर्क गरे ।

‘एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने भएका छन्,’ उनले भने, ‘त्यसैले व्यवसायी बचाउनका लागि घरभाडा आधा घटाऔं । यसो गर्‍यौं भनेमात्र व्यवसायी बचाउन सकिन्छ ।’ उनले घरभाडा नघटाउने हो भने व्यवसायरुले व्यवसाय छाड्नुपर्ने स्थिति आउने चेतावनी दिए ।

Advertisement

‘व्यवसायी बचे न घरधनीले घरभाडा पाउने हो,’ उनले भने, ‘नत्र घरभाडा तिर्नै नसक्ने भएपछि घर छाडेर पलायन हुनुको विकल्प छैन ।’ अध्यक्ष तिमिल्सिनाले पोखरा महानगर क्षेत्रका रेस्टुरेन्ट तथा बारहरुको अवस्था नाजुक रहेको बताए । कतिपय बैंकको ब्याजदर र किस्ता तिर्न नसकेर त कतिपय घरभाडा तिर्न नसकेर व्यवसायी पलायन हुन थालेको उनको दाबी छ ।

हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेको उनले सुनाए । उनका अनुासर झण्डै त्यति नै पलायन हुने स्थितिमा छन् । घरभाडा नघटाउने हो भने जेनतेन धानिएका ती रेस्टुरेन्ट तथा बारहरु असार मसान्तसम्ममा बन्द हुने स्थितिमा पुग्ने उनको चेतावनी छ ।

Advertisement

तपाईको प्रतिक्रिया