
नवलपुर ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी छ ।
कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुंगा सडक योजनाका प्रमुख शंकर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको जनाए । ‘एक्जिम बैंक अफ इन्डियाको ५ अर्ब ऋण सहयोगमा यस खण्ड निर्माणको काम सुरु भएको थियो’, उनले भने, ‘योजनाको म्याद यही जेठ ३० गतेसम्म छ, जम्मा १ सय ३१ किलोमिटर खण्डमध्ये हालसम्म १ सय १५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।’
पाल्पामा ४ किलोमिटर तथा बाँकी नवलपुर खण्डमा कालोपत्र गर्न बाँकी रहेको योजना प्रमुख पौडेलले बताए ।
‘बाँकी रहेको कालोपत्र तथा रोड मार्किङको काम अबको १५/२० दिनभित्र सकिन्छ’, उनी भन्छन्, ‘तर गैँडाकोट–राम्दी खण्डका विभिन्न छ स्थानमा गरी एक हजार आठ सय मिटर खण्डमा पहिराका कारण कालोपत्रको काम गर्न सम्भव छैन ।’
यस खण्डमा ठूला ४ र साना २ पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्रका लागि पछि ठेक्का आह्वान गरिने योजना प्रमुख पौडेलले उल्लेख गरे । लामो समय भइसक्दासमेत गैँडाकोटको ढोडेनी क्षेत्रको सडक किनारमा रहेका रूख कटानका लागि वन विभागबाट अनुमति नपाइएकाले रूख नकाटी सडक कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
‘७ मिटर चौडाइ रहेको यस सडकमा नवलपुरको गैँडाकोटबाट पाल्पाको राम्दीसम्म नै सवारीसाधन सञ्चालन भइरहेको छ । यस सडकमा रुट परमिट छैन तर स्थानीयवासीको सहजताका लागि सवारीसाधन सञ्चालन भइरहेका छन्’, योजना प्रमुख पौडेलले भने, ‘सडक निर्माणको काम इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले गरेकाले योजनाको म्याद सकिनासाथ पुनः अर्को ठेक्का आह्वान गरेर पहिरो भएको स्थानमा पहिरो रोकथामसँगै कालोपत्र सुरु गरिनेछ ।’
योजनाको समग्र प्रगति आधा
नवलपुरको गैँडाकोटबाट उत्तरमा चीनको कोरला जोड्ने नाकाका रूपमा रहेको यस सडकको दक्षिण खण्डको समग्र प्रगति ५० प्रतिशत भएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुंगा सडक योजनाका योजनाप्रमुख शंकर पौडेलका अनुसार ४ सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि २ कार्यालयबाट काम भइरहेको छ ।
गैँडाकोट–राम्दी–मालढुंगा (दक्षिण) खण्डको २ सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुंगा–कोरला (उत्तर) खण्डको २ सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ । ‘गैँडाकोट राम्दी मालढुंगा सडक अन्तर्गत राम्दी–रानीमहल खण्डमा ट्र्याक खोल्ने काम सकिए पनि यहाँ यातायात सञ्चालन गर्न सकिएको छैन’, पौडेलले भने, ‘यो खण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौँ ।’
पर्वतको फलेवास खण्डमा १४ किलोमिटर सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का आह्वान गर्नुपर्ने देखिएको उनले सुनाए । तराईलाई हिमाली जिल्लासँग जोड्ने कालीगण्डकी करिडोरको ८० किलोमिटर सडक नवलपुर खण्डमा पर्दछ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया