सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी

समाधान संवाददाता २०८० जेठ १४ गते १६:१०

पोखरा ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा १२ र १३ गते प्राज्ञिक लेखन कार्यशाला तथा भाषा साहित्य विषयक गोष्ठी सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालयका उपकूलपति प्राडा प्रेमनारायण अर्यालले भाषा, साहित्य र कला राष्ट्रका गहना भएको बताए । उनले निरन्तरको अध्ययन र अनुसन्धानबाट मात्र नयाँ नयाँ ज्ञानको निर्माण हुने र यसले समाज रूपान्तरणमा सहयोग मिल्ने धारणा राखे । धर्म र कर्म भनेकै नैतिकता र सदाचार भएको बताउँदै यसलाई सदैव ख्याल गर्नुपर्नेमा उनले जोड दिए । गोष्ठीले सहभागीहरूको अनुसन्धान क्षमता वृद्धि गर्नमा सहयोग पुग्ने अर्यालले विश्वास व्यक्त गरे ।

कार्यक्रमको पहिलो सत्रमा अनुसन्धान कार्यशालामा अनुसन्धान पत्र लेखनका सैद्धान्तिक र व्यावहारिक विषयमा विमर्श भएको थियो । सहप्रा दीपेन्द्र पराजुली र उपप्रा हिममाया पौडेलले सहजीकरण गरेका थिए ।

Advertisement

दोस्रो सत्रमा सहप्राडा नवराज न्यौपाने र उपप्राडा पीताम्बर पौडेलले अनुसन्धानात्मक लेख प्रकाशन प्रक्रियामा देखिने समस्या र समाधानका उपायका बारेमा तालिम दिएका थिए ।

अनुसन्धानात्मक लेख लेखन र प्रकाशन दुवै चुनौतीपूर्ण र गौरवमय कार्य भएकाले यसमा शोधार्थीको अध्यवसाय आवश्यक पर्ने बताए ।

Advertisement

छलफलमा सहप्राडा लक्ष्मीशरण अधिकारी, सहप्रा दीपेन्द्र पराजुली र उपप्रा। सविन्द्रराज भण्डारीले “साहित्यमा उत्तरआधुनिकता र वर्तमानमा यसको उपयोग” शीर्षकमा आआफ्नो विचार राखेका थिए । डा सविन्द्रराज भण्डारीले सम्बन्धित विषयमा केन्द्रित रही अवधारणा प्रस्तुत गरेपश्चात् समूह छलफललाई सघन बनाइएको थियो ।

उत्तरआधुनिकता पछिल्लो समयमा विभिन्न क्षेत्रमा देखापरेको वाद भएको तथा वर्तमानमा मेटामोडनिज्म र ट्रान्समोडनिज्म आइसकेका सन्दर्भमा साहित्यमा उत्तरआधुनिकताको प्रभाव र वर्तमानमा यसको सान्दर्भिकताबारे बहस गरिएको हो ।

सहभागीले यस वादको प्रभावलाई समाज र जीवनसँग जोडेर जिज्ञासा राखेका थिए । समूह छलफलको सहजीकरण उपप्राडा भूमिराज बस्ताकोटीले गरेका थिए । प्राडा शालिग्राम सुवेदीले “संस्कृत र नेपाली भाषाका उपसर्गमा रहेको भिन्नता” लाई स्पष्ट पारे । उनले पाणिनीय व्याकरणमा २२ ओटा उपसर्गको उपयोग पाइने र संस्कृत व्याकरणमा यसैलाई आत्मसात् गरिएको तथा नेपाली भाषामा आगन्तुक उपसर्गसमेत जोड्दा उपसर्गको संख्या बढ्न सक्ने बताए । उनले संस्कृतमा उपसर्ग निश्चित र दोषमुक्त भएका तथा नेपालीमा उपसर्ग अनिश्चित र दोषयुक्त भएकाले नेपालीमा उपसर्गको तथ्यपरक अध्ययन गरेर सङ्ख्या निर्धारण गर्न आवश्यक रहेको स्पष्ट पारे ।

प्राडा कुसुमाकर न्यौपानेले कार्यक्रमले शोधार्थीमा ज्ञानको क्षितिज फराकिलो हुने बताए । उपप्रा गोविन्दप्रसाद गैरे र उपप्रा नारायणी पौडेलले कार्यशाला र गोष्ठीबाट सिकेका अनुभवलाई आफूले कार्यक्षेत्रमा उपयोग गर्न आतुर रहेको धारणा राखे । उनीहरूले कार्यक्रम रोचक र फलदायी भएकाले यस्ता कार्यक्रमको निरन्तरताका लागि पनि सुझाव दिए ।

कार्यक्रममा सहप्रा अम्बिकाप्रसाद भट्टराईले गीत तथा उपप्रा। सुरज पौडेलले मुक्तक सुनाएका थिए । त्यसै गरी सहप्रा आनन्दमणि रिजाल, प्राडा यमबहादुर पौडेल क्षेत्री, उपप्रा सञ्जिव खनाल, उपप्रा सुलोचना खनाल, साहित्यकारहरू तारा पाखे, डा टिकाराम आरुणी, गणेश चालिसे, सागर पनेरु, मणि डुम्रे लगायतले भाषा साहित्य र अनुसन्धानका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा चार ओटा गोष्ठी सत्रको अध्यक्षता क्रमशः सहप्राडा भानुभक्त शर्मा कँडेल, सहप्राडा वासुदेव भण्डारी, प्राडा जगन्नाथ रेग्मी र सहप्राडा यमनाथ तिमिल्सिनाले गरेका थिए भने उद्घाटन सत्र र समापन सत्रको सभापतित्व संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माले गरेका थिए । स्वागत मन्तव्य उपप्रा हरिश्चन्द्र भण्डारी र कार्यक्रमको सञ्चालन उपप्रा द्वय गंगाराम पौडेल र मदनप्रसाद बरालले गरेका थिए । कार्यक्रममा करिव ७० जनाको उपस्थिति रहेको आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया