सामाजिक सुरक्षा योजना कार्यान्वयनको लागि अभियान

समाधान संवाददाता २०८० जेठ १४ गते १७:००

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटीले १८ औं स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

श्रमका सम्मान र मर्यादित काम सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य नन्दकला नेपालीले मजदुरमैत्री कानुन निर्माणमा ध्यान दिने बताइन् । उनले मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्न पर्ने उल्लेख गरिन् ।

नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले सरकारले २०७५ मंसिर ११ गते देखि लागु गरेको सामाजिक सुरक्षा योजना कार्यान्वयनको लागि दबाबमुलक कार्यक्रम गरेको बताए । उनले श्रम ऐन तथा सामाजिक सुरक्षा योजनामा समेटिएको सवालबारे आम मजदुर जानकार हुनु पर्ने चर्चा गरे । उनले मजदुर संगठित र सचेत भएर काम गरेमात्र हक अधिकार प्राप्त गर्न सकिने उल्लेख गरे ।

Advertisement

संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी इञ्चार्ज विष्णुबहादुर पराजुलीले सार्वजनिक यातायात क्षेत्र सुधारको लागि यातायात व्यवसायी तथा मजदुरले आन्दोलन गरेको बताए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिंह गुरुङ, गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसी, पूर्व सल्लाहकार ईन्द्रबहादुर गुरुङ, गण्डकी प्रदेश कमिटीका सदस्य तथा निजी तथा आवासीय विद्यालय महानगरकमिटीका ईञ्चार्ज भीमबहादुर शाह,महानगर कमिटीका अध्यक्ष रुद्रमान प्रधान, उपाध्यक्ष कृष्णप्रसाद बांस्तोला, सचिव महेन्द्रराज पराजुली, युनिप्स कास्कीका अध्यक्ष शान्तबहादुर गुरुङ, क्युपेक नेपाल पोखरा महानगरकमिटीका अध्यक्ष सूर्यप्रसाद उपाध्याय, लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सके यातायात क्षेत्रमा समेत पेन्सनको व्यवस्था हुन सक्ने तर्क गरे ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश शाहले उद्घाटन गरेको कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी निरीक्षक प्रविण आचार्यले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरणको विषयमा प्रशिक्षण दिए । कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शाहले सवारी ऐन नियमको पालना गरे ट्राफिक व्यवस्थापनमा सहज हुने बताए ।

‘सवारी चालक, पैदलयात्री लगायत सरोकारवाला सबैले सवारी ऐन नियमको पालना गरे तपाई हामी सबै सफल हुन्छौं,’ उनले भने, ‘सबै सरोकारवाला जिम्मेवारी र जवाफदेही भए सवारी दुर्घटना न्युनिकरण गर्न सकिन्छ ।’ उनले यातायात मजदुर र ट्राफिक प्रहरीको कायक्षेत्र सडक भएको उल्लेख गरे । उनले ट्राफिक प्रहरीको पहिलो साथी यातायात मजदुर भएको बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी इञ्चार्ज विष्णुबहादुर पराजुलीले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरणको लागि संगठनले ‘म जिम्मेवार यातायात मजदुर’ भन्ने सचेतना मुलक कार्यक्रम चलाएको जानकारी दिए । संगठनका गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर केसीले संगठनले ट्राफिक प्रहरीसँग दशैं तिहार छठ लगायतका चाड पर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको लागि साझा प्रस्तावपत्र अनुसार काम गर्ने बताए ।

कार्यक्रममा संगठनका गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष श्यामकुमार बजगाईं, पोखरा बस महानगर कमिटीका अध्यक्ष बेनीराज थिङ, सचिव किशोर घिमिरेले सवारी दुर्घटना न्युनिकरणको लागि सक्रियता पूर्वक लाग्ने बताए । प्रशिक्षणमा पोखरा नगर बसमा कार्यरत १सय ४ यातायात मजदुरको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया