सम्पादकीय: गणतन्त्र दिवसको शुभकामना

समाधान संवाददाता २०८० जेठ १५ गते १२:००

२०६५ जेठ १५ को घोषणा भएको गणतन्त्र अझै वामे सर्दैछ । यसको संस्थागत विकास निरन्तर गरिरहनुपरेको छ । १५ वर्षे गणतान्त्रिक अनुभव भने आशानुसार सुखद छैन । जनअपेक्षाको उचाइ धेरै र जनताको जीवनस्तर उस्तै हुँदा अनुभूति सुखद हुन नसकेको पनि हो । २४० वर्ष पुरानो राजसंस्था फालेर जनताकै सन्तान मुलुकको सर्वाेच्च पद राष्ट्रपति हुने व्यवस्था पनि जनताले सुखद अनुभूति गर्न नसक्नु भनेको राजनीतिक अस्थिरता हुनु हो ।

Advertisement

जनताले राजनीतिक व्यवस्थाको परिवर्तनपछि आर्थिक समृद्धिको अपेक्षा गरेका हुन् । तर आर्थिक एजेन्डा गणतान्त्रिक सरकारहरुका प्राथमिकतामा परेनन् । राजनीतिक क्रान्तिपछिको क्रान्ति आर्थिक क्रान्ति हुनुपर्ने थियो । तर सत्ताको लुछाचुँडीमै राजनीतिक दलहरुको म्युजिक चियर गेम चलेको चल्यै गरिरहेको छ । सत्ताका लागि मात्रै भइरहेको खेलकुदले नै गणतान्त्रिक व्यवस्थाप्रति नकारात्मक भावना वृद्धि हुँदैहुँदै गएको छ ।

२०७२ सालमा लिखित नेपालको संविधानले गणतान्त्रिक मात्रै नभई समावेशी लोकतान्त्रिक संघीय व्यवस्था परिकल्पना गरेको छ । तर, संघीयताको प्रतीक सरकार प्रदेश सरकारहरु प्रभावकारी हुने गरी अधिकार सम्पन्न बनाइएको छैन । त्यसले पनि समग्रमा गणतान्त्रिक व्यवस्थालाई नै चुनौती दिएको छ । जनभावना एकातिर र प्रदेश सरकारका गतिविधि अर्कातिर भइरहेका छन् ।

राजनीति यति धेरै धमिलो भइरहेको छ कि यस्तो बेला पुनरुत्थानवादी शक्तिसमेत जुर्मुराएको अनुभूत हुँदैछ, धमिलो पानीमा माछा मार्ने प्रयास जो देखिन्छ । यही बेला लोकप्रियतावादी शक्ति पनि देखापरेको छ, जसको गणतन्त्र, संघीयता र समावेशिताप्रति कुनै प्रतिबद्धता र लगाव देखिन्न । नेपाली जनताले ७० वर्षको संघर्षपछि प्राप्त गरेको व्यवस्थाप्रति त्यस्तो शक्तिको पनि प्रष्ट धारणा नहुनुसमेत दुखद हो ।

गणतन्त्रको प्रतीक संस्था राष्ट्रपतिको जिम्मेवारीमा रहेका अहिलेसम्मका व्यक्तित्व विवादरहित बन्न सकेनन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलका आगामी भूमिकाको कसीमा पनि गणतन्त्रको ओज जाँचिनेछ । पक्कै पनि उनले विगत बिर्साउने गरी तटस्थ भूमिका उनले निर्वाह गर्नुपर्छ । उनले संवैधानिक भूमिका रहेर राष्ट्रको अभिभावकत्व निर्वाह गर्दा नै यो संस्थाको गरिमामात्रै बढ्ने छैन, गणतान्त्रिक व्यवस्था झन् बलियो हुनेछ ।

Advertisement

राजनीतिक व्यवस्था स्थिर र सबल भइदिँदा सरकारले जनताका दैनन्दिन समस्या समाधान गर्दै दीर्घकालीन योजना कार्यान्वयन गर्न अग्रसर बन्न सक्छ । त्यो नै गणतन्त्रका लागि सुखद पक्ष हुनेछ । देशले शान्ति र समृद्धि हाँसिल गर्नेछ । गणतन्त्र दिवसलाई यिनै मर्मका साथ मनाउनु उत्तम हुन्छ । गणतन्त्र दिवसको शुभकामना ।

तपाईको प्रतिक्रिया