कालिदास जस्तो करामत !

विपद् होस् कि विजयोत्सव, दुविधा होस् कि आत्मनिर्णय, जुनसुकै बेला मानिसलाई ऊर्जा भर्ने खालका पौराणिक र लोककथाहरु प्रचलित छन् । महान् कवि बन्नुअघि कालिदास निकै मूर्ख थिए भन्ने लोककथा छ ।
कुनै बेला रुखको हाँगाको टुप्पातिर बसेर फेद काट्ने कालिदास जस्तै विवेक भएकाहरु अझै यो पृथ्वीमा धेरै छन् । विडम्बना थोरैमात्र थाहा नपाएर कालिदास जसरी फेद काट्ने छन्, धेरैजसो आफ्नोमात्र स्वार्थ पूरा गर्न अरुलाई कष्टको चक्रव्यूहमा होम्नेहरु छन् । अहिले फेवाको सिरानतिर कालिदासकै क्रियाकलाप दोहोरिएको छ । फेवातालको सौन्दर्य र लोकप्रियता बेचेर कमाउन त्यहाँ प्लटिङ गरिँदै छ । घर वा होटल, रिसोर्ट बनाएर पैसा कमाउने लक्ष्य राखिएको देखिन्छ ।
सिमसार क्षेत्र पुरेर घर, घडेरी संरचना बन्दा तालको आयु छोटिँदै जान्छ । प्राकृतिक अतिक्रमणले खुम्चिँदै गएको ताल यस्ता मानवीय कर्मले अझ पुरिन्छ ।
बिडम्बना के छ भने यहाँ स्थानीयले नै कुनै निर्माण व्यवसायीलाई लोभलाग्दो रकम दिएर सिमसार बनाउन लगाएका छन् । सम्पदा संरक्षणमा स्थानीय नै उदासिन हुँदा निकै कठिन हुन्छ । लामो समयदेखि सिमसार पुर्ने काम भइरहँदा पनि रोक्न प्रभावकारी कदम चालिएको पाइँदैन । यतिसम्म कि सर्वाेच्च अदालतले ३ तहले सरकारलाई जिम्मेवारी तोकेर दिएका आदेशसमेत पूरा भएका छैनन् ।
ताल जोगाउने नाममा प्रदेश सरकारले ताल प्राधिकरण बनाएको छ, केन्द्रको पर्यटन मन्त्रालयले पनि फेवा सौन्दर्यीकरणको कुरा गर्छ, पोखरा महानगरलाई चिनाउने त यो मुख्य स्थल नै भइहाल्यो । सबै पक्ष जानकार हुँदाहुँदै पनि तालमा अतिक्रमण नरोकिने उदेकलाग्दो विषय हो । तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु भन्ने स्तरको कारवाहीले ताल जोगिन सक्दैन ।
महानगरले फेवाको सिमसार क्षेत्रलाई जग्गा वर्गीकरण गर्दा बसोबास क्षेत्रमा राखेको बताइन्छ । त्यो सत्य हो भने जनप्रतिनिधिले तालको भविष्यमाथि खेलबाड गरेका छन् । डाँडा काटेर सिमसार धमाधम पुर्दा पनि प्रदेश राजधानी, देशकै मुख्य सहरमध्येको एक पोखरामा सरकारले रोक्न सकेन भन्नु कि सरकारको लाचारी हो, कि मिलेमतो नै हो भन्ने कुरामा बल पुर्याउँछ ।
अझ ताल पुर्ने निर्माण व्यवसायीले काठमाडौंका स्थापित र चर्चित मिडियाबाट आफूले काम गर्न नपाएको भन्दै अन्तर्वार्ता दिएको देखिएको छ । स्थानीयले सिमसार पुरेर खडेरी त बनाउँला, पैसा पनि कमिएला । निर्माण व्यवसायीले लोभलाग्दो पैसा पनि पाउँलान् । तर, यस्तो कर्मले फेवाको आयु छोटिन्छ । लेक नै नरहे लेकसाइड र वरिपरिको पर्यटन के रहला, त्यहाँको रमझम, आकर्षण कस्तो बन्ला ? एक्काइसौं सदीका हामी पोखरेलीमा फेवा संरक्षण गरी प्राकृतिक सौन्दर्य कायम राख्ने दायित्व छ । एक छिनका लागि कालिदासको जस्तो रमाइलो नखोजौं ।
तपाईको प्रतिक्रिया