४३ युनिट रगत संकलन

समाधान संवाददाता २०८० जेठ १६ गते १३:३४

पोखरा ।
१६ औं गणतन्त्र दिवसको अवसरमा सिर्जना विकास केन्द्रले सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ ।

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ भएको कार्यक्रममा ४३ युनिट रगत संकलन भएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंम्खडाले रक्तदाता तथा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान सुरुआत गरिन् ।

Advertisement

उनले प्रदेश सरकारले सबै रक्त सेवा निशुल्क गर्न नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गरेको बताइन् । उनले सामाजिक संघ, संस्थाले मानवीय विकासको क्षेत्रमा गरेका कार्यक्रममा सहकार्य गर्ने उल्लेख गरिन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्माले रेडक्रसले रगत संकलन, भण्डारण र वितरणको जिम्मेवारी पूरा गरेको बताए । उनले कास्कीका करिब ४ सय सामाजिक संघ, संस्थाले नियमित रक्तदान गर्ने गरेको जानकारी दिए । शर्माले रक्त सञ्चार केन्द्र पोखराले वार्षिक रुपमा ३० हजार युनिट रगत संकलन गरेको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा रक्तदानको क्षेत्रमा उल्लेखनीय काम गर्ने आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिश्चन्द्र शर्मालाई सम्मान गरियो । कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, केन्द्रका सल्लाहकार गणेशबहादुर अधिकारी, सिर्जना बाल गृहका संयोजक सोमनाथ बराल, पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा सदस्य पवित्रा केसी, सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेल, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिव विश्व श्रेष्ठ, कार्यसमितिका सदस्य तथा कार्यक्रम संयोजक सावित्री बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया