गणतन्त्रको विरोध गर्दै राप्रपाको स्थापना दिवस

पोखरा ।
गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रीय ३४ औं स्थापना दिवस मनाएको हो ।
पार्टी कार्यालय अमरसिंहमा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष एवं गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिक मन्त्री पञ्चराम गुरुङले गणतन्त्र दलालहरुका लागि मागी खाने भाँडो भएको बताए । ‘यो गणतन्त्र दलाल भ्रष्टहरुका लागि मागी खाने भाँडो भएको छ । काँग्रेस, एमाले र माओवादी मिलेर देश बेचिसके । देशको अस्मिता जोगाउने जिम्मेबारी अब हाम्रो काँधमा छ,’ उनले भने ।
गुरुङले संघीयता देशका लागि घातक सावित भएको उल्लेख गरे । खासगरी उनले प्रदेश संरचनाको औचित्य माथि प्रश्न उठाएका हुन् ।
गण्डकी प्रदेश सांसद विन्दु पहारीले गणतन्त्र पार्टीको सिद्धान्त विपरीत भएको बताइन् । ‘जाति र धर्मका नाममा देश टुक्राउने खेल भएको छ । यसमा हामी सचेत हुनुपर्छ । देश जोगाउने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ,’ उनले भनिन् ।
राप्रपाका केन्द्रीय सदस्य डा.महेन्द्रबहादुर कार्कीले गणतन्त्रवादीहरुलाई राष्ट्रबाट लखेट्नुपर्ने बताए । केन्द्रीय सदस्य जयलाल पुनले कांगे्रस, एमाले र माओवादी विदेशको एजेन्ट भएको उल्लेख गरे । सुशीला केसी अधिकारीले देशमा राजा किन भन्ने विषयलाई युवाहरु माझ लानुपर्ने आवश्यकता रहेको बताइन् ।
राप्रपा पोखरा महानगरपालिकाका अध्यक्ष महेश्वर आचार्यले २०८४ को आम निर्वाचनमा दुई तिहाई ल्याएर राप्रपाको एकल सरकार बनाउने र गणतन्त्र दिवस खारेज गर्ने ध्येयका साथ अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याए ।
राप्रपा महिला संघकी केन्द्रीय महासचिव रञ्जु सेनले हिजोको गल्तीलाई सच्याउँदै आगामी योजना तय गर्नुपर्ने बताइन् । राप्रपा भूपूसैनिक संघका अध्यक्ष गणेशबहादुर पौडेल क्षेत्रीले गणतन्त्रको नाममा लुटपाट मच्याउने हरुलाई धपाउनुपर्ने बेला आएको बताए । राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले युवाहरुलाई पार्टीभित्र आर्कषित गराई परिमार्जित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा ४५ जनाले राप्रपा प्रवेश गरेका छन् । राप्रपा प्रवेश गर्दै सुरज हमालले पार्टीको सिद्धान्त र विचार मन परेका कारण नै आफू आबद्ध भएको उल्लेख गरे ।
राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले सञ्चालन गरेको कार्यक्रममा राप्रपा युवा संघ कास्कीका अध्यक्ष सोपन भुजेल र राप्रपा कास्कीका उपाध्यक्ष शालिकराम घिमिरे लगायतले बोलेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना ३४ वर्षअघि २०४७ साल जेठ १५ गते भएको थियो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया