कर्मकाण्डी बन्ने कि चुलीमा पुग्ने ?

तीर्थ श्रेष्ठ २०८० जेठ १६ गते १६:२३

मान्छेलाई मोहले तान्छ भन्छन् । म मोहले तानेर यहाँ उपस्थित भएको छु । जान्ने भएर उपस्थित भएको होइन । पत्रकारितासम्बन्धी औपचारिक अध्ययन मैले गर्न पाइनँ । तर, जिन्दगीको अत्यन्त ऊर्वर समयमा मैले पत्रकारिता गरेँ । २०३४/३५ सबाट २०४१ सम्म राष्ट्र पुकार साप्ताहिक (त्यो बेलामा नेपाली कांग्रेसको मुखपत्र पनि भन्ने गरिन्थ्यो ) को संवाददाताका रुपमा काम गर्ने अवसर पाएँ ।

त्यो बेलामा केही असल पत्रकारको संगत भयो । मसँगै त्यो बेलामा दुर्गा बराल ‘वात्स्यायन’ ले राष्ट्र पुकारमा कार्टुनहरू पठाउने गर्नुहुन्थ्यो । अत्यन्त कठीन समय थियो । समाचार हुलाकबाट पठाउँदा लामो समय लाग्थ्यो । अनि त्यो समाचार र कार्टुन दुवै पठाउन हामी साइकल चढेर एयरपोर्टसम्म पुग्थ्यौं । एयर डकुमेन्ट गरेर काठमाडौं पठाउने गथ्र्यौं । फ्याक्सको जमाना पनि थिएन । अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन ।

र, त्यो बेलाको पत्रकारिता मिसन पत्रकारिता थियो ।

Advertisement

प्रजातन्त्र पुुनस्र्थापनाका निम्ति लडाईंको मोर्चाका रूपमा हामीले पत्रकारितालाई लिएका÷ ग्रहण गरेका थियौं ।

त्यसको एउटा मोह मसँग अझै बाँकी छ । सँगसँगै नेपाल प्रेस युनियनसँग पनि सम्बन्ध र साइनो छ ।

Advertisement

युनियनको काठमाडौंमा पहिलो अधिवेशन भयो । पहिलो अधिवेशनमा हरि अधिकारी अध्यक्ष हुनुभयो ।

त्यसपछि दोस्रो अधिवेशनमा सहभागी हुन म पुगेको थिएँ । पोषनाथ शर्मा पुग्नुभएको थियो । अहिले नेपाली फिल्म जगतमा चरित्र अभिनेताका रूपमा चीरपरिचित प्रकाश घिमिरे पुग्नुभएको थियो । दुर्गा बराल पुग्नुभएको थियो । हामीले त्यहाँ रमेश तुफानको अध्यक्षतामा कार्यसमिति गठन गरेका थियौं ।

तपाई सत्यप्रतिको निष्ठाबाट विचलित हुनुभयो भने मलाई लाग्छ, पत्रकारिता सम्भव छैन

कुनै समय म पत्रकारितामा संलग्न थिएँ । पोखराकै जनमत दैनिक, पर्यवेक्षक साप्ताहिको स्तम्भ लेखकका रूपमा पनि म जोडिएको थिएँ । अहिले पनि एक ढंगले पत्रकारितासँग जोडिएको छु । धेरै पत्रकार साथीहरू विभिन्न विषयमा सोध्न आउने गर्नुहुन्छ । एउटा समय त यस्तो पनि थियो–कतिपय नयाँ पत्रकार भाइबहिनीलाई समाचार लेख्न सिकाउने काममा पनि संलग्न भएको थिएँ ।

मलाई पत्रकारिता भनेपछि पूर्वीय सभ्यतामा पत्रकारको भूमिका निर्वाह गर्ने को थिए भन्ने विषयवस्तुतर्फ जानुपर्छ कि भन्ने लाग्छ । सनातन वैदिक संस्कृतिमा विभागहरु छुट्याइएका छन् । देवता र देवीको विभाग छुट्याउँदा अत्यन्त महत्वपूर्ण मन्त्रालयचाहिँ महिलालाई दिइएको छ । शिक्षा मन्त्रालय सरस्वतीलाई दिइयो, अर्थ लक्ष्मीलाई, रक्षा भगवतीलाई दिइयो । सञ्चार नाराद मुनिले पाए ।

नाराद सम्भवतः हाम्रा त्यस्ता पात्र हुन्, जसले सूचना संवाहकका रूपमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हामीले महाभारतका कथाहरू पढेका छौं । महाभारतमा कृष्णजीको भूमिका झण्डै तटस्थ थियो ।

मलाई छान्छौ कि मेरो एक अक्षौहिणी सेनालाई छान्छौ भन्दा दुर्योधनले कृष्णलाई छानेनन् । अर्जुनले कृष्णलाई छाने । तर, प्रत्यक्ष म युद्धमा सहभागी हुन्नँ भन्ने कृष्णको सर्तनामा थियो । युद्धको अन्त्यमा जाँदा सबैले आ—आफ्ना भूमिकालाई आत्ममुग्धताको स्तरमा पु¥याए । मेरा कारणले यो युद्धमा जित हासिल भएको भनेर पाण्डवका पात्रहरूले भन्न थालेपछि भगवान कृष्णले वर्वरिको नाम लिए ।

जसलाई सुरुमै कृष्णले घाँटी काटेर कुनै रूखमा झुण्डाइदिएका थिए । त्यो झुण्डाइएको टाउकोले महाभारतको युद्ध सबै देखिराखेको थियो । पाण्डवलाई लगेर कृष्णले बार्बरिकसमक्ष उभ्याए । अनि सोधे, बार्बरिक यो युद्धमा तिमीले के देख्यौ ? ‘मैले कि तपार्इंलाई देखेँ कि तपाईको सुदर्शन चक्रलाई देखेँ’, बार्बरिकले भने । र, सबै आफ्ना कारणले युद्धमा विजयी भएको घोषणा गर्नेहरु नतमस्तक भए ।

महाभारतको यो पाटोलाई अर्को ढंगले हेर्ने हो भने यति धेरै सूचना कृष्णजीसँग थियो । बार्बरिकसँग सम्पूर्ण महाभारतको युद्धलाई पल्टाउन सक्ने क्षमता छ भन्ने कुरा कृष्णले थाहा पाएका थिए । त्यस कारण उनी कतै दुर्योधनतिर मिसिन्छन् कि भनेर बाधा दिने काम पनि कृष्णजीले गरे । कर्णसँग यस्तो गज्जबको कवच थियो । त्यो कवच ननिकालिकन कर्णको बध सम्भव थिएन । कर्णलाई विवश बनाउनका निम्ति कुन्तस्लाई कसरी प्रयोग गर्ने कृष्णजीले आफ्नो सूचनाका आधारमा थाहा पाएका थिए । चाहे जरासन्धको बधमा होस्, चाहे दुर्योधनको बधमा नै किन नहोस् ! कृष्णजीले प्राप्त गरेको सूचना सबैभन्दा बलशाली थियो ।

यसले सूचना कति महत्वपूर्ण छ भन्ने दर्शाउँछ । सूचना महत्वपूर्ण भएकै कारणले गर्दा प्रत्येक राज्यले ठूलो संख्यामा गुप्तचर तैनाथ गरेका छन् । जीवनमा, युद्धमा, विकासमा सबै चीजमा सूचनाको महत्वपूर्ण भूमिका हुन्छ । पत्रकारिताको सबैभन्दा ठूलो धर्म भनेको के रैछ भन्दा समाचार संकलन गर्ने, लेखन गर्ने । सम्पादन गर्ने र आम जनसाधारणका बीचमा पुर्‍याउने ।

हाम्रा अधिकांश समाचार एउटा नेता आयो, भाषण गर्‍यो, त्यसपछि बन्छन् । हाम्रा समाचार घटनामा आधारित छन् । अधिकांश समाचारमा शब्दको तलमाथि बाहेक मनाशाय उस्तै छ । अधिकांश समाचार अहिलेका सन्दर्भमा भन्नुपर्दा आग्रहले परिपूर्ण छन् ।

जबकि पत्रकारिताको सबैभन्दा ठूलो योग्यता भनेको तटस्थता र निष्पक्षता हो । सबैभन्दा ठूलो पत्रकारिताले निर्वाह गर्नुपर्ने भूमिका सत्यप्रतिको निष्ठा हो । तपाई सत्यप्रतिको निष्ठाबाट विचलित हुनुभयो भने मलाई लाग्छ, पत्रकारिता सम्भव छैन । हामीले चाहिँ पत्रकारिता आग्रहका साथ गरेका थियौं । त्यो भन्नलाई हिच्किचाउन हुँदैन । आग्रह के थियो भन्दा, पञ्चायती शासन व्यवस्थालाई ढालेर प्रजातन्त्र पुनस्र्थापना ।

अब त्यो मिसनबाट पत्रकारिता कमिसनसम्म पुग्यो । मैले सबै पत्रकार मित्रलाई दोषारोपण गर्न खोजेको होइन । हामी यस्तो दलदलमा फसेका छौं कि यहाँबाट जस्तोसुकै पानी निकाल्छु भने पनि पानीचाहिँ फोहोर नै आउने अवस्था छ । समाज सम्पूर्ण रुपले दूषित भइसकेपछि त्यो समाजबाट स्वच्छताको कल्पना अलिक असम्भव हुँदोरहेछ । पत्रकारिता व्यावसायिक हुन आवश्यक छ । त्यसमा संलग्न भएका मानिस पनि पेटसहितका हुन्, केही आकांक्षासहितका हुन् । उनीहरुलाई पनि जीवन बाँच्नका निम्ति सुविधाहरुको खाँचो छ ।

अब पत्रकारितामा सिर्जनशीलता भनेको के ? अथवा सिर्जनशीलतालाई पत्रकारितामा कसरी प्रस्तुत गर्ने ? नेपालको पत्रकारिताको इतिहासको कुरा गरौं । चाहे त्यो सुधासागर होस् वा मोतीराम भट्टको पत्रिका । चाहे सिद्धिचरणले श्रेष्ठले पहिलो दैनिक पत्रिका दर्ता गर्नुभयो ‘आवाज’को कुरा गरौं । गोरखापत्रमा भएका सम्पादकहरुको कुरा । गोरखापत्रले पहिलो पटक प्रधानसम्पादक भनेर कसलाई तोक्यो भन्दा बालकृष्ण समलाई ।

पत्रकारितालाई हामी कहिलेकाँही हतारको साहित्य पनि भन्छौं । तपाईंले आज एउटा घटना भएको देख्नुभो अथवा तपाईले कुनै विषयका विषयमा अनुसन्धान गर्नुभयो भने त्यसलाई भोलिपल्ट नै प्रस्तुत गर्नुपर्छ । ६ महिना पर्खेर, त्यसका विषयमा एउटा आख्यान बनाएर प्रस्तुत गर्ने फुर्सद तपाईंले पाउनुहुन्न । तर, एउटा कविले त्यसका विषयमा ६ महिना घोत्लिएर एउटा कविता लेख्छ । एउटा उपन्यासकारले त्यसैका विषयमा दुई वर्ष अनुसन्धान, अवलोकन, अध्ययन गर्छ अनि उपन्यास निकाल्छ ।

सिर्जनशीलतासँग पत्रकारिताको सम्बन्ध के छ ? हामी केटाकेटी थियौं । नेपालमा तीनवटा साप्ताहिक खूब पढ्थ्यौं । एउटा राष्ट्रपुकार थियो । जसलाई हाम्ले कांग्रेसको कण्ठ भन्थ्यौं । एउटा मातृभूमि थियो, जसलाई हामी चिनिया कम्युनिस्टहरुको वाणस् मुखरित गर्छ भन्थ्यौँ । एउटा समीक्षा साप्ताहिक थियो । त्यो अलिक बढी बौद्धिक पनि थियो र वामपन्थको सोभियत खेमालाई प्रतिनिधित्व गथ्र्यो ।

त्यहाँ एउटा गजबको स्तम्भ थियो –‘सडक बोल्छ ।’ त्योभन्दा अगाडि त्यस्तो स्तम्भ नेपाली छापा जगतमा देखिएको थिएन । सडकमा हिँडिरहेका मान्छेलाई उहाँ प्रश्न गर्नुहुन्थ्यो, समसामयिक विषयमा । सडकमा भेटिएको आवाजलाई साप्ताहिक पत्रिकामा मुखरित गर्नुहुन्थ्यो । समीक्षामै अर्को शैली थियो । मदनमणि दीक्षित–जसले ऋग्वेदका विषयमा पिएचडी गर्न लाग्नुभएको थियो । त्यो पिएचडीको सोध निर्देशक सर्वपल्ली राधाकृष्णन (जो पछि भारतका राष्ट्रपति हुनुभयो) हुनुहुन्थ्यो । त्यति ज्ञान भएको मान्छे मदनमणि दीक्षित ।

उहाँले चक्रपाणिका नामबाट एउटा स्तम्भ चलाउनुहुन्थ्यो । सायद, अहिलेसम्म पनि (मलाई कतै मेरो अज्ञानता होला । कति मेरो ध्यान नपुगेको होला) त्यो स्तरको स्तम्भ लेखन मैले अहिलेसम्म पढ्न पाएको छैन ।

त्यहीताका सेरोफेरोमा किशोर नेपाल, कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई गोरखापत्रमा सम्पादक हुनुहुन्थ्यो । र, काम नपाएर हल्लिरहेका किशोर नेपाललाई कृष्णप्रसादले ‘तिमी गोरखापत्रमा जाऊ, गोपाल दाईलाई म भन्दिन्छु’ भनेर त्यहाँ पठाएपछि एउटा गजबको स्तम्भ सुरुवात भयोः ‘हाम्रा गाउँघर’ । पत्रकार एउटा गाउँमा पुग्छ । त्यो गाउँमा के के उत्पादन हुन्छ ? त्यो गाउँको सडक कस्तो छ ? त्यो गाउँका विद्यालय कस्ता छन् ? एउटा गर्वको समाचार आउथ्यो । अहिले पनि हाम्रो पत्रकारिता गाउँमुखी हुन सकेको छैन ।

अहिले पनि हाम्रो पत्रकारिता महावाणीमा छ, महानवाणीमा छैन । तपाईंले समाचार लेख्नुभयो भने समाचारको पहिलो अनुच्छेद के लेख्नुहुन्छ भन्दा, त्यो प्रमुख अतिथिले बोलेका कुराले प्राथमिकता पाउँछ । चाहे उसले बोलेको दुई पैसाको किन नहोस् । तर त्यहीँ अर्को एउटा मान्छेले महत्वपूर्ण कुरा बोल्यो भने त्यसको उल्लेख नै हुँदैन । हामी अहिले पनि त्यो महावाणी सिस्टममा छौं ।

पोषनाथ शर्माले गोरखापत्रमा काम गर्दा मलाई सोधेँ, ‘दाई समाचार पाइएन के लेख्ने होला ?’ मैले उनलाई भनेँ,‘ समाचार प्रशस्तै छ तर समाचार हेर्ने दृष्टिकोणचाहिँ हामीसँग हुन आवश्यक छ ।’ ‘के छ दाइ ?’ भनेपछि मैले भनेँ, ‘फेवातालको बाँध छ नि जुन हाइटसम्म बाँध रोकिनुपर्ने त्यो बाँध रोकिएको छैन । त्यसको तलपट्टि प्वाल परेको छ । बालुवाका बोरा लगेर थुपारेका छन् । त्यसको आयुको सम्बन्धमा समाचार लेख न ।’

पोषनाथले यो समाचार लेखे । राइजिङ नेपालले प्राथामिकता दिएर छाप्यो । सूचना सधैँ घटनामा आधारितमात्र हुँदैन । तारा पाखे दाइ संस्कृत माविमा प्रधानाध्यापक, म अध्यक्ष भएर काम गरेका थियौं ।

अनि मैले एक जना पत्रकार साथीलाई भनेँ, ‘संस्कृत स्कुल ठ्याक्कै गोरखापत्रसँग जन्मियो । १९५८ असार २४/२५ गते गोरखापत्रको जन्म भयो । १९५८ सालमै राजकीय संस्कृत प्रधान पाठशाला भनेर यहाँ पाठशाला खोलियो । स्कुलको आयु एक सय वर्ष पुग्यो तर सय जना विद्यार्थी भएनन् । योभन्दा ठूलो समाचार के हुन सक्छ ?’

केदार शर्मा भन्ने मान्छे पत्रकारिता पनि गर्नुहुन्छ । हिमालमा लेख्नुहुन्थ्यो । उहाँले नेपाली खाद्य संस्कृतिका सम्बन्धमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अध्ययन गर्नुभएको छ, भ्रमणमा हिड्नुभएको छ । त्यो खाद्य संस्कृति विषयमा छलफल गर्न म कहाँ आउनुभयो । उहाँले के भन्नुभयो भन्दा ‘तीर्थजी विन्ध्यवासिनीमा बली कस्तो छ ?’ मैले भनें, ‘किन ?’ उहाँले भन्नुभयो–‘ बली दिन जाती होइन ।’

मैले उहाँलाई भनें,‘ बली दिन जाती त होइन तर त्यो त म पनि मान्छु तर विन्ध्यवासिनीमा दिएकामात्र बली हुन्छन् ? बुच्चडका दिएका बली हुँदैनन् ?’ विन्ध्यवासिनीमा बली एकदम घटेको छ तर पोखरामा मासु पसल बढेका छन् । फरक के र’ैछ भन्दा बली दिँदा मान्छेले प्रसाद खान्छन्, मासु खादैनन् । तर, मन्दिरमा बली समाप्त भयो । एउटै टोलमा ५÷६ ठाउँमा बलीहरु सुरु भए । यो समाचार हुन सक्छ कि सक्दैन ?

समाचार अर्को पनि छ, हामीले पोखराबाट सँधैं हिमाल देखेका छौं । हामीमध्ये कतिलाई थाहा छ– हिमालका नाम र उचाइ । हिमाल आरोहण इतिहासका विषयलाई हामीले आफ्नो समाचार लेखनीमा विषय बनाएका छौं कि छैनौं ? हाम्रो दुर्भाग्य ! संसारमा पहिलो चोटि ८ हजार मिटरभन्दा अग्लो हिमालको आरोहण प्रारम्भ हामीबाट भयो । अन्नपूर्ण प्रथम चढेर यसको आरम्भ भयो १९५० जुन ३ तारिखमा । सगरमाथा कहिले चढियो ? १९५३ को मे मा । अन्नपूर्ण चढेको ३ वर्षपछि सगरमाथा चढियो तर हामीले यसलाई उजागर गर्न नसकेको हुनाले सगरमाथा आरोहणको इतिहास बन्यो । अन्नपूर्णको इतिहास बनेन ।

समाचारहरु छन् । समाचार खोज्नका लागि अध्ययन जरुरी छ । त्यसलाई प्रस्तुतिकरणमा कति नवीन हुन सक्छाैँ, ख्याल गर्न आवश्यक छ । समाचार महत्वपूर्ण थियो तर वाचन नै काम नलाग्ने भयो भने स्रोताले त्यो समाचारमा ध्यान दिँदैन । समाचार स्रोताका मनसम्म पुर्‍याउनका निम्ति । त्यसलाई बलशाली बनाउनका निम्ति वाचकको पनि भूमिका हुन्छ । म पत्रकारितामा सिर्जनशीलतालाई यसरी जोड्न चाहन्छु ।

हामी जुन बेलामा पत्रकारिता गथ्र्यौँ, सबै बिटमा लेख्नुपथ्र्यो । राजनीति, भाषा, साहित्य, संस्कृति, विज्ञान, सडक सबै विषयमा समाचार लेखिन्थ्यो । अहिले विस्तारै विधागत पत्रकारिताको युगमा प्रवेश गरिसक्यौं ।

पत्रकारका संघ, संस्थासमेत विधागत रुपमा बन्न थालेका छन् । तपाईँको प्रस्तुतिमा सिर्जनशीलता, दृष्टिमा सिर्जनशीलता आवश्यक छ ।

पत्रकार राष्ट्रको मार्गदर्शक पनि हो । एउटा पत्रकारको खोजी पत्रकारिता र त्यसको अध्ययनले संसारका चक्रवर्ति महाराज जस्ता भएका अमेरिकाका राष्ट्रपतिको सत्ता गुमेको इतिहास छ । त्यस कारण मेरो आग्रह छ, निवेदन छ । पत्रकारिता सामान्य विषय होइन । घटना घट्यो, त्यसको सूचना संकलन गरी आफ्ना माध्यमबाट आम जनमानससमक्ष पुर्‍याउने मात्र उत्तरदायित्वमा सीमित हुनुभयो भने पत्रकारिताको कर्मकाण्डमा तपाईं सम्मिलित त हुनुभयो तर पत्रकारितालाई उचाईमा पुर्‍याउने दायित्वबाट तपाईं चुक्नुभयो ।

त्यो हुनाले पत्रकार साथीहरुले दुईटा विषयमा गम्भीर हुनुपर्छ जस्तो लाग्छः सत्यप्रतिको निकटता, र दोस्रो आग्रह विहीनता । मैले सम्प्रेषण गरेको समाचार मुलुकका हितमा हुनुपर्छ भन्ने आग्रहका साथ समाचार लेख्नुभयो भने त्यसले तपाईँ, समाज र राष्ट्रको कल्याण गर्छ । जसले भोलिका दिनमा अझ सिर्जनात्मक बल पुग्छ ।

तपाईको प्रतिक्रिया