‘सबैले छोडेर जाँदैछन्, हाम्रो खेतीपाती कसले गर्ला ?’

पोखरा ।
जगन्नाथ अधिकारी र डा मेरी होब्लेले एउटा किताब लेखेका छन्—सबैले छोडेर जाँदैछन्, हाम्रो खेतीपाती कसले गर्ला ? वैदेशिक रोजगारीको प्रभावमाथि केन्द्रित रहेर लिखित उनीहरुको पुस्तकले भनेजस्तै अवस्था गण्डकी प्रदेशको रहेको एक अध्ययनले देखाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन संस्था ‘आइओएम’को सहयोगमा सयपत्री समाजले गरेको अध्ययन भन्छ—आप्रवासनले गाउँ रित्तिँदै छन्, सहर भरिँदै छन् ।’ समाजले गण्डकी प्रदेशको आप्रवासन प्रोफाइलको मस्यौदा तयार पारेको छ । मस्यौदा सार्वजनिक समारोहमा अनुसन्धाता महेन्द्र सुवेदीले समाजमा असन्तुलन बढ्दै गएको सुनाए । वैदेशिक रोजगारीमा गएकाहरुकै कारण गाउँबाट सहरतिर बसाइसराइँ बढेर आन्तरिक आप्रवासन भइरहेको उनले बताए ।
‘आन्तरिक आप्रवासनकै कारण गाउँहरु खालीमात्रै भएका छैनन्, नयाँनयाँ सहरहरु विकास भएका छन्,’ उनले भने । बुर्तिबाङ, जैमिनी, राइनास, पालुङटार लगायत ठाउँ आन्तरिक आप्रवसानले नयाँ सहरहरुका रुपमा उदाइरहेको जानकारी अध्येता सुवेदीले दिए । मध्यपहाडी लोकमार्ग र जिल्ला तथा पालिका केन्द्रमा जनघनत्व वृद्धि हुँदै गएको उनको भनाइ थियो ।
बुर्तिबाङ, जैमिनी, राइनास, पालुङटार लगायत ठाउँ आन्तरिक आप्रवसानले नयाँ सहरहरुका रुपमा उदाइरहेका छन्
सुवेदीका अनुसार गण्डकी प्रदेशको आप्रवासन प्रोफाइल तयार पार्न अनुसन्धानका लागि ५७ पालिकाका ३८४ जनाबीच सर्भेक्षेण गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका, आन्तरिक रुपमा बसाइ सरेका, सुरक्षाकर्मीका रुपमा विदेशमा भर्ती भएकाहरुबीच प्रश्नावली भरी र सरोकारवालाहरुसँग पनि अन्तर्वार्ताका आधारमा तथ्यांक संकलन गरी विश्लेषण गरिएको उनले जानकारी दिए । ‘वैदेशिक आप्रवासनमा गएर फर्किएकामध्ये थुप्रैले महिनाको ३०/४० हजार कमाइ भए स्वदेशमै बस्न चाहेको बताए,’ सुवेदीले भने, ‘उनीहरुको भनाइ गरिखान पाऊँ भन्ने रहेछ ।’
आप्रवासन र बसाइसराइको नयाँ चरित्रले समाजमा विकासको अवधारणामा उथलपुथल ल्याएको र यसका लागि राज्यले सोही अनुरुप योजना तथा नीति तर्जुमा गर्नुपर्ने अध्ययनको निष्कर्ष रहेको सुवेदीले सुनाए ।
‘आप्रवासन सम्बन्धी तथ्य र तथ्यांकको अभावमा कतिपय स्थानीय सरकार र प्रदेश सरकारले काम गर्न चुनौती देखिएको छ,’ उनले भने । सुवेदीले तथ्यांक नभएकै कारण नीति निर्माणमा असजिलो भएको हुँदा गण्डकी प्रदेशको आप्रवासन प्रोफाइल तयार पार्नुपरेको जानकारीसमेत दिए ।
अन्तक्र्रियामा सहभागी हुँदै इन्सेक पोखरा संयोजक शिव खकुरेलले आप्रवासनकै कारण गाउँका विद्यालयहरुमा विद्यार्थी घटेको सुनाए । खकुरेलले आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपाल पनि पक्ष राष्ट्र हुनुपर्ने खाँचो औंल्याए ।
सुरक्षित आप्रवासन परियोजना (सामी)का संयोजक शिव रेग्मीले वैदेशिक रोजगारी सम्बन्धमा पालिकाहरुमा परियोजना चलिरहेको र पालिकाहरुको अवस्था तयार हुँदै गरेको जानकारी दिए । उनले गएको वर्षमात्रै गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा गएकामध्ये कैयौंको शव आएको सुनाए ।
आइओएमका प्रज्ज्वल शर्माले गएको दस वर्षमा सहरी इलाकामा बस्नेको संख्या ८० प्रतिशत भएको जानकारी दिए । उनकै भनाइमा गाउँहरुलाई पनि नगरपालिका घोषणा गरिँदा सहरमा बस्नेको संख्या धेरै देखिएको हो ।
गण्डकी विश्वविद्यालयका डीन डा कपिल अधिकारीले गाउँमा मोटर बाटो पुग्दा त्यही बाटो भएर युवाहरु विदेशिन सजिलो भएको टिप्पणी गरे । वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्राध्यापक केशव बरालले गाउँमा बस्ती पातलिँदै जाँदा खेतपाती पनि हुन छाडेको र बाँदरको आतंक फैलिएको सुनाए ।
पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोइराला, श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाल, कास्कीका स्थानीय विकास अधिकारी नवराज बराल, सयपत्री समाजका कार्यकारी निर्देशक गिरधारी सुवेदी, निर्वाचन आयोगको पोखरा कार्यालय प्रमुख तथा प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुली, रेडक्रस कास्कीका पूर्वसभापति डोलराज पाण्डे, पूर्व भारतीय सैनिक रमेश पौडेल लगायतले अन्तक्र्रियामा आआफ्ना धारणा राखेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया