टेवानका सदस्यलाई क्षमता अभिवृद्धि तालिम

समाधान संवाददाता २०८० जेठ १७ गते १२:२३

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सदस्यको क्षमता अभिवृद्धि अभियान अन्तर्गत तालिम आयोजना गरेको छ । टेवानले शनिबारबाट आयोजना गरेको पर्यटन व्यवसायमा क्षमता अभिवृद्धि तथा कानुनी सचेतनात्मक कार्यक्रम सोमबार सकिएको छ ।

Advertisement

समापनमा कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले आगामी बजेटमा पर्यटन व्यवसायी महिलाका मुद्दालाई समावेश गर्ने बताए । सरकार आफै महामारीमा परेको भन्दै उनले चालु आर्थिक वर्षको भन्दा आगामी बजेट ५ अर्ब रुपैयाँसम्म घटेर आउने जानकारी गराए ।

‘आफ्नै खुट्टामा उभिने आत्मनिर्भर प्रदेश कसरी बनाउने भन्ने विषयमा गम्भीर छौं,’ उनले भने, ‘कस्तो नीति ल्याउँदा धेरै पर्यटक भित्र्याउन सकिन्छ, त्यस्तै नीति ल्याउन कानुनमा बाधा अड्चन छन् भने संविधानले दिएको अधिकार प्रयोग गरेर फुकाउँछौं ।’

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीलाई राहत पुग्ने गरी आगामी प्रदेशको बजेट निर्माण गर्न सुझाव दिए । टेवानका सल्लाहकार गणेशबहादुर भट्टराईले पर्यटन व्यवसायमा बढीभन्दा बढी महिला सहभागिता वृद्धि गरेर उत्पादनसँग जोड्ने र त्यसलाई बजारीकरण गरेमात्रै पर्यटन दिगो हुने बताए ।

अर्का सल्लाहकार बोबरजंग गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न पहल गर्नुपर्नेमा जोड दिए । सहभागी व्यवसायी मालती अधिकारीले तालिमपश्चात आफूमा आत्मविश्वास बढेको बताइन् ।

Advertisement

टेवान अध्यक्ष कमला गिरीले व्यवसायीमा सकारात्मक सोच भए क्षमता अभिवृद्धि पनि हुने भएकाले तालिम आयोजना गरेको बताइन् । कार्यक्रमकी संयोजक शारदा लम्सालले तालिममा ६६ जना सहभागी भएको बताइन् । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।

तालिममा अधिवक्ताद्वय तारा शर्मा र ईश्वरी पौडेल, पत्रकार सुष्मा पौडेल र फिल्म निर्देशक जसु गुरुङले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया