गिलुङमा पोखरा उद्योग वाणिज्य संघको बोर्ड बैठक

समाधान संवाददाता २०८० जेठ १८ गते १६:४७

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक सम्पन्न गरेको छ । ग्रामीण पर्यटन तथा घरबास कार्यक्रमको प्रवद्र्धन एवं स्थानीय उत्पादनको बजारीकरणको सम्भावना खोजीका लागि संघले क्व्होंलासोथर ९, गिलुङलाई बैठकस्थल छानेको अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।

‘तीनवटै तहका सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएका छन्,हामी सरकारसँगै सहकार्य गर्ने सामाजिक संस्था हौं,’ अध्यक्ष प्रजापतिले भने, ‘सरकारी अभियानलाई सघाउन तथा ग्रामीण उत्पादनहरुको बजारीकरणको सम्भावना खोज्ने उदेश्यले बैठक स्थल नै गाउँ छानिएको हो ।’ बैठकको क्रममा जनप्रतिनिधि, स्थानीयबासी र आमा समूहसँग अन्तक्र्रिया तथा सहरी क्षेत्रमा खपत हुनसक्ने स्थानीय उत्पादनबारे जानकारी लिइएको अध्यक्ष प्रजापतिको भनाइ थियो ।

ग्रामीण पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरण सम्भावनाको खोजी

Advertisement

कार्यसमिति बैठकमा सहभागी संघका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघका समेत पूर्वअध्यक्ष आनन्दराज मुल्मीले उद्योगी/व्यवसायीहरुले ग्रामीण भेगको जनजीवन, आवश्यकता र त्यहाँका उत्पादन एवं सम्भावनाबारे जानकारी राख्नुपर्ने बताए ।

लामो सामाजिक कार्यको अनुभवका साथै गण्डकीको राजधानीमा भएको उद्योग वाणिज्य संघ भएका नाताले पोखरा उद्योग वाणिज्य संघको दायित्व पनि ठूलै भएको मुल्लीले बताए । ‘मुलकको नियति परिवर्तन गर्ने दायित्व निजी क्षेत्रको पनि हो र गण्डकीका सम्भावना र अवसरबारे जानकारी लिन गरिएको यो कार्यक्रमले नयाँ यात्रा तय गर्न मद्दत पुग्नेछ,’ उनले भने ।

Advertisement

क्व्होंलासोथर ९ का वडाध्यक्ष हुमराज गुरुङले शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा पालिकाहरुले विशेष जोड दिएको सुनाए । उनले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि संस्थागत भ्रमणहरु फलदायी हुने बताए ।

गिलुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष आशीष गुरुङले गुरुङ संस्कृतिको अनुपम थलो गिलुङ पर्यटकहरुको स्वागत गर्न आतुर रहेको बताए । उनले ऐतिहासिक घाँटु नाच हेर्नका लागि पनि गिलुङ पुग्नुपर्ने जिकिर गरे ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले गाउँमा पछिल्लो समय बनेका पूर्वाधारको सही सदुपयोग गर्दै पालिकाहरुले गाउँलेलाई उत्पादनसँग जोडनुपर्नेमा जोड दिए ।

लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष मृगेन्द्र घिमिरेले पोखरा उद्योग वाणिज्य संघले बोर्ड बैठक थलो गिलुङ तय गरेकोमा आभार व्यक्त गर्दै स्थानीय उत्पादनको बजारीकरणका लागि २ उद्योग वाणिज्य संघबीच सहकार्य गरिने बताए ।

संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मौलिक संस्कृति जोगाउन गाउँलेहरुसँग आग्रह गरे ।

महासचिव बलराम आचार्यले स्थानीयका परम्परागत उत्पादनहरुको बजारीकरणमा संघले सघाउने वचन दिए । उपमहासचिव शोभा गौतमले बजारको माग हेरेर महिलाहरुलाई उद्यमशील बनाउन पालिकालाई सुझाव दिइन् ।

कार्यक्रममा गिलुङ–पोखरा सम्पर्क समितिका संस्थापक अध्यक्ष सेतेसुब्बा गुरुङ, सदस्य रुद्रबहादुर गुरुङ, पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइराला, कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, कार्यसमितिका सदस्यहरु प्रभा सुवेदी सुदीप प्रधानांग, दिलीप श्रेष्ठ, कृष्ण कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ, रामप्रसाद कँडेल, जीवनकुमार श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी, लीलाधर चपाईं, युवकबहादुर बस्नेत, टीकाराम सुवेदी, देवेन्द्र प्रजू र प्रदीप राजभण्डारीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया