फेवा सिमसार पुर्न रोक्न अन्तरिम आदेश

पोखरा ।
फेवा तालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश आचार्यको एकल इजालासले बिहीबार फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत निर्माण कार्य गर्न तथा डोजर प्रयोग गर्न नदिन विपक्षीको नाममा अन्तरिम आदेश दिएको हो ।
फेवातालको सिमसार क्षेत्र प्राकृतिक तथा मानवीय कारणहरूबाट पुरिन नदिईे सिमसार क्षेत्र माटोले पुर्ने काम रोक्न माग गर्दै अधिवक्ता मनोज घर्तिमगरले बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कल्पना देवकोटा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।
‘फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत निर्माण कार्य गर्न नदिनु र कुनै प्रकारले डोजर चलाउने कार्य हुन नदिई, हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा कायम राख्नु ।
उल्लेखित क्षेत्रलाई तत्कालका लागि निर्माण निषेध क्षेत्र घोषणा गरी सो क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्ने डोजर टिपरहरुलाई नियन्त्रणमा लिई सम्बन्धित चालकहरुको सम्बन्धमा समेत प्रचलित कानून बमोजिम कारवाही गर्नु गराउनु,’ आदेशमा भनिएको छ ।
साथै अदालतले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । ‘निवेदकले दावी लिएको समग्र विषयमा विपक्षीहरुबाट लिखित जवाफ परेपछि न्यायिक सम्बोधन हुने गरी तत्कालका लागि निम्न बमोजिमको कार्यका लागि निम्न बमोजिमका विपक्षीहरुका नाँउमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ को (१) को देहाय (क) तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) बमोजिम अन्तरिम आदेश जारी गर्न आवश्यक र उपयुक्त देखिन आएकोले निम्न बमोजिमको अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
आदेशको कार्यान्वयनका लागि आवश्यक थप सुरक्षा प्रवन्धका लागि कम्तीमा प्रहरी निरीक्षणको नेतृत्वमा आवश्यक सुरक्षा समूह खटाउने र अनुगमन गर्ने गराउने कार्य गर्नु, गराउनु भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई उच्च अदालत पोखराले निर्देशन दिएको छ ।
उच्च अदालतले सोही विषयमा प्रदेश वातावरण संरक्षण ऐन, २०७६ को दफा ५ बमोजिम वातावरण संरक्षण तथा जलवायु प्रदुषण परिवर्तन परिषद गठन गर्ने र सो परिषद्लाई प्रभावकारी बनाउने कार्य लिखित जवाफ माग गरेको छ ।
गण्डकी प्रदेश भित्रका ताल तथा सिमसार क्षेत्रहरुको हालको अवस्थाको बारेमा जी पहिचान तथा नियमित अनुगमनको सम्बन्धमा लिखित जवाफ पेश हुनु अगावै कम्तीमा सदस्यीय अनुगमन समिति गठन गरी तत्सम्बन्धमा कानून बमोजिम जो जे गर्नुपर्ने हो गराउने कार्य आरम्भ गर्न गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन क तथा वातावरण मन्त्रालय पोखरालाई आदेश दिएको छ ।
नगरसभाबाट जारी भएको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार आकस्मिक एक आवधिक अनुगमन समिति गठन गरी, फेवातालको माथि उल्लिखित सीमा क्षेत्रभित्र तत्कालको अवस्थाका बारेमा हाललाई साप्ताहिक रुपमा प्रतिवेदन लिई प्रतिवेदन प्राप्त मितिले ३ दिनभित्र आवधिक हिसाबले उक्त प्रतिवेदनको प्रतिलिपि यस अदालतलाई उपलब्ध गराउन पोखरा महानगरलाई आदेश जारी गरेको हो ।
निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता मनोज घर्तीमगर, अधिवक्ताद्वय रच्चु आले र मिलन आलेले बहस गरेको थिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया