नेपाली ओलम्पियनको तथ्यांकै छैन

समाधान संवाददाता २०८० जेठ १९ गते १५:१५

पोखरा ।
गत वर्ष असारमा टोकियो ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी भए । ओलम्पिकमा नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट सहभागी हुँदा खेलाडीको तेब्बर संख्यामा अफिसियल सहभागी थिए ।

४ प्रशिक्षकबाहेक २१ जना अफिसियलका रूपमा सहभागी थिए । खेलाडीभन्दा पदाधिकारी ३ गुणा बढी टोकियो पुगेको विषय केही विवादित बन्न पुग्यो । ३२ औं संस्करणको ओलम्पिकमा पनि नेपालले सुखद् नजिता निकाल्न सकेन ।

नेपालले सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको हो । ओलम्पिकमा सहभागी हुन थालेको ६० वर्ष पुग्न लाग्दा कति नेपाली ओलम्पियन सहभागी भए भन्ने तथ्यांक सरकारसँग छैन । ओलम्पिक सहभागी ओलम्पियनको अवस्था कस्तो छ, त्यो त थाहा हुने कुरै भएन ।

Advertisement

ओलम्पिकमा सहभागी हुन थालेको ६० वर्ष पुग्न कति त्यसमा सहभागी भए भन्ने यकीन तथ्यांक कतै छैन

नेपालले अहिलेसम्म १४ संस्करणमा सहभागिता जनाइसकेको छ । अहिलेसम्म नेपालबाट करिब १ सय खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेका छैनन् । नेपालमा ओलम्पियन कति छन् भन्ने डाटा कसैसँग नभएको नेपाल ओलम्पियन्स संघका अध्यक्ष तथा ओलम्पियन दीपक विष्ट बताउँछन् ।

Advertisement

‘हामी ओलम्पियनहरुले एकले अर्कालाई नचिन्ने, नेपालमा ओलम्पियन कति जना छन् भन्ने कुनै पनि ठाउँमा डाटा छैन । न खेलकुद परिषद्मा डाटा छ, न त ओलम्पिकमा डाटा छ, न त ओलम्पियनहरुलाई नै थाहा छ, हामी नेपालमा ओलम्पियन कति छौं भनेर,’ उनी भन्छन् ।

राज्य तथा प्रदेश तहबाट ओलम्पियनको संरक्षणमा ध्यान नपुगेको ओलम्पियन विष्टले गुनासो गर्छन् ।

‘ओलम्पिकमा नेपालको ५८ वर्षको इतिहास छ, इतिहासमा कति जना खेलाडी छन्, को ओलम्पियनले के खान पाइराखेको छ, छैन । ओलम्पिक खेल खेल्नुभन्दा पहिला कति मेहनत चाहिन्छ, कति रगतपसिना चाहिन्छ, कति संघर्ष चाहिन्छ त्यो खेलाडीलाई मात्रै थाहा हुन्छ,’ उनले भने, ‘अनि खेलिसकेपछि कहाँ छन्, न कुनै राज्यलाई थाहा छ, न प्रदेशलाई थाहा छ, न समाजलाई थाहा छ । त्यस कारण चिनेका केहीलाई मात्र ओलम्पियनलाई मात्र ओलम्पियन भन्ने अरुलाई ओलम्पियन होइन भन्ने ?’

नेपाल ओलम्पियन्स संघले भने नेपालमा हालसम्म ९० जनाले ओलम्पिकमा सहभागी भएको तथ्यांक निकालेको छ । झण्डै ६ दशकको अन्तरालमा ९०नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकाशीन ओलम्पिक (२ जना) मा सहभागी भएको संघले निकालेको तथ्यांकमा उल्लेख छ ।

‘म २ वर्षअघि अध्यक्षमा नियुक्त भइसकेपछि डाटा निकाल्ने काम गरेको हुँ,’ संघका अध्यक्ष ओलम्पियन विष्टले भने, ‘ओलम्पिकको वस्तुस्थिति कसैलाई थाहा छैन । सबै प्रदेशमा गएर मैले भने तपाईंको प्रदेशमा कतिवटा ओलम्पियन छन् भनेर सोध्दा कसैलाई थाहा छैन । त्यो पनि हामीले निकाल्दै छौं, हामीले प्रदेशलाई दिन्छौं ।’

६ दशकका ओलम्पियनको मिलन पोखरामा
६ दशकका ओलम्पियनको पुनर्मिलन तथा सम्मान कार्यक्रम जेठ १९ गतेदेखि पोखरामा हुँदै छ । नेपाल ओलम्पियन्स संघको आयोजनामा तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा जेठ १९ देखि २१ गते सम्म ओलम्पियनको पुर्नमिलन तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष विष्टले जानकारी दिए ।

संघका अनुसार ओलम्पियनहरु जेठ १९ गते पोखरा आउनेछन् । जेठ २० गते बिहान प्रभातफेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुर्नमिलन तथा सम्मान कार्यक्रम हुने ओलम्पियन विष्टले बताउँछन् । जेठ २१ गते संघको वार्षिक साधारण पनि पोखरामा नै गर्ने तयारी गरिएको छ ।

सन् १९६४ देखि हालसम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा देशभरमा रहेका ५० बढीको सहभागिता रहने संघको अनुमान छ ।

ओलम्पियन मध्ये केही विदेशमा रहेको र १० जनाको मृत्यु भइसकेको संघले जनाएको छ । सर्भिस टु सोसाइटी सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालीन ओलम्पियनहरुको छाता संगठनका रुपमा विश्व ओलम्पियन संघको स्थापना भएको स्मरण गर्दै सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन हो ।

तपाईको प्रतिक्रिया