समुदायले चलाएका बाल विकास केन्द्र अब्बल

समाधान संवाददाता २०८० जेठ १९ गते १८:०७

पोखरा ।
असल छिमेकी सहयोग संघ (गोनसा) नेपालले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादित क्रियाकलापको सामाजिक लेखा परीक्षण गरिएको छ ।

कार्यक्रममा सामाजिक परीक्षक डा रामचन्द्र बरालले समुदायले चलाएको बाल विकास केन्द्र अब्बल भएको बताए । तथापि बाल विकास केन्द्रका कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउन स्थानीय तहसँग समन्वय र सहकार्य गर्न उनले सुझाव दिए ।

‘सामुदायिक बाल विकास केन्द्रको सञ्चालन स्थानीय स्रोत र सहभागितामा सन्तोषजनक देखिएको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा सञ्चालन भएका बाल विकास केन्द्रको अवस्था सन्तोषजनक हुन सकेको छैन ।’

Advertisement

उनले विद्यालय खाजा कार्यक्रममा केही राम्रा अभ्यास पाइएको भएता पनि सबै विद्यालयलाई अनुकरण गर्न प्रेरित गर्न नसकेको उल्लेख गरे । उनले बाल विकास केन्द्रका खाजा कार्यक्रमलाई सबैका लागि शिक्षा र बाल सहभागिताका मान्यताले स्थानीय सरकारको दायित्व र जवाफदेहिताको अंश समावेश गरेर गुणस्तर वृद्धि गर्न नसकेको बताए ।

लक्षित वर्गले एकीकृत विकास योजनाको अपेक्षा गरेको भएता पनि संस्थाले एकल विषयगत परियोजना सञ्चालन गर्न सकेको उल्लेख गर्दै उनले लाभग्राहीको सन्तुष्टि बढाउन र रोजाई बढाउन एकीकृत विकास योजना ल्याउन सुझाव दिए ।

Advertisement

जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले राज्यका निकाय आधारभूत तहको सेवा दिनबाट भागेकाले त्यसको जिम्मेवारी सामाजिक संघ, संस्थामा सरेको बताए । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आर्थिक अभावले विद्यार्थीलाई विद्यालय शिक्षाबाट वञ्चित हुन नदिन अभिभावकलाई आयआर्जनका कार्यक्रममा जोडेको जानकारी दिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम आचार्यले शिक्षा क्षेत्रको अनुगमन सञ्जाललाई शिक्षा क्षेत्रले विस्तार गर्न नसकेको बताए । उनले वडा शिक्षा समितिले शिक्षा क्षेत्रको अनुगमन गर्ने जानकारी दिए ।

बाल विकास केन्द्रलाई महानगरले प्राथमिकता दिएको उल्लेख गर्दै उनले पोखरा २० मौजा लगायतका बाल विकास केन्द्र नमुना भएको दाबी गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद सुवेदी, निवर्तमान अध्यक्ष दिलबहादुर गुरुङ, उपाध्यक्ष सीता परियार, कार्यकारी निर्देशक शिवराज शर्मा लगायतले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया