प्रदेशको नीति तथा कार्यक्रम भोलि: सांसदलाई बजेट बाँड्दै सरकार

पोखरा ।
गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम आइतबार ल्याउने तयारी गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।
सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने संसदीय परम्परा छ । नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलपछि मात्रै बजेट ल्याउने गरिन्छ । प्रदेशले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । आइतबार प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई आत्मसात गरेर बजेट ल्याइन्छ ।
बजेट ल्याउनु १५ दिनअघि नै पूर्व बजेट छलफल प्रदेश सभामा गरिन्छ । यसअघि आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरिएको थियो ।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि जेठ १४ र १६ गते छलफलपछि पास भएको थियो ।
आगामी वर्षका लागि ल्याइने बजेटको आकार घटाउने तयारी प्रदेश सरकारले गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपालि भने त्यो भन्दा कम बजेट आउने संकेत देखिन्छ ।
संघीय सरकारले नै अनुदानहरु घटाएर पठाइसकेको हुँदा प्रदेश सरकारको आउँदो बजेट चालुभन्दा कम हुने भएको हो । बजेटको आकार घट्ने भएको हुँदा आफूहरु खर्च कटौती गर्न पनि लाग्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पोखराका सञ्चारकर्मीहरुलाई सुनाएका थिए । ‘४ पांग्रे गाडीहरु किन्ने छैनौं, अनावश्यक भवनहरु बजेट छुट्याउने छैनौं,’ उनले भने ।
तर, अनुत्पादक भनेर आलोचित संसद विकास कोषलाई भने प्रदेश सरकारले कटौती नगर्ने संकेत देखिएको छ । आम बुझाइमा संसद विकास कोष भनिए पनि पूर्वाधार विकास कार्यक्रम भनेर सांसदका योजनामा खर्च गर्न सरकारले बजेट दिने गरेको छ । उक्त कार्यक्रमअनुसार गण्डकीमा ३६ निर्वाचन क्षेत्रका दरले ७२ करोड बाँड्ने कार्यक्रम बजेटमा समावेश हुने देखिन्छ ।
‘केन्द्रमा सांसदलाई बजेट छुट्याइएपछि यहाँ पनि दबाब आएको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो सांसदलाई बजेट दिने कुरा पहिला झै हेर्नु हुँदैन । विधिसम्मत तरिकाले जनताको योजनामा खर्च गर्ने हो, सांसदले गरेका प्रतिवद्धतामा हाल्ने हो, सांसदको निजी योजनामा होइन ।’
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरुआती बजेटमा सांसदहरुका लागि बजेट छुट्याएका थिएनन् । तर, सत्ता र विपक्षी सांसदहरुको चर्काे दबाबपछि अर्काे वर्ष अर्थात २०७६/७७ मा ७२ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसपछि सांसदलाई बजेटले निरन्तरता पाइरह्यो । कोभिडको संकटमा समेत रोकिएन । सार्वजनिक रुपमा आलोचित यस्तो कार्यक्रम नराख्न तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले गरेको प्रयास विफल भएको थियो ।
२०७९/८० को बजेट ल्याउँदा बरालले तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समेत थाहै नदिई सांसदलाई बजेट कार्यक्रम काटिदिएका थिए । सोही कारण उनका बजेटका विरुद्ध सत्तापक्षीय कांग्रेस र माओवादीकै सांसद उभिए । बजेटमाथि छलफल नै हुन सकेन । बरालले सम्झौता गरेपछि मात्रै असार अन्तिममा हतारमा छलफल गरी बजेट पारित गरिएको थियो ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया