सत्ता गठबन्धन असंलग्न नीति विरोधीः वैरागी

समाधान संवाददाता २०८० जेठ २० गते १३:५७

पोखरा ।
वर्तमान सत्ता गठबन्धनले सरकार सञ्चालनका क्रममा छिमेकी मुलकसँगको सम्बन्ध सुधार गर्नेभन्दा चिसो बनाउन लागेको प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागीले दाबी गरेका छन् । उनले सरकारका कारण छिमेकी मुलुक भारत र चीनसँगकोे सम्बन्ध चिसिएको तर्क गरे ।

शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार असंलग्न परराष्ट्र नीतिको विरोधी भएको आरोप लगाए । अहिलेको सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेट जनमुखी नभएको उल्लेख गर्दै उनले कुनै पनि कार्यक्रम समाजवाद उन्मुख नभएको तर्क गरे ।

‘सरकार शिक्षा र स्वास्थ जनताको मौलिक हक हो भन्ने स्थापित गर्नुपर्नेमा दायित्वबाट भागेको छ,’ उनले भने, ‘भ्रष्टाचारको अन्त्य, ढिलासुस्ती नियन्त्रण गर्ने काममा सरकार उदासिन छ ।’ उनले भ्रष्टाचारको सवालमा चर्का कुरा गरे पनि नियन्त्रणतर्फ उदासिन भएको आरोप लगाए । उनले भ्रष्टाचारको विषयमा सबै दोष प्रमुख प्रतिप्रक्षी दललाई लगाएर पानीमाथि ओभाने भएको उल्लेख गरे ।

Advertisement

राष्ट्रिय सम्पदा र स्थानीय स्रोतहरु निजीकरण, त्यसमा पनि दलाल पुँजीपतिको जिम्मा लगाउन खोजेको दाबी गर्दै उनले पर्यावरणीय सन्तुलन कायम गरी हरित अर्थतन्त्रको विकासबाट पन्छिन खोजेको आरोप लगाए ।

उनले संक्रमणकालीन न्याय दिने र शान्ति प्रक्रिया टुंगो लगाउने पक्षमा सरकार नभएको दाबी गरे । सरकारले स्थानीय तह र प्रदेशको समानिकरण अनुदान कटौती गरिएको दाबी गर्दै उनले ससर्त अनुदानको सबालमा सरकार उदार भएको बताए ।

Advertisement

‘सरकारले ऋण उठाउन, राजस्व संकलन गर्न, वैदेशिक सहायता अनुदान तथा ऋण लिन सक्ने वातावरण बनाएको देखिँदैन,’ उनले भने, ‘उत्पादन, उत्पादनको वृद्धि, सुरक्षा, मूल्य र बजारको सन्तुलन मिलाएको देखिँदैन र दैनिक उपभोग्य वस्तु समेतमा आयात प्रतिपादन गर्ने र आत्मनिर्भर हुने देखिँदैन ।’

उनले औद्योगिकीकरण गर्न र रोजगारी सिर्जना गर्न सरकारले नसकेको बताए । मिश्रित अर्थतन्त्रको मर्म अनुसार तीन खम्बे अर्थनीति अन्तर्गत जनताको मुख्य सहभागिता रहेको सहकारीलाई कहिँकतै समावेश नगरिएको उनले औंल्याए ।

प्रतिनिधि सभाका सदस्य बैरागीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन तथा श्रमजीवी जनसमुदायको पञ्जिकरणमा सरकार उदासीन भएको जिकिर गरे । नीति तथा कार्यक्रमको बारेमा ९ वटा संशोधन प्रस्तावलाई संसदले अनुमोदन गरेको जानकारी दिँदै उनले ५ वटा प्रस्ताव अस्वीकृत भएको उल्लेख गरे । उनले जेठ २१ गतेपछि बजेट माथि छलफल हुने जानकारी दिए । कार्यक्रममा प्रेस चौतारी नेपाल कास्की उपाध्यक्ष मोतीसागर अधिकारी, सचिव रञ्जन अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया