सम्पादकीय: पर्यटन प्रवद्र्धनको कोसेढुंगा

भूकम्प, नाकाबन्दी र कोभिडले एकपछि अर्काे गरी पर्यटन क्षेत्रलाई नराम्ररी थला पार्यो । तिनैको प्रभाव हो आर्थिक मन्दी । ती सबै विपद र आर्थिक मन्दीको सबैभन्दा धेरै मारमा पर्नेमध्येमा पर्यटन नै पर्छ । मुलुकको मुख्य पर्यटकीय गन्तव्य पोखराको मुख्य उद्यम पर्यटन नै हो । त्यसैले पनि पर्यटन क्षेत्रमा शिथिलता आउँदा पोखराको अर्थतन्त्र पनि सुस्त छ । पोखराको पर्यटनलाई चलायमान बनाउन भइरहेका विभिन्न प्रयासमध्ये शुक्रबारसम्म भएको अन्तर्राष्ट्रिय स्तरको एउटा सम्मेलन कोसेढुंगा मान्न सकिन्छ ।
‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एडभेन्चर ट्राभल मार्ट पोखरामा ४ दिनसम्म चल्यो । सम्मेलनमा २२ देशका डेढसयभन्दा बढी सहभागी रहे । त्यतिका देशका प्रतिनिधिहरु पोखरा आउनु पोखराले अन्तर्राष्ट्रिय वृत्तमा प्रचार पाउनु हो । त्यसमा पनि ट्राभल एजेन्सीका प्रतिनिधि आउँदा उनीहरु मार्फत यहाँको पर्यटनमा प्रचार पुग्ने विश्वास गर्न सकिन्छ ।
पाटा च्याप्टर नेपाल, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रयासमा पाटा सम्मेलन पोखरा हुन सम्भव भयो । पोखरा महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको एउटा सम्मेलन गर्न पर्यटन संस्थाहरुबाट भएको प्रयासमा सघाउनु सह्रानीय हो । पोखराको मात्रै नभई अहिले विश्व पर्यटन बजार नै सुस्ताएको छ ।
पर्यटन फेरि पुरानै स्थितिमा फर्कन अर्थात कोभिड अघिको अवस्थाको जस्तै चलायमान बन्न डेढ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ । त्यो पनि आउँदा दिनमा हुने सकारात्मक गतिविधिमा भर पर्छ । कुनै विपद आइपरे भन्न सकिन्न । विपद र अरु कुनै पनि प्रकारका संकटल पर्यटनलाई सबैभन्दा छिटो र नराम्ररी प्रभावित पार्छ । पर्यटन निकै संवेदनशील विषय हो ।
पाटा सम्मेलनले दिगो पर्यटन तथा डिजिटाइजेसनमा जोड दिएको छ । जसलाई पोखराको पर्यटन क्षेत्रले पनि आत्मसात गर्नुपर्छ । आर्टिफिसियल इन्टिेलिजेन्स, सोसल मिडिया एन्फुलुएन्स, महामारी र दिगो पर्यटनका विभिन्न आयाम हुन् ।
पोखरालाई सभा, समारोह, भेला र बैठकहरुको पनि गन्तव्यस्थल बनाउन सके यहाँ माइस टुरिजम फस्टाउन सक्छ । जसका लागि पोखराको पर्यावरण र वातावरण अनुकुल पनि छ । पाटा सम्मेलन त्यसका लागि पनि एउटा कोसेढुंगा हो । जसरी यो सम्मेलन आयोजनाका लागि पोखरा महानगरपालिकाले सघाउ गर्यो, माइस टुरिजम विकासका लागि आवश्यक पूर्वाधारमा पनि उसको योगदान जरुरी छ । जस्तो कि पोखरामा ठूलो सभा, सम्मेलन गर्न आवश्यक अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र आवश्यक छ ।
पोखरा महानगरपालिका त्यस्तो केन्द्र बनाउने योजनामा भए पनि मूर्तता दिन ढिला भएको छ । पोखरा आउजाउ गर्न स्थल र हवाई मार्गमा भएका अप्ठेराहरु पनि तुरुन्त समाधान गरिनुपर्छ । पोखराको शान्त र सफा वातावरणमा पर्यटक रमाउन स्वागतका लागि आवश्यक सबै योजना र कार्यक्रमसहित अन्तर्राष्ट्रिय मञ्चहरुमार्फत प्रवद्र्धन गरिनुपर्छ ।
तपाईको प्रतिक्रिया