सगरमाथाभन्दा ‘जेठाे हिमाल’काे बेवास्ता

समाधान संवाददाता २०८० जेठ २१ गते १२:३५

पोखरा ।
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ धेरैमा देखिएको छ ।

Advertisement

आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण प्रथम हिमाल भने थोरैको रोजाइमा पर्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरी विश्व किर्तिमान कायम गरेका थिए । उनको साथमा थिए, लुई लिचेनेल ।

त्यसको ३ वर्षपछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरो चुमेका थिए । नेपालमा हिमाल आरोहणको ७३ वर्ष पुगेको छ ।

हर्जोगले अन्नपूर्णमा पाइला टेकेकै दिनलाई पछिल्ला वर्षमा अन्नपूर्ण दिवसका रुपमा मनाइन्छ । त्यही अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले गरेको कार्यक्रममा वक्ताहरुले आरोही मौरिसलाई सम्झिँदै अन्नपूर्णको चिन्ता गरे ।

चाँदी झैं टल्कने हिमालका चुचुरामा सिजनमै पर्याप्त हिउँ नपर्दा कालापत्थर जस्ता देखिन्छन् । फोहोरको डुंगुर हिमालको चचुरोसम्म पुग्दैछ । कार्यक्रममा सहभागीले हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा फस्ने चेतावनी दिए ।

Advertisement

हिमाल जोगाउन र प्रवद्र्धनमा भूमिका खेल्ने गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिम्खडाले प्रतिबद्धता गरिन् । अन्नपूर्ण हिमाल गण्डकीको कला, संस्कृति र पर्यटन जोडिएको उनले जनाइन् ।

‘अन्नपूर्ण हाम्रो गौरव हो, सम्पत्ति हो । यसलाई अझै प्रवद्र्धन गर्न अब सरकारले के गर्ने भन्ने विषयमा गण्डकी प्रदेश सरकारको चासो रहन्छ’, उनले भनिन् ।

पर्यटन व्यवसायी लक्की कार्कीले अन्नपूर्ण हिमाल गण्डकी प्रदेशको समृृद्धिको कोशेढुंगा भएको बताइन् ।

पछिल्लो समय हिमाल जोगाउन चुनौती सिर्जना भएको सुनाइन् ।

‘मेमै पनि झन्डै ३४ डिग्री तापक्रम भइसकेको छ । जुन, जुलाइ अगस्ट त जानु नै छ’, उनले भनिन्, ‘यसरी जलवायु परिवर्तन हुँदाखेरि हाम्रा हिमालहरु पग्लेर आउने, व्लास्ट हुने हुँदा विनाश धेरै हुन्छ । हाम्रो व्यवसाय नै धरापमा पर्छ ।’

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा जलवायु परिवर्तनले हिमाल कालापत्थरमा बन्नेमा सहमत छन् । असर कम गर्न गम्भीर बन्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘हिजोका दिनमा हिमाल चढेमात्रै पुग्थ्यो । अहिले आरोहणसँगै फोहोर कसरी व्यवस्थापन गर्ने, आधार शिविर कसरी बचाउने र जलवायु परिवर्तन कसरी कम गर्ने भन्ने विषय पनि सँगसँगै आउँछ ।’ पर्वतीय पर्यटनका क्षेत्रमा ४ पुस्ताको योगदान रहेकै कारण अहिलेको स्थितिमा आएको उनी बताउँछन् ।

अन्नपूर्ण आरोहणले गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको तर प्राथमिकतामा नपरेको उनी उल्लेख गर्छन् । नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष शेषकान्त शर्मा अन्नपूर्ण गण्डकी प्रदेशको समृद्धको आधार बन्नुपर्ने सुझाउँछन् ।

‘जे जति पर्यटक भित्रिएका छन्, अन्नपूर्ण आरोहणकै कारण हो’, उनले भने, ‘सँगै पर्वतारोहण भएको खुम्बु क्षेत्र अगाडि बढ्यो । तर, अन्नपूर्ण बढ्न सकेन । कहीं न कहीं अन्नपूर्ण क्षेत्रलाई जनजीविकासँग जोड्न सकेनौं कि ? फेदमा बस्ने मानिसलाई आयआर्जनसँग जोड्न सकेनौं कि ?’

अन्नपूर्ण जेठो हिमाल भए पनि किलर माउन्टेनको परिचय बनाएकै कारण आरोही कम भएको उनको अनुमान छ । नेपाल पर्वतारोहण संघको तथ्यांक अनुसार विश्वको १० औं सर्वोच्च शिखर अन्नपूर्णमा सन् २०२१ सम्म ३ सय ९ आरोहीले आरोहण गरेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ गण्डकी प्रदेशको समृद्धिको आधार हिमश्रृंखला भएको बताए । ‘हामीसँग धेरै चुुचुरा छन् । ती चुचुरालाई संरक्षण गरी बढीभन्दा बढी प्रबद्र्धन गरेर पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने ।

पोखरा पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानले अन्नपूर्ण आरोहणकै कारण पोखरा र हिमाल आसपासको पर्यटन प्रबद्र्धन भएको जनाइन् । पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले पर्यटनलाई आयआर्जनसँग जोड्नुपर्नेमा विचार राखिन् ।

सन् २०२१ अप्रिलमा ६ नेपाली महिला आरोहीले अन्नपूर्ण हिमाल आरोहण गर्दै नयाँ कीर्तिमान बनाएका थिए ।

२०७८ वैशाखमा गोरखाकी पूर्णिमा श्रेष्ठले पनि अन्नपूर्ण चढिन् ।

गएको बैशाख २ गते कतारी राजकुमारी शेखा अस्मा अलथानीले अन्नपूर्ण प्रथमको आरोहण गरेकी छन् । सन् १९७८ मा १ अमेरिकी र १ चेकोस्लोभाकियाकी महिलाले अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

देवी र जेठो हिमालको उपमा पाएको अन्नपूर्ण प्रथमको चुचुरोमा पाइला राख्न लालयितहरु बढ्दै छन् । तर, राज्यले पनि यो हिमालको महत्वलाई विश्व बजारमा पुर्‍याउन सकेको छैन ।

तपाईको प्रतिक्रिया