स्वास्थ्य

विकटको स्वास्थ्य क्षेत्रलाई पछ्याई रहने मुस्ताङकी अंग्रज स्वास्थ्यकर्मी गोमा

४ दशक लामो स्वास्थ्य सेवाबाट बिदा भएको ५ वर्ष बितेपनि उनी अझै मुस्ताङ अस्पतालसंग टाढा भएकी छैनन्

समाधान संवाददाता २०८० जेठ २१ गते १२:४१
अंग्रज स्वास्थ्यकर्मी गोमा केसी थकाली

जोमसोम—मुस्ताङकी स्वास्थ्यकर्मी आमा गोमा केसी थकाली मुस्ताङका लागि अपरिचित नाम पक्कै होईन । उनलाई तल्लो मुस्ताङ देखि उपल्लो मुस्ताङ सम्मका सबैले राम्ररी चिन्दछन् ।


गोमा मुस्ताङ जिल्ला र स्वास्थ्यकर्मीहरुका लागि उदाहरणीय पात्र हुन् । उनले जिवनको उत्तरार्ध ६५ वर्ष पुग्दा समेत स्वास्थ्य क्षेत्रबाट अलग हुन सकेकी छैनन् । उनलाई धेरैजसोले ‘द ग्रेड गोमा मेडम’ भनेर सम्वोधन गर्छन । मुस्ताङको जोमसोम अस्पतालमा ३९ वर्षसम्म स्वास्थ्यकर्मी भएर बिरामीको उपचारमा निरन्तर सेवा गरेर बिताईन् । ०३३ सालदेखि अनवरत रुपमा ४ दशकसम्म जोमसोम अस्पतालमा स्वास्थ्यकर्र्मी भएर गोमाले पू¥याएको योगदान र सेवा मुस्ताङबासीमा अझै ताजै छ ।

पुतली बजार नगरपालिका स्याङ्जा उनको अहिलेको माईती घर हो , कर्म घर मुस्ताङ । वाल्यकालदेखि भारतको आसाममा जागिरे पिता र मातासंग बस्दै आईरहेकी गोमा भारतको आसामको डिगब्वाई स्थित हिन्दी हाईस्कुलमा कक्षा ८ सम्म पढिन् । उनका पिता भारतको लक्ष्मण केसी भारतको आसाम बयल कम्पनीमा कार्यरत थिए । यसैले उनी वाल्यकालदेखिनै आसाममा बस्दै आईरहेकी थिईन । त्यसपछि भने गोमा पिता र माताको न्यानो छत्रछाँया पन्छ्याउँदै स्याङ्जा फर्किईन् । उनले स्याङजा मातृभुमी स्कुलमा कक्षा ९ र १० पढिन् । त्यसपछि उनले तानसेन मिसन अस्पतालमा नर्स तालिम पुरा गरी पोखरामा काम गरिन् ।

Advertisement


सानै छँदाको एउटै उद्देश्य थियो नसिंङ शिक्षा पढेर देश र जनताका लागि स्वास्थ्य सेवामा लागेर योगदान गर्ने हुटहुटी ।उनी पोखरा हुँदै मुस्ताङ अस्पतालमा खटिईन् । सोही क्रममा उनले लोक सेवा परीक्षा पास गरी स्थायी स्वास्थ्यकर्मी भएर काम गर्ने अवसर पाईन् । झन्डै ३० को दशक ,त्यतिबेला मुस्ताङ ।तिब्बतीय खम्बा बिस्थापित भएको ३ वर्षपछिको मुस्ताङ ।भौगोलिक विकटतासंगै नत यहाँ कुनै संम्भावनानै थियो । यहाँका मानिसहरु पनि वैकल्पिक रोजगारका लागि बेसी झथ्र्ये त्यतिबेला । न त अहिलेको जस्तो सडक थियो,न त बिजुली, नत ईन्टरनेटकै सुविधा,पुरै अन्धकारमै रुल्मुलिएको मुस्ताङ । मुस्ताङबाट हिडेर हप्तौमा पोखरा पुगिन्थ्यो ।लाग्थ्यो त्यतिबेला मुस्ताङको जनजिवन निकै कष्ठकर र पीडाँदायी थियो । त्यसबेला अहिलेको जस्तो पर्याप्त स्कुल नै थियो, नत स्वास्थ्य सेवानै भरपर्दो थियो ।


मुस्ताङ अस्पताल जोमसोममा स्थापना भएको २/३ वर्ष मात्र भएको थियो । गोमा केसी त्यतिबेला भर्खर १७ वर्षकी किशोरी थिईन् । नर्सिङ पढेकी उनी पहिलो सेवा अनमी बनेर मुस्ताङ अस्पताल भर्ना भईन् । गोमा मुस्ताङ अस्पतालमा आएको एकवर्षपछि गोमाको सामिप्यता त्यतिबेलाका नेपाल वायु सेवा निगमको जोमसोम कार्यालयका प्रमुख महेन्द्र थकालीसंग भयो । सोही क्रममा गोमा निगमका जोमसोम प्रमुख थकालीुसंग अन्तरजातीय वैवाहिक सम्वन्धमा बाधिईन् ।त्यसपछि स्वास्थ्य सेवाको माध्यमबाट गोमाको मुस्ताङ कनेक्सन भयो ।

Advertisement

गोमा भन्छिन्, ‘केही वर्ष मुस्ताङमा सेवा गर्ने बिचारले आएकी थिए ,तर भाग्यले यतै थमाईदियो ।’ परिवारको साथ सहयोग र हौसलाले लामो समयसम्म मुस्ताङ अस्पतालमै बसेर सेवा गर्ने अवसर पाएको बताउछिन् । सुरुवाती चरणमा धेरै चुनौतीहरुको सामाना गर्नु परेको स्मरण गर्दै उनले भनीन अन्धविश्वास र कुरितीका कारण त्यतिबेला स्वास्थ्य सेवामा काम गर्न निकै अप्ठ्यारो परेको उल्लेख गरिन् ।


२०५८ सालदेखि अनमी पाचौं,छैटो, हुँदै सिनियर अफिसरमा बढुवा भएकी गोमा जोमसोम अस्पताललाई नै परिवार झै माया दिएर कार्य गरेको बताउँछिन् । निडर स्वभाव,अली छुच्ची स्वभाव तर व्यवहार भने निश्कपट उनको स्वभावले उनलाई थप जिम्मेवार र व्यवहारिक बनाउँदै लगेको उनी बताउछिन् । सेवाको क्रममा उनी कमिनिकेवल र नन् कमिनिकेवल डिजिट तालिमको क्रममा थाईल्याण्डको भ्रमण गरेकी थिईन् ।


विशेषत : प्रसुती सेवामा समर्पित गोमालाई मुस्ताङीले भगवानका रुपमा मान्दछन् । जस्तोसुकै आपत् विपत्का बेला पनि आफ्नो कार्य व्यवस्तालाई पन्छ्याएर बिरामीको सेवामा लाग्ने गरेकी गोमा अस्पतालमा राती अबेरसम्म बिरामी सेवामा जुट्थिन । अस्पतालमा रहँदा उनले ५ केजी सम्मको बच्चा बाहिर निकालेर आमालाई जिवन दिएको बताउँछिन् ।
उनले भनीन् केही वर्ष अघिसम्म अस्पतालमा आवश्यक श्रोत साधन नहुँदा बिरामीले यथेस्ट सुविधा पाउँन नसकेको सुनाईन् । उनले पछिल्लो समय मुस्ताङ अस्पतालमा श्रोत साधन र जनशक्तिको व्यवस्थापन हुन थालेको बताईन् ।

गोमा आफ्नो ४ दशक लामो स्वास्थ्य सेवाबाट बिदा भएको ५ वर्ष बितेपनि उनी अझै मुस्ताङ अस्पतालसंग टाढा भएकी छैनन् । उनी अस्पताल व्यवस्थापन समितिको सदस्य छिन् भने उनको आफ्नै क्लिनिक संञ्चालनमा छ ।


गोमा स्वास्थ्य सेवामा समर्पित भई कार्यसम्पादन गरेको र स्वास्थ्यकर्मीको हकहित र अधिकारका लागि योगदान दिए वापत विभिन्न निकायबाट पदक,पुरस्कार र सम्मानीत भईसकेकी छिन् ।उनले गोरखा दक्षिण बाहु,डा. तरुण पौडेल चिकित्सा कोषबाट सम्मान,नेपाल वयल फियर र निजामती सेवाबाट समेत सम्मानीत भईसकेकी छिन् ।


मुस्ताङकी आमा गोमाले यही वर्ष दुई वटा सम्मान पाईसकेकी छिन् । उनले नेपाल स्वास्थ्यकर्मी युनियनको चौथो राष्ट्रिय अधिवेशनमा ‘दीर्घ सेवा सम्मान र नेपाल स्वास्थ्यकर्मी युनियन गण्डकी प्रदेशको पहिलो अधिवेशन तथा चौथो मुस्ताङ जिल्ला अधिवेशनबाट ‘दीर्घ सेवा’सम्मान पाएकी छिन् । स्वास्थ्यकर्मी गोमा भन्छिन् आफु पेशाबाट अवकाश भईसकेपनि स्वास्थ्य क्षेत्रबाट कहिल्यै अलग हुन नसक्ने उल्लेख गरिन् ।

तपाईको प्रतिक्रिया