१४२ पुगे जनजाति

समाधान संवाददाता २०८० जेठ २१ गते १३:१८

पोखरा ।

Advertisement

जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको दुई महिना १० दिनपछि राष्ट्रिय तथ्यांक कार्यालयले जातजाति, भाषा र धर्मको नतिजा सार्वजनिक गरेको छ ।

जातजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट दर्ता गराइएका ७० वटा माग र ध्यानाकर्षणको विषय सम्बोधन गरेर तथ्यांक सार्वजनिक गरिएको हो । जनगणना २०७८ मा प्रमुख धर्म, भाषा र जातजातिको जनसंख्या अनुपातमा फेरबदल देखिएको छ ।

नेपालमा जातजातिको संख्या १ सय ४२ पुगेको छ । एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो ।

जनगणना २०६८ मा १२५ जातजाति थिए ।

Advertisement

जनसंख्याको आधारमा क्षेत्री र बाहुनको अनुपात घटेको छ। २०६८ को जनगणनाअनुसार १०० बराबर क्षेत्रीको १६.६ प्रतिशत र ब्राह्मणको १२.२ प्रतिशत जनसंख्या रहेको थियो । अहिले घटेर १६.४५ प्रतिशत र ११.२९ प्रतिशत पुगेको छ ।

२०६८ को जनगणना अनुसार धर्मका आधारमा सबैभन्दा धेरै हिन्दुको जनसंख्या ८१.३ प्रतिशत रहेकोमा २०७८ मा ८१.१९ मा झरेको छ । जातजातिको आधारमा २०६८ मा सबैभन्दा धेरै क्षेत्री जनसंख्या १६.६ प्रतिशत रहेकोमा अहिले क्षेत्रीको जनसंख्या १६.४५ प्रतिशत छ ।

मातृ भाषाका आधारमा २०६८ को जनगणनामा नेपाली भाषा बोल्नेको संख्या ४४.६३ प्रतिशत भएकोमा अहिले बढेर ४४.८६ प्रतिशत भएको छ । नेपालीपछि धेरै बोलिने मातृभाषा मैथिली भने २०६८ मा ११.६ प्रतिशत रहेकोमा अहिले घटेर ११ प्रतिशत रहेको छ ।

जनसंख्याको आकारको हिसाबले भने प्रमुख भाषा, धर्म तथा जातिको जनसंख्या घटेको छैन । धर्मका आधारमा हिन्दु धर्मावलम्बीको जनसंख्यामा ठूलो अन्तर देखिएको छैन । २०६८ सालमा हिन्दु, बौद्ध, इस्लाम, किरात र क्रिश्चियन धर्म मान्नेको अनुपात क्रमशः ८१.३, ९, ४.४, ३ र १.१४ प्रतिशत थियो ।

२०७८ को जनगणना अनुसार यो अनुपात ८१.१९, ८.२१, ५.०९ र १.७६ प्रतिशत देखिन्छ । अनुपातका दृष्टिकोणले बौद्ध र हिन्दु धर्म मान्ने घटेको र इस्लाम, किरात र क्रिश्चियन बढेको देखिन्छ ।

तपाईको प्रतिक्रिया