कास्की टि २० विजेता

समाधान संवाददाता २०८० जेठ २१ गते १३:१९

पोखरा ।
गण्डकी प्रदेशस्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको फाइनलमा कास्कीले नवलपुरलाई १८ रनले पराजित गरेको हो ।

उपाधिसँगै कास्कीले ट्रफीका साथ नगद १ लाख हात पारेको छ भने उपविजेता नवलपुरले ५० हजार प्राप्त गरेको छ । नवलपुरले टस जितेर ब्याटिङको निम्तो दिएको कास्कीले आफ्नो होम ग्राउन्डमा पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले । सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाए ।

नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १ विकेट लिएका थिए ।

Advertisement

यता, १ सय ४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १ सय २४ रनमा समेटिन पुग्यो । नवलपुरलाई ब्याकफुटमा धकेल्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ रह्यो । उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काएपछि नवलपुरले सम्हालिने मौका नै पाएन ।

सिव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे । यता, अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पेविलिएनको बाटो देखाए । नितेष गिरीले नवलपुरका लागि सर्वाधिक ३३ रन जोडेका थिए । गोविन्द विकलाई मुस्कान थापाले क्याच आउट गरे ।

Advertisement

गत जेठ १४ गतेबाट सुरू भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडलले पाए । उनले ट्रफीसहित नगद ४ हजार हात पारे । उनी नै बेस्ट बलरसमेत घोषित भए । बेस्ट ब्याट्म्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । उनीहरुले जनही नगद २ हजार हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा भएका छन् । उनले नगद १ हजार पाए ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषिराम गौतम र कास्की क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङ्जा, बागलुङ र म्याग्दी गरी ८ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया