बाल हितकारीलाई अन्तर्राष्ट्रिय सम्मान

पोखरा ।
पोखराको बालहितकारी परियोजनाले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । अपांगता भएका बालबालिकाको स्वास्थ्य सुधार, शारीरिक विकास तथा पुनस्र्थापनाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत संस्था पुरस्कृत भएको हो ।
रिहाबिलिटेसन इन्टरनेसनलले १ सय वर्ष पूरा गरेको सन्दर्भमा चीनको राजधानी बेइजिङमा भएको समारोहमा १० हजार डलर, प्रमाणपत्र र पदकसहित सम्मान पाएको संस्थाका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए । गत जेठ ७ गते भएको समारोहमा संस्थाका कार्यकारी निर्देशक ठाकुर चापागाईलाई सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार सार्वजनिक गर्दै अध्यक्ष पहारीले विगत ६ वर्षदेखि अटिजम, मस्तिस्कघात, बौद्धिक अपांगता भएका बालबालिकाको स्वास्थ्य सुधार तथा शारीरिक विकासका लागि आवश्यक पर्ने खेलौना तथा सहयोगी सामग्री वितरण गरेको बताए । उनले लक्षित वर्गका बाल बालिकालाई घरमै पुगेर सेवा, पुनस्र्थापनासम्बन्धी सेवामा सहयोग र अभिभावकलाई समूहगत रुपमा परामर्श दिएको जनाए ।
अपांगता भएका बाल बालिकाको शिक्षामा पहुँच, अपांगमैत्री भौतिक पूर्वाधार निर्माण र आय आर्जनमा सहयोग पुर्याएको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका बालबालिका तथा उनीहरुको स्याहारकर्तालाई समेत पुनस्र्थापना तथा स्वास्थ्य सुधारका कार्यक्रम गरिएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया