बसपार्क बनाउँछौं, सेती जोगाउँछौंः वडाध्यक्ष मर्सानी

समाधान संवाददाता २०८० जेठ २१ गते १५:०३

पोखरा ।
पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । नागरिकले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क बनाउने, सेती नदीलाई राम ताल नभई स्वर्गद्वार बनाउने प्रतिवद्धता गरे ।

Advertisement

उनले ९ नं. वडालाई सबल र सक्षम बनाउने अभियानमा आफू दिनरात लागेको बताए । निर्वाचित जनप्रतिनिधिको पहिलो वर्षको कार्यकाल पूरा भएको छेको पारेर वडाबाट सम्पादित एक वर्षभित्रका सफल र सार्थक कामहरूको जानकारीका लागि सुनुवाई आयोजना गरिएको हो ।

अध्यक्ष मर्सानीले एक वर्षभित्र फत्ते गरेका विकास, निर्माणका काम, चालु काम र भावी दिनमा गर्ने कामको फेहरिस्त प्रस्तुत गरे । मर्सानीले आफ्नो कामको रफ्तारलाई मिसन १, २, ३ को खाकामा राखेका थिए । थोरै कुरा गरेर धेरै काम गर्ने आफ्नो लक्ष्यलाई वडावासीमाझ राख्दै कार्यालय समयपछि पनि नागरिकको घरदैलो आफ्नो कार्य क्षेत्र भएको बताए ।

२०७९ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनपश्चात् जेठ १२ गते सफथग्रहणपछि अध्यक्ष मर्सानीले ९ बुँदे प्रतिवद्धता गरेका थिए । आफ्ना सबै वाचा पूरा गर्दै मिसन ३ मा लागेको जानकारी उनले दिए । वडा कार्यालयबाट सम्पन्न गरिएका कार्यक्रम र गतिविधिबारे वडा अध्यक्ष दीपेन्द्र मर्सानी र सचिव कुलराज पौडेलले प्रस्तुतीकरण गरेका थिए ।

महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क तथा स्मार्ट शौचालय, पृथ्वीचोकमा बसपार्क, पोखरा घर निर्माण र नयाँबजारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि बोलपत्र र साझेदारी प्रक्रियामार्फत् सञ्चालित योजना हुन् । क्षेत्रीय हुलाक कार्यालय र नेपाल टेलिकमले अतिक्रमण गरेको जमिन पर्खाल सारेर असारसम्म सार्वजनिक प्रयोगमा ल्याउने जनाइएको छ ।

Advertisement

६९ आयोजना सञ्चालित वडामा ६ करोड १६ लाख ९६ हजार बजेट प्राप्त भएको छ भने २ करोड ४७ साल ८६ हजार राजस्व संकलन गरिसकेको छ । पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्र रहेको यो वडा व्यापारिक केन्द्र पनि हो ।

कार्यक्रममा विष्णुभक्त सुवेदी, कमलचन्द्र काफ्ले, मिलन दलला, ध्रुवकुमार श्रेष्ठ, चन्द्रविक्रम अधिकारी, रूपा केसी, रामबहादुर बुर्लाकोटी, बिमला रानाभाट, रोशन मानन्धर, रामबहादुर विक, सरस्वती श्रेष्ठ, यदुनाथ बञ्जरा, दिलमाया गुरुङ, गंगाराम पौडेल, भीमबहादुर पुन र जगदीश खनालले वडाका पूर्वाधार विकास, सार्वजजनिक जमिन, स्वास्थ्य, शिक्षा, तालिम, रोजगार उद्यमशीलता लगाएका विषयमा धारणा, सुझाव गुनासा र प्रश्न राखेका थिए ।

नेपाली कांग्रेसका वडा सभापति शिवराज बास्तोला, नेकपा एमालेका प्रेम गुरुङ, नेकपा माओवादी केन्द्रका बमबहादुर कार्कीले ९ नं. वडाले तय गरेको योजना र कार्यान्वयनबारे बोलेका थिए । कार्यक्रमा वडा सदस्यहरु नन्दराम गिरी, भावना श्रेष्ठ, गीता चर्माकार र लक्ष्मी पहारी सञ्चारकर्मी सुरेश रानाभाट र वडा सचिव कुलराज पौडेलले बोलेका थिए ।

तपाईको प्रतिक्रिया