छोरीले सिकाएको पाठ

भुवन भण्डारी २०८० जेठ २१ गते १७:०१

केही दिनअघि बेलुका ९ बजेतिर ५ जना ग्राहक खाना र बस्न पाइन्छ भनेर सोध्न आए । मेरो मन दोधारे भयो । अरु बेला ग्राहकलाई भात पकाएर खान दिने मेरी श्रीमती, छोरी भेट्न काठमाडौं गएकी थिइन् । अरु २ छोराछोरी माथिल्लो तलामा पढ्न, लेख्न लागेका थिए । कोरोना पछिको आर्थिक मन्दीले गर्दा यति बेला होटलमा काम गर्ने स्टाफ पनि राखेका छैनौं हामीले । अचेल दिनभर होटलमा व्यवसाय पनि उतिसारो छैन ।

Advertisement

राति आएका पाहुनालाई अन्तै पठाउन पनि मलाइ मन लागेन । कोठा र खानाको व्यवस्था छ भनिदिएँ । कोठा देखाएँ । खानाको मूल्य सुनाएँ । उनीहरुले खाना खाएर बस्ने निधो गरे । कोठा देखाईसकेपछि खाना बनाउन म भान्छाकोठामा पसें । मैले होटल गरेको १० वर्ष भए पनि कहिल्यै यसरी ग्राहकलाइ भात पकाएर खुवाएको थिइनँ ।

सधै मेरी श्रीमतीले दाल, भात, तरकारी, अचार, चट्नी, माछा, मासुका परिकार चिटिक्क बनाएर चरेसको थालमा ग्राहकलाई खाना खान दिएको मात्र देखेको छु मैले । त्यो गर्न कति कुरा जुटाउनपर्ने रहेछ र कति कठिन हुने रहेछ ! मेरो मथिंगलमा श्रीमतीका दैनिक कामधन्दा आउन थाले ।

Advertisement

यत्तिकैमा बाहिरबाट आवाज आयो, ‘खाना तयार भएन ? कति ढिलो गरेको हो ? यस्तै हुन्छ भन्ने भएको
म झस्किएँ । मैले जे जानें, त्यही बनाएको थिएँ । एकछिन कचकच सुन्दै भएपनि जसोतसो खाना बनाएर भ्याएँ । उनीहरुलाई खाना खान बोलाएँ । सबैलाई खाना खान दिएँ । उनीहरु खाना खान बसे । गाँसैपिच्छे खानामा खोट लगाउँदै गए । उनीहरुलाई पनि औधी भोक लागेको हुँदो हो, ८ जनालाई पुग्ने खाना ५ जनाले नै भ्याइदिए र सुत्ने कोठातिर लागे ।

छोराको के दोष बिचारा, दिदीलाई नसघाउन उसलाई मैले नै त सिकाएको रहेछु !

Advertisement

मचाहिँ अलिअलि रहेको सामान फ्रिजमा राखेर भान्छाकोठा सफा गर्न थालें । भान्छाको सबै धन्दा भ्याएर सुत्न जाँदा रातको १ बजिसकेको थियो । म बिस्तारामा पल्टिएँ, अनि सोच्न लागें । यति धेरै गाह्रो हँुदो रहेछ र पो बुढी कच्कचाउँदी रै’छ । यस्तै सोच्दा सोच्दै कति बेला निदाएँ थाहा नै पाइनँ । बिहान आँखा खोल्दा घामको किरण आँखामा ठोक्कियो ।

मैले छोराको कोठातिर हेरें । छोरो निदाइरहेको थियो । कान्छी छोरीको कोठामा हेरें, छोरी गईसकिछन् । १० कक्षामा पढ्ने र एसइईको जाँच भएको हुनाले बिहान सबेरै उठेर पढ्न लागिहोला भन्ने सोचें । म सटर खोल्न तल झरें । ३ वटै सटर खुलै छन् । मेरो मन ढक्क फुल्यो । हैन मैले बेलुका सटर नै नलगाई सुतेछु क्या हो ?

रातभर सटर खुल्लै भएपछि दोकानका सामान के बाँकी रहे होलान र ? म अत्तिए । त्यत्तिकैमा भान्छातिरबाट कान्छी छोरी आएर हातमा स्याउका चाना राखेको प्लेट र मन तातो पानि भरेको ग्लास लिएर आइपुगी । उसले सोधी, ‘बाबा, खाना खाने कति जना छन् नि आज हाम्रोमा ?’ छोरीको प्रश्नले म झस्किएँ । हँ, मैले अचानक प्रतिक्रिया जनाएँ ।

‘९/१० जना होलान्,’ अनि मैले भने, ‘अनि मैले हिजो बेलुका सटर नै बन्द नगरी सुतेछु क्या हो ? हेर त, कति सामान हरायो पो होला ।’

छोरीले बिहानै उठेर आफूले सटर खोलेको सुनाइन् । छोरीका कुरा सुनेर गर्वले मेरो छाती चौडा भयो । यसै नै कोभिडपछि व्यापार, व्यवसायमा आएको मन्दीका कारण म प्रेसर हाइ र मुटुरोगको औषधी नै सेवन गर्नुपर्ने अवस्थाको मान्छे । कुनै कुराप्रति असाध्यै गर्व महसुस हुँदा पनि छाति एक पटक दुख्नेरैछ भन्ने मैले पहिलो पटक महसुस गरें । मलाइ मेरी छोरीप्रति असाध्यै गर्व लाग्यो ।

१४ वर्षकी छोरी, कति जिम्मेवार ! म सोचमग्न भएँ । आज आमा छैन भनेर उसले कर्तव्य निर्वाह गरेकी होली ।

भात भान्छामा उनले आमाको भूमिका निर्वाह गरिन् । उमेर सानो भए पनि कति परिपक्व सोचाइ ।

छोरामात्र पाएर आफूलाई भाग्यमानी सम्झने र छोरी जन्मदा अभागी सम्झनेको बाहुल्य छ समाजमा ।

फलानाकी श्रीमती, फलानेकी छोरी, बुहारीले छोरी पाई भन्ने खबर सुन्दा नाक खुम्च्याउने यो समाजमा मेरी छोरी छोरोभन्दा पक्कै अब्बल छे र हुन्छे पनि । छोरीतिर हेरें, उ हास्दै काम गर्दै थिई ।

‘बाबा मैले तरकारी काटिसकें नि । दाल बसालेकी छु,’ छोरी भान्छाबाट बोलिन् । त्यतिकैमा उसको मुखबाट आफसेआफ वाक्यहरु फुत्किए, ‘तिमी पढ्न जाऊ, यो वर्ष तिम्रे एसइई हो । मेरो अरु खासै काम छैन अहिले, भातभान्छा म गर्छु ।’ तर उनी मानिनन् । ‘बाबा म सबैलाई खाना खुवाएर पढ्न बसौला । आज बुद्ध पूर्णिमा, स्कुल पनि छुटटी हो, हजुरले कत्ति पीर नगर्नू,’ उनले प्रतिक्रिया थियो ।

छोरीको उत्तरले म नतमस्तक भएँ । दुइ छोरी लगातार जन्मिदा ताकाका पारिवारिक र सामाजिक परिवेस र भोगाइ मेरो सम्झनाको मझेरीमा एक्कासी तरंगीत भए । छोरा पाउन रुद्री, एकाहा लगायतका ठूला ठूला धार्मिक कार्य र पितृकार्य गर्न हाकाहकी सुझाइदिन्थे मानिसहरु उति बेला मलाई । । युवा अवस्थामा केही वर्ष राजनीति र सामाजिक काममा पनि हिडडुल गरेको थिएँ ।

त्यसैले छोरी छोरी जन्मेकोप्रति समाजका सुझाव र सहानुभूतिले मलाइ खासै फरक पारेको त थिएन । तर, म पनि त आखिर यही समाजकै उपज त हो । बाल्यकालदेखि नै आमा र दिदीहरुको लाडप्यारमा हुर्किएको । भात, भान्छाको काम छोराले गर्ने होइन भन्ने सिकाइ र सामाजिक परिवेस रह्यो । कहिलेकाँही विद्यालय वा कलेज पढेर जाँदा, कहिले कसो घरमा आमा, दिदीहरु घाँस काट्न गएको बेला पथ्र्यो । त्यस्तोमा खाना पस्किएर खान दिने मान्छे नभएर भोक भोकै बसेका क्षण मेरो मानसपटलमा ताजै छन् ।

छोरीले भान्छा छोड्न केही गरे नमानेपछि म छोरीसँगै भान्छमा गएँ । त्यत्तिकैमा साढे ९ बज तिर आँखा मिच्दै छोरो भान्छामा छि¥यो । घरको दिदीलाई भन्यो, – खोई खाना तयार छैन अझैसम्म ? मलाइ ट्युसन पढ्न जान ढिला भयो ।’ दिदीले नबोली नबोली, पाकेको कुरा पस्केर दिइहालिन् । म हेरिरहेँ, छोराको चालचलन मेरो आफ्नै बाल्यकालको ऐना बनिरहेको थियो । र सोचें, बाबुको के दोष बिचारा, दिदीलाई नसघाउन उसलाई मैले नै त सिकाएको रहेछु !

एउटै प्रक्रियाबाट जन्मिएका छोरा अनि छोरीको विचार, स्वाभाव, बुझाइ र दृष्टिकोण, विभेद, समाजले हेर्ने दृष्टिकोण कति फरक छ, म अचम्मित भएँ । घरका छोरी मानिसप्रति कति धेरै आश हो यो समाजको । तर के, छोरी जातिप्रतिका ती आशा, भरोसाको मूल्य साँच्च नै तिरेको छ त यो समाजले ? करिब दुई दशक व्यापारिक क्षेत्रमा बिताएको मेरो मगज अचानक यी यावत असामानतामूलक, विभेदजनक सामाजिक परिवेशका सवालजवाफ र हिसावकिताबमा ठोक्कियो । सबै परिवारले छोराछोरी समान हुन् भन्ने सिकाए अन्यायबाट सिर्जित पारिवारिक र सामाजिक द्वन्द्व स्वतः समाप्त हुन्छन् । विकासात्मका गतिविधि निर्वाध रुपले अघि बढ्छन् ।

तपाईको प्रतिक्रिया