मेरो जीवनमा पत्रकारिता

रवीन्द्र माकाजु २०८० जेठ २१ गते १७:१३

०३३ सालमा एसएलसी दिएपछि फुर्सदको समय टोलतिर घुम्दै जाँदा तेर्सापट्टीमा रहेको सूचना केन्द्र पुगियो ।

जहाँ देशभरबाट प्रकाशित भएका पत्रपत्रिका देख्न पाएँ । पूर्व झापाबाट प्रकाशित साप्ताहिक विवेचनादेखि पश्चिम धनगढी, महेन्द्रनगर र बागलुङबाट धौलाश्री साप्ताहिकसमेत पत्रपत्रिका देख्दा ममा अपार खुसीको अनुभूति हुन गयो । म त्यस बेला मनमनै यो कल्पना गर्थे– पोखराबाट पनि यस्तै पत्रपत्रिका निस्कन्छ कि निस्कन्न होला ?

त्यसताका नयाँ सन्देश साप्ताहिक पत्रिका बजारमा देख्न पाइन्थ्यो, सबैले किन्थे । त्यहाँ तपाईंको प्रश्न, हाम्रो उत्तर (प्रश्नोत्तर) नपच्ने भो, छोटा कविता, पत्रमित्रता आदि स्तम्भ हुन्थे । जो प्रायः सबैलाई मन पर्दथ्यो ।

Advertisement

०३४ सालमा पृथ्वीनारायण क्याम्पस भर्ना भइयो । त्यहाँ वद्रिविनोद प्रतीक सरसँग भेट भयो ।

कुनै पार्टीको सदस्यता लिइनँ, कसैको पनि भइनँ । एक्लै निरीह भई हिडिरहेछु । अब म कहाँ पुग्छु, आफैंलाई थाहा छैन

Advertisement

जो त्यस बेला आव्हान साप्ताहिकमा सहसम्पादक हुनुहुन्थ्यो । म उहाँलाई कविता लेखेर दिन्थे । प्रायः म उहाँसँगै भीमसेन टोलमा रहेको राष्ट्रिय छापाखानामा पुग्ने गर्दथेँ । साथीहरुको लहै लहैमा लागेर ०४२/४३ सालसम्म काठमाडौंबाट प्रकाशित हुने केही साप्ताहिकमा म संवाददाता पनि बनेँ । पत्रिकामा काम गर्दा कुनै कमाई नहुने तर खर्चमात्र हुने हुँदा यतातिर रुचि मर्दै गयो ।

०५१/५२ सालतिर हुनुपर्छ, कृष्णप्रसाद बास्तोला, शिरोमणि बरालहरु मिलेर आदर्श समाज पाक्षिक पत्रिका चलाउँथे । महेन्द्रपुल, चिप्लेढुंगातिर अफिस पनि राखेका थिए । एक दिन बास्तोलाजीले भने–जन्माष्टमीको अवसरमा एउटा विशेषांक निकालम । त्यो अंकको खर्च तपाईंले व्यहोरिदिनुस् । मलाई यो प्रस्ताव मन पर्‍यो ।

केही विज्ञापन बटुलेर आदर्श समाज जन्माष्टमी विशेषांक निकालियो । राम्रै भयो । खर्च जुट्यो ।

एक दिन ०५३ सालतिरको कुरा हो । मैले बास्तोलाजीलाई भनें–यो पत्रिकालाई पाक्षिक बनाएर हुँदैन, दैनिक बनाउन सके राम्ररी चल्छ । केही साथीलाई समावेश गरौं । एक जना पे्रसवाला साथी खोजौं । सम्पादन पक्ष तपाईंले हेर्नुस् । अनि अन्य व्यवस्थापन म हेर्छु । यसो भयो भने पत्रिकाले गति लिन्छ ।

मैले त्यस बेला चर्चित पे्रस मुनाल पे्रसका सञ्चालकलाई पत्रिकाको योजना बताएँ । उनले मञ्जुर गरेपछि महेन्द्रपुलको मेरो घरमा पत्रिकाको अफिस राखँे । मैले तलब पनि लिइनँ । घरभाडा पनि लिने कुरा भएन ।

पत्रिका चलाउँदै गयौँ । पत्रिका दिउँसोमात्र निस्कन्थ्यो । वितरक भने जस्तै पाइएन । आम जनतामा के धारणा थियो भने पोखरामा पत्रिका चल्दैन । कही कतै पत्रिका पुगेन भने फोनबाट प्रश्न आउँथ्यो– तपाईंको पत्रिका बन्द भयो ?

यस्तो असह्य अवस्था हामीले निकै झेल्यौं । हामीले विश्वास दिलायौं–पत्रिका कुनै हालतमा पनि बन्द गर्न दिदैनौं । तपाईंहरूले ग्राहक बनेर सहयोग गर्नुस् । हाम्रो लगनशीलता र मेहनत देखेर पोखरेलीले सहयोग गरे ।

पछि समाचारका विषयलाई लिएर सञ्चालकबीच मतभेद भयो । मलाई के लाग्यो भने पत्रिका एकलौटी हुनुपर्छ । कल्याण र मैले कृष्णप्रसादजीलाई तपाईंले नै पत्रिका चलाउनुस् भन्यौं ।

फेरि अर्काे समूह मिलेर ०५६ साल माघ १ गतेबाट पोखरापत्र निकाल्यौं । ०५७/५८ सालतिर पोखरामा दैनिक पत्रिकाको बाढी नै आयो । पछि माओवादी द्वन्द्वका कारण पत्रिकालाई अप्ठेरो अवस्था सृजना पनि भयो । मर्ज गर्नुपर्ने या बन्द गर्नुपर्ने अवस्थासम्म आइपुग्यो ।

पत्रिका रहरका लागि नभई मिसनका लागि हुनुपर्छ भन्ने मेरो मान्यता थियो । वास्तवमा पत्रिका भनेको कमजोर र निमुखाको आवाज बन्नुपर्दछ भन्ने आमधारणा पनि छ । पत्रिकामा व्यवसायीकरण पनि हुनुपर्छ ।

कसैको मुखपत्र बन्न हुँदैन भन्ने सोचाइ र विचार भएको कारणले नै होला, म संलग्न भएका पत्रिका आदर्श समाज दैनिक र पोखरापत्र दैनिक नियमित रूपमा अहिलेसम्म चल्दै आएका छन् । यो लामो यात्राले पनि मलाई खुसी नै तुल्याएको छ । पत्रिका सञ्चालन गर्न मैले जे जस्तो भूमिका पनि निर्वाह गरें । समाचार लेख्थेँ, सम्पादकीय लेखें, अन्तर्वार्ता लिए, स्तम्भ चलाएँ । बजारमा ग्राहक बनाएँ । पत्रिका वितरण प्रक्रिया मिलाए ।

दैनिक पत्रिका व्यवसायिक रूपमा चलाएर पत्रिका चल्छ भनेर एउटा उदाहरण देखाएँ । तर कही कतैबाट कुनै पार्टीको सदस्यता लिइनँ र कसैको पनि भइनँ । न चौतारीको भएँ, न युनियनको ! लाग्छ म एक्लै निरीह भई हिडिरहेछु । अब म कहाँ पुग्छु, आफैंलाई थाहा छैन ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया