पोखरा–मुग्लिन सडक कालोपत्रे गरिदै

राष्ट्रिय समाचार समिति (रासस) २०८० जेठ २२ गते ११:०३

डुम्रे ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो ।

Advertisement


तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । २ लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा २ लेन कालोपत्र गर्न सुरु गरिएको छ ।

‘पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्र सुरु गरेका हौँ, कालोपत्र गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटो अनुसारको कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्र गर्नेर्छाैं ’, प्रमुख सुवेदीले भने । यातायात आवागमनलाई सहज बनाउन पहिलो चरणमा दुई लेन कालोपत्र गर्न लागिएको हो ।


यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको छ ।


पूर्वी खण्डको निर्माणका लागि विसं २०७७ माघ १७ मा सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

Advertisement

करिब ४१ दशमलव ४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।


पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ मा सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ ।


पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी समान २५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

सडकको डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडक विस्तारका क्रममा धुलो हुँदा स्थानीयले समयसमयमा पानी हाली सहज बनाउनसमेत माग गर्दै आएका छन् । सडक विस्तारबाट हुने प्रदूषणको व्यवस्थापन गर्न वा निराकरणकै लागि पनि पानी हाली सहजता कायम गर्न उनीहरुले माग गरेका हुन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया